बिहीबार, वैशाख २७, २०८१

रुसमा बढे अर्बपति

नेपालखोज २०८० वैशाख १४ गते १०:०४

रुसमा आधिकारिक रूपमा ११० जना अरबपति छन् जुन गत वर्षको तुलनामा २२ ले बढी हो । फोर्ब्सको रुसी संस्करणका अनुसार यी अर्बपतिहरूसँग ५०५ अर्ब डलरको सम्पत्ति छ, जुन २०२१ को तुलनामा १५२ अर्ब डलर बढी हो । २०२२ मा जब फोर्ब्सले रूसी अरबपतिहरूको सूची जारी गरेको थियो त्यतिबेला उनीहरूको कुल सम्पत्ति ३५३ बिलियन डलर अनुमान गरिएको थियो।

फोर्ब्सका अनुसार यो सूची अझ लामो हुन सक्थ्यो तर देशका अर्बपतिमध्ये पाँच जनाले रुसी नागरिकता त्यागेका छन् । डीएसटी ग्लोबलका संस्थापक युरी मिल्नर, रिभोल्टका संस्थापक निकोले स्ट्रोनस्की, फ्रिडम फाइनान्सका टिमुर टुर्लोभ तथा जेटब्रेन्सका मालिक सर्गेई दिमित्रीभ र भ्यालेन्टिन किप्याटकोभले हालै रूसी नागरिकता त्यागेका हुन् ।

प्रतिबन्ध प्रभावहीन

फोर्ब्समा प्रकाशित प्रतिवेदनमा भनिएको छ, “गत वर्षको सूची रुसी अर्थतन्त्रमा संकटको भविष्यवाणीले प्रभावित थियो ।” २०२१ मा अर्थात् युक्रेन युद्ध सुरु हुनु अघि रूसी अरबपतिहरूको कुल सम्पत्ति ६०६ बिलियन डलर अनुमान गरिएको थियो । २४ फेब्रुअरी २०२२ मा रुसले युक्रेनमा आक्रमण गर्‍यो । त्यसपछि पश्चिमी देशहरू विशेषगरी अमेरिकाले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगायो । हालैका वर्षहरुमा रुसमाथि लगाइएको यो सबैभन्दा ठूलो प्रतिबन्ध हो । यी प्रतिबन्धहरूमा धेरै धनी रूसीहरू पनि मारमा परे ।

यी प्रतिबन्धको प्रतिक्रियामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी देशहरूले रुसलाई ध्वस्त पार्ने प्रयास गरिरहेको बताए । यद्यपि अत्यावश्यक कुरा मात्र नभई यो प्रतिबन्धले पश्चिमी देशका विलासी वस्तुलाई रुसमा आउनबाट रोक्न नसक्दा धेरै पटक यो प्रतिबन्धको असफलताको खिल्ली उडाईयो ।

पश्चिमाहरु भन्छन् – रुसको अर्थतन्त्रमा प्रतिबन्धको प्रभाव प्रष्ट देखिन्छ । सन् २०२२ मा रुसको अर्थतन्त्र २.१ प्रतिशतले संकुचित भयो। यता चीन, भारत र मध्यपूर्वी देशहरूले आफ्नो तेल, धातु र अन्य प्राकृतिक स्रोतहरूको आयात मात्र जारी राखेनन् त्यसलाई ठूलो मात्रामा बढाए जसले रूसी धनीहरूलाई फाइदा पुर्‍यायो।

बलियो अर्थव्यवस्था

अन्तर्राष्ट्रिय मुद्रा कोषले विभिन्न देशका अर्थतन्त्रका लागि प्रक्षेपण जारी गर्दा रुसको आर्थिक वृद्धिदर गत वर्षको ०.३ प्रतिशतबाट २०२३ मा ०.७ प्रतिशत पुर्याएको थियो । तर, २०२४ को आर्थिक वृद्धिदरको प्रक्षेपण २.१ प्रतिशतबाट घटाएर १.३ प्रतिशतमा झरेको छ ।

आईएमएफले रुसमा कामदारको अभाव हुनसक्ने र रुस छोड्ने पश्चिमी कम्पनीहरूले पनि असर पार्ने बताएको छ। रुसी अर्थतन्त्रको रगत भनिने युराल्स तेलको मूल्य सन् २०२२ मा प्रति ब्यारेल ७६.०९ डलर थियो जुन २०२१ मा प्रति ब्यारेल ६९ डलरभन्दा बढी थियो। मलको मूल्य पनि २०२१ को तुलनामा २०२२ मा उच्च थियो ।

कस्ता छन रुसि धनीहरु

उर्वरक बिक्रेता आन्द्रेई मेलनिसेन्कोलाई फोर्ब्सले रुसको सबैभन्दा धनी व्यक्तिका रूपमा प्रस्तुत गरेको छ। उनको सम्पत्ति २५.२ बिलियन डलर रहेको अनुमान छ, जुन गत वर्षको तुलनामा दोब्बर हो । विश्वको सबैभन्दा ठूलो प्यालेडियम उत्पादक, नोर्निकेलका अध्यक्ष तथा सबैभन्दा ठूलो शेयरधारक भ्लादिमिर पोटानिन सबैभन्दा धनी रूसीहरूको सूचीको दोस्रो स्थानमा छन्। उनीसँग २३.७ बिलियन डलर सम्पत्ति छ । तेस्रो नम्बरमा भ्लादिमिर लिसिन छन्, जसको सम्पत्ति २२.१ बिलियन डलर अनुमान गरिएको छ। स्टिल ब्यारोन लिसिन एनएलएमके कम्पनीका मालिक हुन्।

स्थानीय बजारको लाभ

फोर्ब्सको पछिल्लो सूचीमा धेरै नयाँ नाम थपिएका छन् । यसमा स्न्याक्स, सुपरमार्केट, रसायनिक र औषधि कम्पनीहरूका मालिकहरू समावेश छन्। पश्चिमी प्रतिबन्धका कारण देशमा स्थानीय उत्पादनको माग ह्वात्तै बढेको छ, जसले गर्दा यी कम्पनीलाई फाइदा भएको छ । पश्चिमी प्रतिबन्धलाइ रूसका धेरै अरबपतिहरूले आपत्तिजनक र नस्लवादी भनेका छन ।

रुसमा बोरिस येल्तसिन सत्तामा हुँदा केही धनी उद्योगीहरूले तेल र धातु कम्पनीहरू सरकारबाट नियन्त्रणमा लिएका थिए। यी कम्पनीहरू विश्वका केही ठूला तेल र धातु कम्पनीहरू मध्ये एक हुन्। उक्त निजीकरणले धेरै रूसी व्यवसायीलाई संसारको सबैभन्दा धनी व्यक्तिहरू बनाइदिएको थियो । तर, यसका कारण उनीहरु देशको गरिबीले त्रस्त जनसङ्ख्याबाट आलोचनाको सिकार भएका छन् ।

भ्लादिमिर पुटिनको शासनकालमा धेरै अर्बपति व्यापारीको सम्पत्ति खोसिएको छ । यसमा मिखाइल खोडोरकोभस्की तथा बोरिस बेरेत्सोव्स्की पनि समावेश छन् जसका कम्पनीलाई निजीकरण गरिएको थियो र अहिले ती उद्योग पूर्व जासूसहरूद्वारा सञ्चालित छन्। -reuters

प्रतिक्रिया