एसीसी प्रिमियर कप : सिंगापुरलाई बहराइनले हरायो

काठमाडौं । एसीसी प्रिमियर कप मेन्स एक दिवसीय क्रिकेटमा बहराइनले विजयी सुरुआत गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बहराइनले सिंगापुरलाई १३२ रनले पराजित गरेको हो ।
ब्याटिङ गरेको बहराइनले निर्धारित ओभरमा ८ विकेट गुमाएर २८६ रन बनाएको थियो । जवाफमा सिंगापुरले ४३.१ ओभरमा सबै विकेट गुमाएर १५४ रनमात्रै बनाउन सक्यो । लक्ष्य पछ्याउने क्रममा सिंगापुरको टप अर्डर भने पुरै फ्लप भयो ।
५० रन बनाउँदा ६ विकेट गुमाएको सिंगापुरले पछि सम्हालिएर खेले पिनि जित निकाल्न पर्याप्त भएन । रोहन रंगराजन र अरित्र दत्ताले पहिलो विकेटका लागि २२ रनको साझेदारी गरेका थिए । रोहन रंगराजन व्यक्तिग ११ रन बनाएर आउट भएपछि विकेट पतनका शृंखला सुरु भएको थियो । लगत्तै व्यक्तिगत ११ रनमै अर्का ओपनर दत्ता पनि पभेलियन फर्किए ।
तेस्रो विकेटको रुपमा अब्दुल रहमान १० रन बनाएर आउट हुँदा मनप्रित सिंह ७ तथा सिद्धान्त श्रीकान्त १ रनमै पभेलियनको बाटो लागे । यसैगरी आर्यन मोदीले ५ रन बनाएर आउट हुँदा सुरेन्द्रन चन्द्र मोहनले सातौं नम्बरमा आएर अर्धशतक पूरा गरे । उनी ५१ रन बनाएर आउट हुँदा सिंगापुरले नवौं विकेट गुमाएको थियो । विनोद बसकरण २३ तथा थिलपन ओमैडुरीले २० रन जोडे ।
सिंगापुरलाई रोक्ने क्रममा बहराइनका इमरान अनवरले सर्वाधिक ४ विकेट लिँदा रिजवान बटले ३ तथा अब्दुल मजैदले २ विकेट हात पारे । बहराइनको पारिमा फैज अहमद र सहवाज वदरले अर्धशतकीय पारि खेल्दा सिंगापुरका रमेश किलमुथ, थिलिपन ओमदूरी र विनोथा बसकरणले दुई दुई विकेट लिए ।
बहराइनको सुरुआत भने त्यति राम्रो रहेन । उसका मोहममद युनिस र सहवाज बदरले ओपनिङ गरेका थिए । यी दुईबीच पहिलो विकेटका लागि ३२ रनको साझेदारी भएको थियो ।
जसमा युनिस २३ रन बनाएर आउट हुन पुगे । लगत्तै डेभिड म्याथिस गोल्डेन डकआउट भएपछि दोस्रो विकेट पनि ३२ रनको स्कोरमा गुमाउन पुग्यो । त्यसपछि क्रिजमा आएका सोहेल अहमद र ओपनर सहवाजले पारि सम्हाल्दै १०५ रनको साझेदारी गरेपछि बहराइनले स्कोर १३७ पु¥याएको थियो । सोहेल अहमद ४६ रन बनाएर आउट भएका थिए ।
फैज अहमदले त्यसपछि साथ दिए । यसबीचमा टिमको स्कोर १९६ रन पुगेका बेला ३९।५ औं ओभरमा सहवाज पभेलियनको बाटो लागेका थिए । उनले ७६ रनको पारि खेलेर आउट भएका थिए ।
कप्तान हैदर बट आएर टिमको स्कोर २ सय ५० प्लस बनाए । हैदर व्यक्तिगत २९ रन बनाएर आउट हुँदा बहराइनले ४७.३ ओभरमा ५ विकेट गुमाएर २६२ रन बनाएको थियो ।
इमरान अनवर ६ रन बनाएर आउट हुँदा ४८.३ ओभरमा अर्धशतक बनाएका फैज अहमद आउट भए । उनी ७९ रन बनाएर पभेलियन फर्किदा बहराइनले सातौं विकेट गुमाउन पुग्यो । ४९.५ ओभरमा आठौं विकेट रनआउटको रुपमा गुमाएको थियो । बहराइनका रिजवान बट ४ रन बनाएर आउट भएका थिए । जुनेद अजिज ११ रनमा नटआउट रहे ।

प्रतिक्रिया