पानी नरोकिए एसीसी प्रिमियर लिगको फाइनल के हुन्छ ?

नेपालखोज २०८० वैशाख १७ गते १२:१६

काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा नेपालले सोमबार युएईसँग खेल्दै छ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभावका कारण वर्षा भइरहेकाले सोमबार पनि पानी नरोकिए फाइनल खेल होला ? भन्ने जिज्ञासा खेलप्रेमीहरुमा उब्जिएको छ ।

नेपाल पहिलो सेमिफाइनलमा कुवेतसँग भारी वर्षाको कारण खेल रद्द भएपछि समूह विजेताको रूपमा फाइनलमा पुगेको हो । आगामी बिहीबारसम्म काठमाडौंमा वर्षा हुने सम्भावना छ । सोमबार हुन नसके खेल मङ्गलवार हुनेछ ।

यदि सोमबार र मङ्गलवार दुवै दिन वर्षाको कारण खेल हुन सकेन भने सुपर ओभर गराउन प्रयास गरिनेछ । सुपर ओभर पनि टाई भएमा अर्को सुपर ओभर हुनेछ । तर वर्षाको कारण सुपर ओभर पनि हुनसक्ने अवस्था नभएमा आइसीसीको ओडिआई वरियतामा माथि हुने टोली एसिया कपमा पुग्नेछ ।

आइसिसीको ओडिआई वरियतामा नेपाल १४ औँ र युएई १९ औँ स्थानमा छन् । यदि खेल र सुपर ओभर कुनै नभएमा खेल रद्द हुनेछ । खेल रद्द हुँदा नेपाल ओडिआई वरियताको कारण एसिया कपमा पुग्दै भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

एसिया कपमा घरेलु टोली पाकिस्तान, भारत र प्रिमियर कप विजेता समूह ए मा हुनेछन् । समूह बी मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान हुनेछन् । समूह चरणमा एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली सुपर फोर खेल्नेछन् ।

शीर्ष दुई टोली फाइनल खेल्नेछन् । एसिया कप विश्वकप अघि एसिया टोलीको अन्तिम तयारी हो । एक दिवसीय विश्वकप आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुनेछ । विश्वकप खेल्न भने नेपालले आगामी जुन जुलाईमा जिम्बावेमा हुने १० टोली सहभागी विश्वकप छनोटमा समूह चरण, सुपर सिक्स हुँदै फाइनलमा स्थान बनाउनु पर्ने हुन्छ ।

एसीसी प्रिमियर कपको फाइनलमा स्थान बनाएसँगै युएई र नेपालले आगामी जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाएका छन् । आज तेस्रो स्थानका लागि ओमान र कुवेतबिच खेल हुदैँछ । यो खेलका विजेता टोलीले पनि एसीसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउनेछ ।

प्रतिक्रिया