जसको सम्झनामा मजदुर दिवस मनाइन्छ

काठमाडाैं । पछिल्ला तीन दशकको विश्वव्यापीकरणले रोजगारीको परिभाषासँगै यसको स्वरूप पनि परिवर्तन गरेको छ भने काम गर्ने तरिकामा समेत धेरै परिवर्तन आएको छ । कोरोना संक्रमणको समयमा अनलाइन कामको रूप पनि विश्वभर देखियो। अहिले समयसँगै श्रम र ज्याला दुवैको अर्थ फेरिएको छ । त्यसैले आज १३२ वर्ष पुरानो ‘मे दिवस’ परम्पराको अर्थ के छ ?
विश्वभरका समाजवादी र मजदुर दलहरूको संगठन द सेकेन्ड इन्टरनेशनलले सन् १८८९ को पेरिस सम्मेलनमा मजदुरको हक अधिकारको आवाज उठाउन मे १ का दिन रोजेको थियो । त्यो पश्चिममा औद्योगिकीकरणको युग थियो र कामदारहरूले सूर्योदयदेखि सूर्यास्तसम्म काम गर्ने अपेक्षा गरेका थिए । अक्टोबर १८८४ मा अमेरिका र क्यानाडाका ट्रेड युनियनहरूको संगठन फेडरेशन अफ अर्गनाइज्ड ट्रेड्स एण्ड लेबर युनियनले १ मे १८८६ पछि मजदुरहरूले दिनमा ८ घण्टाभन्दा बढी काम नगर्ने निर्णय गरे।
त्यसका लागि अमेरिकाका विभिन्न सहरमा लाखौं मजदुर हडतालमा उत्रिए । शिकागो त्यो आन्दोलनको केन्द्रमा थियो। त्यहाँ दुई दिनसम्मको बन्द शान्तिपूर्ण रुपमा चलेको थियो तर मे ३ को साँझ म्याककोर्मिक हार्वेस्टिङ मेसिन कम्पनी बाहिर हिंसा भड्कियो जसमा प्रहरीको गोली लागेर दुई कामदारको मृत्यु भयो । भोलिपल्ट फेरि दुई पक्षबीच झडप हुँदा ७ प्रहरीसहित १२ जनाको ज्यान गयो ।
सुरुमा दिनको ८ घण्टा कामको मागका लागि मात्र विश्वभरका श्रमिकलाई एकताबद्ध हुन भनिएको थियो । त्यसपछि १८८९ देखि १८९० सम्म विभिन्न देशमा मजदुरहरूले प्रदर्शन गरे। सन् १८९० को मे को पहिलो दिन बेलायतको हाइड पार्कमा तीन लाख मजदुर ८ घण्टा कामको माग गर्दै सडकमा उत्रिए । समय बित्दै जाँदा यो दिन मजदुरका बाँकी अधिकारप्रति ध्यानाकर्षण गर्ने अवसर पनि बनेको छ ।
गुडभ्यू इन्टरनेशनल नामक संस्थाले २०२० मा गरेको सर्वेक्षणअनुसार महामारीका कारण ऋणमा फसेका श्रमिक तीन गुणा बढेका छन । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का अनुसार सन् २०१६ मा विश्वभर चार करोडभन्दा बढी मानिस बन्धुवा श्रमको सिकार थिए । अनुमान अनुसार ती मध्ये ७१ प्रतिशत महिला थिए। यहि वर्ष सार्वजनिक विश्व असमानता प्रतिवेदन अनुसार श्रमबाट हुने कुल आम्दानीको १८ प्रतिशत मात्र महिलाको हातमा आउँछ ।
आईएलओको सन् २०२१ को प्रतिवेदनमा विश्वमा बाल श्रमिकको संख्या १६ करोड पुगेको उल्लेख छ । प्रतिवेदनले कोभिड–१९ महामारीको प्रभावका कारण सन् २०२२ को अन्त्यसम्ममा यो संख्या ९० लाखसम्म पुग्न सक्ने चेतावनी पनि दिइएको थियो । संस्थाले ५ देखि १४ वर्ष उमेर समूहका ३.९ प्रतिशत बालबालिकाले श्रमिकका रूपमा काम गर्ने अनुमान गरेको छ ।
प्रतिक्रिया