वातावरणका लागि ४९ युरोको टिकट

काठमाडाैं । वातावरणको ख्याल राख्न र उत्सर्जन घटाउन जर्मनीले ४९ युरोको टिकट योजना अघि सारेको छ । यो सस्तो टिकटले मानिसहरूलाई कार छोडेर रेलको यात्रा गर्न उत्प्रेरित गर्ने सरकारको आशा छ। जर्मन सरकारले सोमबार मे १ देखि जर्मनीको सार्वजनिक यातायातका लागि ४९ युरोको टिकट सुरु गरेको हो ।
यो टिकटमा एक महिनासम्म देशैभरि यात्रा गर्न सकिन्छ । सरकार यसमार्फत निजी सवारी साधनको प्रयोग घटाउन चाहन्छ । यद्यपि यसको प्रभावका बारेमा उत्पन्न शंका भने कायमै छ । मासिक पासलाई ‘क्रान्तिकारी’ मान्ने नेताहरूले यसबाट महँगीमा डुबेका सर्वसाधारणले केही राहत पाउने आशा गरेका छन् ।
यससँगै जनताले वातावरणको नाममा सार्वजनिक सवारी साधनको प्रयोग बढाउनेछन् । यो टिकटको सहायताले जर्मनीमा बस, मेट्रो, लोकल र क्षेत्रीय ट्रेनहरूमा मानिसहरूले जति पटक यात्रा गर्न सक्छन्। लामो दूरीका रेलहरू यसमा समावेश गरिएको छैन ।
यातायात मन्त्री फोल्कर मिजिङले यो कदमलाई ‘जर्मन इतिहासमा सार्वजनिक यातायातका लागि सबैभन्दा ठूलो सुधार’ भनेका छन् । उता विपक्षी दलहरुले यो खर्चलाई लिएर सरकारको आलोचना गरिरहेका छन् । यो रकम रेलवे सुविधा सुधार गर्न खर्च गरिनु बढि उपयुक्त हुने उनिहरुको धारणा छ । AFP
प्रतिक्रिया