शनिबार, जेठ ५, २०८१

एच ३ एन ८ बर्ड फ्लू

नेपालखोज २०८० वैशाख ३ गते ७:३८

काठमाडाैं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चीनको ग्वाङडोङ प्रान्तकी एक ५६ वर्षीया महिलाको मृत्यु भएको जानकारी दिएको छ, जसलाई ३ मार्च २०२३ गम्भिर अवस्थामा अस्पतालमा भर्ना गरिएको थियो । उनलाई निमोनिया थियो भने १६ मार्च २०२३ मा ति महिलाको मृत्यु भयो ।

एच ३ एन ८ बर्ड फ्लू बाट चीनमा भएको यो पहिलो मृत्यु ह‍ो । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले महिला अस्पतालमा भर्ना भएको २४ दिनपछि र उनको मृत्यु भएको ११ दिनपछि विश्व स्वास्थ्य संगठनलाई यो जानकारी उपलब्ध गराएको हो । नियम अनुसार मानिसमा दुर्लभ हुने यस्तो किसिमको फ्लूको संक्रमण भेटिए २४ घण्टाभित्र त्यसको जानकारी डब्लुएचओलाई दिनुपर्ने हुन्छ ।डब्लुएचओले भनेको छ, “यो संक्रमणको सही स्रोत के हो भन्ने अझै स्पष्ट छैन । साथै, यो भाइरस जनावरहरूमा पाइने अन्य एभियन इन्फ्लुएन्जा ए (एच ३ एन ८ ) भाइरससँग कसरी सम्बन्धित छ भन्ने पनि थाहा छैन ।

डब्ल्यूएचओका अनुसार ति महिलाको सम्पर्कमा आएका अन्य व्यक्तिमा वा यसअघि चीनमा संक्रमित भेटिएका अन्य दुई व्यक्तिमा पनि भाइरसको पुष्टि भएको छैन, जसले यो भाइरस मानिसमा सजिलै सर्दैन भन्ने सङ्केत गर्छ । यस्तो अवस्थामा यो संक्रमण राष्ट्रिय – अन्तर्राष्ट्रिय स्तरमा फैलने जोखिम कम हुन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) भन्छ – “यद्यपि, इन्फ्लुएन्जा भाइरसको प्रकृति सधैं विकसित भैरहेको छ । यही कारणले डब्ल्यूएचओले भाइरोलोजिकल, महामारी विज्ञानको अनुसन्धान जारी राखेको छ र यसको क्लिनिकल परिवर्तनहरू पत्ता लगाउन विश्वव्यापी निगरानी बढाएको छ।” एच ३ एन ८ बर्ड फ्लू का पछिल्ला दुई केस मध्ये एक बिरामी गम्भीर बिरामी थिए भने अर्कोमा हल्का लक्षणहरू थिए । ती दुवै बिरामी अहिले निको भैसकेको जानकारी प्राप्त भएको छ ।

एच ३ एन ८ बर्ड फ्लू बर्ड फ्लू सामान्यतया मानिसमा सर्दैन । मृत्यु भएकि महिला बिरामी हुनुअघि उनको घर वरपरका चराहरूमा पनि यो भाइरसको प्रमाण भेटिएको थियो । यससँग सम्बन्धित नमूनाहरू बिरामीको घर र बजारबाट सङ्कलन गरिएको डब्ल्यूएचओले जनाएको छ, जहाँ बिरामीले रोग सुरु हुनुअघि समय बिताएकी थिइन । परीक्षणको नतिजाले बजारबाट संकलन गरिएको नमूनामा इन्फ्लुएन्जा एच ३ एन ८ पोजेटिभ देखिएको हो ।

एभियन इन्फ्लुएन्जाको यो स्ट्रेन सामान्यतया विश्वभरका चराहरूमा पाइन्छ, भने केही स्तनधारी जनावरमा पनि यो स्ट्रेन रिपोर्ट गरिएको छ । केही छिटपुट दुर्लभ अवस्थामा मात्र यो भाइरस मानिसमा सरेको जानकारि छ, किनभने यो भाइरसले सजिलै मानिसमा सङ्क्रमण गर्दैन।

डब्ल्यूएचओका अनुसार एभियन इन्फ्लुएन्जा भाइरस मानिसमा फैलिएको धेरै जसो केस संक्रमित कुखुरा वा दूषित वातावरणको सम्पर्कसँग सम्बन्धित थिए। “एभियन इन्फ्लुएन्जा भाइरसका घटनाहरू अझै पनि कुखुरामा रिपोर्ट भइरहेकाले, भविष्यमा मानिसहरूमा छिटपुट घटनाहरू देखा पर्न सक्ने सम्भावना छ।”

एभियन इन्फ्लुएन्जाको अर्को स्ट्रेन एच ५ एन १( H5N1) बाट गत महिना कम्बोडियामा एक ११ वर्षीया बालिकाको मृत्यु भएको थियो। केही समय अघि देखि यो भाइरस धेरै स्तनपायी जीवहरूमा फेला परिरहेको छ जसमा भालु, फक्स र सिलहरू समावेश छन ।

अहिलेसम्म बटुलिएको जानकारि अनुसार एच ५ एन १ ( H5N1 ) भाइरस एच ३ एन ८ ( H3N8 ) जस्तै मानिसमा विरलै फैलिन्छ । १९९७ मा हङकङमा मानिसहरु मा यसको प्रकोप देखिएको थियो जसमा ८ सय भन्दा बढी घटना रिपोर्ट गरिएका थिए । ति मध्ये आधा घटना घातक किसिमका थिए ।

यसक‍ महामारी फैलने जोखिम एच ५ एन १ को तुलनामा धेरै छ, तर पछिल्ला २५ वर्षमा त्यस्तो ठुलो घटना देखिएको छैन । विशेष गरी यसका केसहरू बढेका छैनन् जुन राम्रो समाचार हो ।

विश्व स्वास्थ्य संगठनको कोलाबोरेटिङ सेन्टर फर द स्टडी अफ द इकोलोजी अफ इन्फ्लुएन्जा इन एनिमल्स एण्ड बर्ड्सका निर्देशक रिचर्ड वेबी भन्छन् – “यी भाइरसको जोखिम मापन गर्न निकै गाह्रो छ । हामीसँग यी भाइरसले मानव-अनुकूल बन्न थप के-कस्ता परिवर्तनहरू चाहिन्छ भन्ने केही जानकारि छ तर ति भाइरसले त्यस्तो परिवर्तनलाई कति सजिलैसँग अनुकूलन गर्न सक्छन् भन्ने कुरा स्पष्ट छैन ।”

प्रतिक्रिया