एसीसी प्रिमियर कपमा कस्ता छन् नेपालका प्रतिस्पर्धी

नेपालखोज २०८० वैशाख ५ गते ८:२३

काठमाडौं । आज मङ्गलवार सुरु हुने एसीसी प्रिमियर कपको प्रारम्भिक चरणमा नेपाल समूह ए मा रही ओमान, कतार, मलेसिया तथा साउदी अरेबिया सँग प्रतिस्पर्धा गर्दैछ भने त्यस पछिको चरणमा नेपालको प्रतिस्पर्धी समूह बी मा रहेका युएई, हङकङ, कुवेत, सिंगापुर तथा बहराइन मध्ये एक हुनेछन् । 

कस्तो छ विगत ?

२०२० मा नेपालले ओमानसँग लिग–२ खेल्दा दुवै खेलमा हार बेहोरेको थियो । ती खेल टियु क्रिकेट ग्राउन्डमा भएका थिए भने अभ्यास खेलमा नेपालले दोस्रो रोजाइका खेलाडी मैदान उतार्दा जित हात पारेको थियो । अनुभवी खेलाडीले भरिपूर्ण ओमान यस पटक पनि नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो ।

युएईविरुद्ध नेपालले घरेलु मैदानमा खेलेका पाँच ओडिआई मध्ये चार खेलमा जित हात पारेको छ । लिग–२ को अन्तिम खेलमा ३ सय १० रनको विशाल विजयी लक्ष्य पछ्याउने क्रममा नेपाल २ सय ६९ रन बनाउँदा कट अफ टाइमका कारण डकवर्थ लेविस पद्धतिको आधारमा ९ रनले विजयी भएको थियो । मुख्य प्रशिक्षक रोविन सिंहलाई बर्खास्त गर्दै क्वालिफायर प्लेअफ खेल्न नामिबिया पुगेको युएईले त्यहाँ सानदार प्रदर्शन गरेको थियो ।

अघिल्लो महिना युएईले आफ्नो टिममा ठुलो परिवर्तन ल्याएको छ । त्यसैले युएई विरुद्धको खेलमा सजक रहनु पर्नेछ । पछिल्ला दुई एसिया कप खेलेको हङकङले सबैलाई सरप्राइज दिन सक्छ । निजाकत खान, बाबर हायत र अंशुमन रथ जस्ता स्टार ब्याटस्म्यान हङकङको टिममा छन् । ओडिआई मान्यता गुमाएको हङकङ अब एसिया कप जस्तो अवसर गुमाउने पक्षमा छैन । हङकङले नेपाल आउनु अघि श्रीलङ्कामा १० दिने अभ्यास सम्पन्न गरेको थियो ।

नेपाल सहित यी चार देश बाहेक अन्य देश तुलनात्मक रूपमा कमजोर मानिँदै आएका छन् । नेपालले एसिया कपमा स्थान बनाउन आफ्नो उत्कृष्ट क्रिकेट खेल्नुपर्नेछ । ब्याटिङमा घरेलु मैदानमा सानदार प्रदर्शन गर्दै आएको नेपाल बलिङमा भने सुधार ल्याउनुपर्ने हुन्छ । यो प्रतियोगिताका शीर्ष तीन देशले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । इमर्जिङ टिम्स एसिया कपमा टेस्ट टिमका यू-२३ देश सहभागी हुन्छन् ।

एसिया कप विश्वकप अघि एसियाली देशका लागि तयारी प्रतियोगिता हो । आगामी अक्टोबर नोभेम्बरमा भारतमा एक दिवसीय विश्वकप हुँदैछ । विश्वकपमा स्थान बनाउन नेपालले आगामी जुन जुलाईमा जिम्बावेमा हुने छनोट खेल खेल्नेछ । उक्त छनोटमा नेपाल, स्कटल्यान्ड, ओमान, युएई, अमेरिका, नेदरल्यान्ड्स, जिम्बावे, श्रीलङ्का, वेस्ट इन्डिज तथा आयरल्यान्ड गरी १० वटा देश सहभागी हुनेछन् ।

दुई समूहमा विभाजन हुँदै सुपर सिक्स चरण पार गरेपछि शीर्ष दुई देशले विश्वकप खेल्न पाउनेछन् । नेपालका लागि विश्वकपको यात्रा निकै कठिन देखिन्छ । यद्यपि विश्वकपको यात्राका लागि नेपालले घरेलु मैदानमा खेल्ने एसीसी प्रिमियर कप ठुलो महत्त्वको छ । नेपालले यस्तो अवसर चुकाउनु हुँदैन ।

प्रतिक्रिया