चार लघुबीमाका अध्यक्षले गरे शपथग्रहण

नेपालखोज २०८० वैशाख ६ गते ९:३०

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले विभिन्न चारवटा लघुबीमा कम्पनीका संचालक समितिका अध्यक्षहरूलाई मंगलबार शपथ गराएका छन् ।

अध्यक्ष सिलवालले मंगलबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लि. का अध्यक्ष उदिप श्रेष्ठ, नेपाल माइक्रो इन्स्योरेन्स कं. लि. का अध्यक्ष आशिष श्रेष्ठ, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लि. का अध्यक्ष ऋषिराज मोर र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लि. का अध्यक्ष कृतिका अग्रवाललाई शपथ गराएका हुन् ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालले कम्पनीको समग्र जिम्मेवारी संचालक समितिका अध्यक्षको हुने भएकाल कम्पनीहरू अध्यक्षको निगरानीमा रहनुपर्ने बताए । उनले न्यून आय भएका बर्ग र पिछडिएका क्षेत्रलाई लक्षित गरी लघुबीमा व्यवसाय गर्नेगरी धेरै लामो प्रयासपछि लघुबीमा कम्पनीहरू स्थापना भएको उल्लेख गर्दै सोही उद्देश्य अनुरूप स्थानीयस्तरमा सञ्जाल विस्तार गरेर स्वस्थ प्रतिस्पर्धाका साथ इमान्दारीपूर्वक काम गर्न निर्देशन दिए ।

शपथग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेश कुमार लाल र लघुबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया