अब फैसला हुँदैछ नेपाली क्रिकेट टिमको भविष्य

काठमाडौं । आज मङ्गलवार देखि नेपालमा सञ्चालनमा आउने एसीसी प्रिमियर कपमा १० वटा मुलुक सहभागी हुँदै छन् । प्रिमियर कपको विजेता देशले यही वर्ष पाकिस्तानमा हुने एसिया कपमा सहभागिता जनाउन पाउनेछ । एसीसी प्रिमियर कपका खेल टियु र मुलपानी मैदानमा प्रत्येक दिन बिहान ९:३० मा सञ्चालनमा आउनेछन् ।
आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एक दिवसीय एसिया कपको समूह ए मा भारत, पाकिस्तान तथा प्रिमियर कपको विजेता रहनेछन् भने समूह बी मा बङ्गलादेश, अफगानिस्तान तथा श्रीलङ्का छन् । श्रीलङ्का ,भारत तथा पाकिस्तानसँग एसियाली कपमा भिड्न पाउनु जुनसुकै मुलुकका लागि ठुलो अवसर हो । उनीहरूका लागि अहिले लाई यो स्तरोन्नति हुँदै विश्वकपमा सहभागिता जनाए सरह हो । नेपालका लागि समेत यस्तो अवसर जुट्नु निश्चय पनि खुसी र गौरवको कुरा हो ।
प्रिमियर कपको समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया तथा साउदी अरेबिया छन् भने समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर तथा बहराइन छन् । नेपालले तीन खेल टियुमा खेल्दा एक खेल मुलपानीमा खेल्नेछ । नेपालले जित्दै गए सेमिफाइनलमा युएई र हङकङ मध्ये एकको सामना गर्नुपर्ने हुनसक्छ । नेपाल, हङकङ, युएई र ओमान यो एसीसी प्रिमियर कपको उपाधिको प्रमुख दाबेदार हुन् । सम्भवतः यी चार मध्ये एक देशले नै एसिया कपमा स्थान बनाउनेछ । यस मध्ये ओमान तथा नेपाल पहिलो पटक एसिया कप खेल्ने सोचमा छन् ।
नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा पछिल्ला १२ मध्ये ११ खेल जितेको थियो त्यसैले नेपालको मनोबल र सम्भावना उच्च छ । नेपाल आफ्ना नयाँ प्रशिक्षक मोन्टि देशाईको रणनीति अनुसार मैदानमा प्रवेश गर्नेछ । प्रशिक्षकका रूपमा देशाईको आगमन पछि नेपाली टिमको प्रदर्शनमा उल्लेखनीय सुधार आएको पाइन्छ । नेपाल टियु मैदानमा पछिल्ला ८ खेलमा पराजित भएको छैन जसमा स्कटल्यान्ड, नामिबिया, युएई जस्ता बलिया देशसँग दुई – दुई वटा खेल भएको थियो । त्यस क्रममा नेपालले नामिबियाले दिएको २ सय ८६ रनको विशाल लक्ष्य समेत पूरा गरेको थियो ।
घरेलु मैदान, उच्च मनोबल, दर्शकहरूको समर्थन , उत्कृष्ट ब्याटिङ लाइन अपका साथमा मोन्टिको उपस्थितिले नेपाललाई कमजोर मान्न सकिने अवस्था छैन । नेपाली दर्शक सामु कुनै पनि देसलाई खेल्न सहज हुनेछैन । नेपालले लिग-२ को अन्तिम सिरिज यता आफ्नो टिममा कुनै परिवर्तन गरेको छैन । नेपाल आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख तथा भीम सार्कीबाट लिग-२ को जस्तै प्रदर्शन चाहन्छ भने अनुभवी खेलाडी ज्ञानेन्द्र मल्लबाट पनि नेपालले ठुलो आशा राखेको छ ।
नेपालको बलिङ तीव्र गतिका बलर सोमपाल कामी, करण केसी, गुलशन झा तथा प्रतिश जिसीमा निर्भर रहनेछ भने सन्दीप लामिछाने र ललित नारायण राजवंशीको स्पिन बलिङले प्रतिद्वन्दीहरुलाइ सहज रूपमा खेल्न दिने छैन । यसै गरी कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी पनि नेपालको सबल पक्ष हुन् । नेपालले डेथ ओभर बलिङमा लगातार कमजोर प्रदर्शन गर्दै आएको छ त्यसैले नेपालले डेथ ओभरमा भने सुधार गर्नुपर्नेछ । यसै गरी नेपालले पावर प्लेमा विकेट लिन सङ्घर्ष गर्दै आएको छ । नेपालले यी दुई कमजोरी सुधार गर्नै पर्नेछ ।
नेपाली टिम – रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी तथा ललित राजवंशी ।
वैकल्पिक खेलाडी : अर्जुन साउद, सन्दीप जोरा, सूर्य तामाङ तथा किशोर महतो ।

प्रतिक्रिया