दिपाले भारतीय लिग नखेल्ने

नेपालखोज २०८० वैशाख ९ गते ११:२६

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर दिपा शाहीले भारतीय महिला लिगको टोली लर्ड्स फुटबल एकेडेमीबाट नखेल्ने भएकी छिन् । भारतको व्यावसायिक लिग खेल्न विदेशी खेलाडीको उमेर १८ वर्ष पार भएको हुनुपर्ने भएपछि दिपाले प्रतियोगिता गुमाउने भएकी हुन् ।

क्लबसँग सम्झौता भएर कागजी प्रक्रिया अघि बढ्दा दिपालाई भारतीय फुटबल महासंघले दर्ता गर्न नमिल्ने जानकारी दिएको क्लब प्रतिनिधिले जानकारी दिए । १८ वर्षभन्दा कम उमेरका विदेशी खेलाडीले व्यावसायिक सम्झौता गर्न नपाउने भएसँगै दिपा अब नेपालमै रहनेछिन् ।

नेपालले एफसी यू-२० महिला एसियन कपको दोस्रो चरण खेल्ने तयारीमा हुँदा १७ वर्षीय दिपा अब टोलीसँग प्रशिक्षणमा जोडिनेछिन् । दिपाकै उच्च प्रदर्शनमा नेपालले छनोटको पहिलो चरण पार गरेको थियो । उनले २ खेलमा ६ गोल गर्दा नेपालले सानदार नतिजा निकालेको थियो । प्यालेस्टाइन र नर्दर्न मारियाना आइल्यान्डलाई समान ६-० ले हराउँदा दीपाले क्रमश: ४ गोल र २ गोल गरेकी थिइन् ।

नेपालले अब दोस्रो चरणमा चीन, म्यानमार र चाइनिज ताइपेइको समान गर्नेछ । प्रतियोगिता जुन महिनामा म्यानमारमा हुनेछ ।

प्रतिक्रिया