सोमबार, वैशाख २४, २०८१

सबैभन्दा धेरै फिल्मफेयर अवार्ड जित्ने बलिउड चलचित्र

नेपालखोज २०८० वैशाख १६ गते १२:५९

काठमाडाैं । फिल्मफेयर अवार्ड- २०२३ हिजो साँझ अर्थात २७ अप्रिल २०२३ मा मुम्बईमा सम्पन्न भयो जहाँ धेरै सेलिब्रेटीहरु उपस्थित थिए । यसको ६८ औं संस्करणमा चलचित्र ‘गंगुबाई काठियावाडी’ र ‘बधाइ दो’ अग्रपंक्तिमा देखिए । सन् १९५४ मा सुरु भएको यो अवार्ड इभेन्टको इतिहासमा यस्ता धेरै फिल्म छन्, जसले सबैभन्दा बढी ट्रफी जितेका छन् ।

गली ब्वाय (१३ एवार्ड)

यो मुम्बईको धारावी क्षेत्रको सडकबाट उठ्ने महत्वाकांक्षी स्ट्रिट र्‍यापर मुरादको कथामा आधारित चलचित्र हो। यो फिल्म सुपरस्टार र्यापर नाजी र डिवाइनको जीवनबाट प्रेरित छ । जोया अख्तरको निर्देशनमा बनेको यो फिल्ममा रणवीर सिंह, आलिया भट्ट, अमृता सुभाष र विजय वर्मा मुख्य भूमिकामा थिए ।

ब्ल्याक (११ एवार्ड )

सञ्जय लीला भन्सालीको फिल्म ‘ब्ल्याक’ एक अन्धा र बहिरा महिला मिशेल तथा उनका शिक्षक देबराजको कथामा आधारित छ जसलाई पछि अल्जाइमर रोग लाग्छ। अमिताभ बच्चन , रानी मुखर्जीदेखि सञ्जय लीला भन्सालीसम्म यो फिल्म अभिनय, निर्देशन, क्यामेरावर्क र पटकथामा मास्टर क्लास फिल्म मानिय‍ो । यो फिल्मले कुल ११ वटा फिल्मफेयर अवार्ड जितेको थियो ।

दिलवाले दुल्हनिया ले जायेंगे (१० अवार्ड)

बितेका ३० वर्षमा डिडिएलजे ( DDLJ )भन्दा राम्रो प्रेमकथा चलचित्र आएको छैन भन्दा हुन्छ । यो फिल्म अझै पनि थिएटरहरूमा चलिरहेको छ । यो फिल्मपछि शाहरुख खान ‘रोमान्सका राजा’ भनेर चिनिन थाले भने काजोल युवाहरुको मुटुको धड्कन बनिन् । यो चलचित्रले १० वटा फिल्म फेयर एवार्ड प्राप्त गर्यो । यो चलचित्र प्रत्येक विधामा एवार्डका लागि मनोनीत भएको थियो।

देवदास (१० एवार्ड )
शरतचन्द्र चट्टोपाध्यायको उपन्यासलाई सञ्जय लीला भन्सालीले फिल्म ‘देवदास’का रूपमा निकै शाही चित्रण दिए । भन्सालीले यो चलचित्रलाई उत्कृष्ट रंग, ग्लामर, प्रदर्शन र संगीतले सजाएका थिए । फिल्म कान्स फिल्म फेस्टिभलमा पनि प्रिमियर गरिएको थियो । यो चलचित्रमा शाहरुख खान, किरण खेर, ऐश्वर्या राय बच्चन र माधुरी दीक्षितको अभिनयले मानिसहरुको मन जितेको थियो । यो चलचित्रले फिल्मफेयर महोत्सवमा १० वटा एवार्ड प्राप्त गरेको थियो ।

मधुमती (९ एवार्ड )

डिडिएलजे ले १० वटा एवार्ड पाउनु भन्दा पहिले मधुमती लगभग ३६ वर्ष सम्म फिल्मफेयरमा सबैभन्दा सफल चलचित्र थियो। विमल रोयले निर्देशन गरेको यो चलचित्रमा दिलीप कुमार र वैजयन्तिमाला मुख्य भूमिकामा थिए । यो चलचित्रको संगीत पनि वर्षको बेस्ट सेलिंग एल्बम बनेको थियो । यसको गीत ‘सुहाना सफर और ये मौसम हसीन’ अझै पनि हिट मानिन्छ। यो फिल्मले फिल्मफेयरमा ९ वटा एवार्ड जितेको थियो ।

गंगुबाई काठियावाडी (९ एवार्ड )

फिल्म ‘गंगुबाई काठियावाडी’ले सन् २०२३ मा फिल्मफेयर एवार्ड जित्यो । यसको कथा एउटी युवतीको कथामा आधारित छ जो ठगिएर वेश्यालय पुग्छिन अनि त्यो संसारलाई आफ्नो नियन्त्रणमा लिन्छिन् । यसमा आलिया भट्टको अभिनयको निकै प्रशन्सा भएको थियो । ६८ औँ फिल्मफेयर अवार्डमा यो फिल्मले ‘सर्वश्रेष्ठ फिल्म’ देखि ‘सर्वश्रेष्ठ निर्देशक’ सहित ९ वटा अवार्ड जितेको छ ।

प्रतिक्रिया