आइतबार, जेठ ६, २०८१

एसिया कप : इतिहास दोहाेरिने डर

नेपालखोज २०८० वैशाख १९ गते २०:२१

काठमाडौं । नेपालले इतिहास रच्दै एसीसी प्रिमियर कपको फाइनलमा स्थान बनाएको छ र उक्त एसिया कप-२०२३ आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने कार्यक्रम छ । नेपालले २१ वर्षपछि एसिया कपमा स्थान सुरक्षित गरेको हो ।

सन् २००२ मा सिंगापुरमा सम्पन्न एसीसी ट्रफीको फाइनलमा स्थान बनाउँदै नेपालले एसिया कपमा पुगेको थियो । त्यति बेला फाइनल पुग्ने दुई टिमले एसिया कप खेल्न पाउँथे । उक्त फाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको थियो ।

यो सँगै नेपालले युएई सँग त्यो फाइनलको हारको बदला पनि लिएको छ । यद्यपि त्यति बेला भारत र पाकिस्तानको आन्तरिक राजनीतिक विवादका कारण एसिया कप नै रद्द भएको थियो । फलस्वरूप  नेपाल एसिया कपमा पुगेर पनि प्रतियोगिता खेल्नबाट बन्चित भयो । त्यसपछि २१ वर्ष यता नेपाल एसिया कपमा छनोट हुन सकेन ।

यस पटक फेरि नेपाल एसिया कपमा छनोट त भएको छ तर फेरि यस पटक पनि भारत र पाकिस्तान बिच प्रतियोगिताको आयोजना लाई लिएर उत्पन्न किचलो उत्कर्षमा पुगेको छ । यो विवाद कहाँ सम्म बढेको छ भने एकथरि क्रिकेट समीक्षकहरू यो प्रतियोगिता नै रद्द हुने सम्भावना व्यक्त गर्न थालेका छन् ।

यदि त्यस्तो भयो भने त्यो नेपालको दुर्भाग्य नै हुनेछ, दुई पटक एसिया कपमा छनोट भएर पनि प्रतियोगिता रद्द भएको दुर्भाग्य । त्यस माथि नेपालले यस पटक आफ्नो क्रिकेट इतिहासमै सर्वाधिक दुई ठुला टिम भारत र पाकिस्तानसँग खेल्न पाउने अवसर गुमाउनेछ भने सारा नेपाल र नेपालीहरूको सपना समेत चकनाचुर हुनेछ ।

प्रतिक्रिया