मंगलबार, वैशाख २५, २०८१

के महानायक राजनीतिमा आउँदैछन् ? यसो भन्छन् हमाल

नेपालखोज २०८० वैशाख १७ गते ८:३९

काठमाडौं । गत स्थानीय तहको निर्वाचनमा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल राजनीतिमा आउने हल्ला सामाजिक सञ्जालमा बाक्लै चल्यो । तर हमालले मुख खोलेनन् । जब प्रदेश र संघको निर्वाचन पछि उपनिर्वाचन पनि सकियो तब, हमालले आफू राजनीतिमा आउने पूर्व तयारीमा रहेको खुलाएका छन् ।

पछिल्लो एक टेलिभिजन कार्यक्रममा उनले अबको ४ बर्ष पर्ख र हेरको अवस्थामा रहने र त्यसपछि निर्णयमा पुग्ने बताएका छन् । प्रदेश र संघको निर्वाचनमा पनि मूलधारका राजनीतिक दलबाट उम्मेदवारको लागि प्रस्ताव आएको बताउने हमाल उपनिर्वाचनमा समेत उनलाई प्रस्ताव लैजाने दलहरु थिए ।

अन्तर्वार्तामा उनले उपनिर्वाचनमा उम्मेदवार बन्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले निकै कोशिस गरेको बताएका छन् । तर कुन निर्वाचन क्षेत्रको लागि प्रस्ताव गरिएको थियो भन्ने बारे उनी बोलेका छैनन् ।

उनले भने, ‘चलचित्र खेल्दा मैले निर्वाह गरेको पात्र मन पराउने एक तप्काले मलाई राजनीतिमा आए हुन्थ्यो भन्ने सुभेच्छा राखेको थाहा पाएको छु । म पनि सक्रिय राजनीतिमा आउने मनस्थिति बनाइरहेको छु । अब ४ बर्ष हेरौँ ।’ हमालको यो कुराले २०८४ सालको आम निर्वाचनमा कुनै न कुनै तहमा आफू उम्मेदवार बन्ने संकेत गर्दछ ।

कुराकानीको क्रममा उनको झुकाव पुराना राजनीतिक दल भन्दा नयाँ तर छोटो समयमा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टी सँग छ भनेर बुझ्न गाह्रो छैन् । ‘नयाँ पार्टीले जनताले दिएको म्याण्डेटलाई कसरी अघि बढाउँछ वा बाटो विराउँछ हेर्नुछ ।’ उनले भने ।

विकास र सुशासन डेलिभरी गर्ने बाटोबाट रास्वपा नडगमगाए ०८४ मा हमाल खुल्ने उनकै भनाइले प्रष्ट पारेको छ । पछिल्लो समय चलचित्र पर्दामा नदेखिएपनि हमाल विभिन्न मेला महोत्सब र उद्घाटन कार्यक्रममा व्यस्त छन् ।

प्रतिक्रिया