आइतबार, जेठ ६, २०८१

धमाधम ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को अडिसन

नेपालखोज २०८० वैशाख ६ गते ७:१७

काठमाडौं । पचासभन्दा बढी देशबाट छानिएका मध्येबाट नृत्य र गायनमा ५०-५० प्रतियोगी छनोट गर्न हाल काठमाडौँमा ‘मेरो भ्वाइस युनिभर्स’को अडिसन जारी छ । ‘मेरो भ्वाइस युनिभर्स’को निर्णायकमा गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, पुष्पन प्रधान, गायिका अञ्जु पन्त र सुजाता वर्मा छन् ।

यसैगरी नृत्यतर्फको निर्णायकमा अभिनेत्री मिथिला शर्मा, नृत्यकार शङ्कर विसी, अभिनेता दिलीप रायमाझी, अभिनेत्री केकी अधिकारी र प्रियङ्का कार्की तथा नरमान राई छन् । कार्यक्रमको प्रस्तोतामा अभिनेत्री रिमा विश्वकर्मा, कलाकार सन्दीप क्षेत्री, सञ्चारकर्मी नरेश भट्टराई र सुनिता गुरुङ छन् ।

नेपालमा आयोजना गर्न लागिएको यो शो अहिलेसम्मकै सबैभन्दा ठुलो पुरस्कार राशिको हो । गायन र नृत्य प्रतियोगितामा छानिएकामध्ये प्रथम हुनेले जनही एक करोड, दोस्रो हुनेले ३० लाख र तृतीय हुनेले २० लाख पुरस्कार प्राप्त गर्नेछन् ।

नेपाली मूलका भुटानी अमेरिकी युवा व्यवसायीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरेको फाउण्डेसनले विश्वमा बसोबास गरिरहेका नेपालीहरुबीच सांस्कृतिक एकता कायम गर्न उक्त गायन र नृत्य प्रतियोगिताको आयोजना गरेको जनाइएको छ ।

फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले संसारमा छरिएर रहेका नेपालीलाई आफ्नो पुर्खाको देशसँग नेपाली भाषा र कलाका माध्यमबाट पुस्तौँपुस्तासम्म जोड्नका लागि नेपालमै सो प्रतियोगिताको आयोजना गरिएको बताएका छन् ।

प्रतिक्रिया