खुमलटारले आर्मीलाई हरायो

नेपालखोज २०८० वैशाख २ गते २१:५६

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एफसी खुमलटारले त्रिभुवन आर्मी क्लबलाई हराएको छ  । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा खुमलटारले आर्मीलाई ३-२  गोल अन्तरले हराएको हो ।

खुमलटारको जितमा मेसुके ओलुमोउले दुई गोल गरे । कप्तान रेजिन सुब्बाले एक गोल थपे । आर्मीका नवयुग श्रेष्ठ र सुशान्त चौधरीले एक एक गोल फर्काए ।

खेलको सातौं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए । तर, १८ औं मिनेटमा नवयुगले पेनाल्टीबाट गोल गर्दै आर्मीलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको २७ औं मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई २-१ को अग्रता दिलाए । खेलको ५२ औं मिनेटमा रेजिनले गोल गर्दै खुमलटारलाई ३-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ९० औं मिनेटमा आर्मीका सुशान्तले गोल गरेपनि खुमलटार ३-२ ले विजयी भयो । खुमलटारको यो तेस्रो जित हो । जितसँगै खुमलटारले ९ खेलमा १० अंक जोडेको छ ।

खुमलटार दशौं स्थानमा रहेको छ । आर्मीको यो तेस्रो हार हो । आर्मीले ९ खेलमा १२ अंक जोडेको छ । आर्मी आठौं स्थानमा छ ।

प्रतिक्रिया