बिहीबार, जेठ २, २०८२

दासत्व अझै पनि जारी छ

नेपालखोज २०८० वैशाख २० गते १०:१३

एसिया तथा अफ्रिकाका कैयन देश वर्षौं अघि स्वतन्त्र भए पनि अझै पनि धेरै मानिसहरू विभिन्न रूपहरूमा दासको जीवन बिताइरहेका छन् । भारतमा आधुनिक दासहरूको सबैभन्दा ठुलो सङ्ख्या ( ८० लाख ) छ । त्यसपछि चीन ३८.६ लाखका साथ दोस्रो स्थानमा छ ।

पाकिस्तानमा ३१.९ लाख , उत्तर कोरियामा २६.४ लाख तथा नाइजेरियामा १३.९ लाख मानिस अझै पनि दास छन् । यी मुलुकमा गरिब जनतालाई नाफाका लागि सबै किसिमका काम लगाइन्छ । उनीहरूलाई वेश्यावृत्ति, बन्धक श्रम र अपराधको दुनियाँमा धकेलिएको छ । कतै भिक्षा मगाइएको छ , कतै घरघरमा शोषण भइरहेको छ । उनीहरूलाई जबरजस्ती विवाह र अङ्गको व्यापारमा पनि नाफाको स्रोत बनाइने गरेको छ ।

विश्वमा कम्तीमा ४.०३ करोड मानिस दासको जीवन बिताइरहेका छन् । त्यसमध्ये दुई करोड विभिन्न फर्म, कारखाना तथा माछा मार्ने काममा प्रयोग भइरहेका छन् । यस क्रममा १.५४ करोडको जबरजस्ती विवाह गराइएको छ भने ५० लाखलाई वेश्यावृत्तिमा लगाइएको छ । संयुक्त राष्ट्रसंघले मानव बेचबिखन आपराधिक उद्योगका रूपमा तीव्र गतिमा अघि बढेको पनि बताएको छ । संयुक्त राष्ट्रसंघले सन् २०३० सम्ममा बन्धक श्रम र जबरजस्ती विवाह अन्त्य गर्ने लक्ष्य राखेको छ । यद्यपि यो काम निकै चुनौतीपूर्ण छ । कहाँ र कतिलाई दासको रूपमा काममा लगाइन्छ भन्ने भरपर्दो तथ्याङ्क छैन ।

केही तथ्याङ्क र तथ्यहरूले यो समस्या कति गम्भीर छ भनेर बताउन सक्छ । यसतर्फ ध्यानाकर्षण गराउन युरोपेली सङ्घले अक्टोबर १८ मा मानव बेचबिखन विरुद्धको दिवस मनाउने गरेको छ । प्रत्येक दस जना आधुनिक दासमध्ये मध्ये सात जना महिला तथा केटीहरू छन् जबकि तीमध्ये एक चौथाइ बालबालिका छन्। विश्वव्यापी रूपमा प्रत्येक १८५ मानिस मध्ये एक जना दास छन् । जनसङ्ख्याको आधारमा उत्तर कोरियामा सबैभन्दा धेरै आधुनिक दासहरू छन् ।

उत्तर कोरियामा १० प्रतिशत जनसङ्ख्यालाई दास बनाइएको छ । त्यसपछि इरिट्रियामा ९.३ प्रतिशत, बुरुन्डीमा ४ प्रतिशत, सेन्ट्रल अफ्रिकन रिपब्लिकमा २.२ प्रतिशत तथा अफगानिस्तानमा २.२ प्रतिशतले दासको जीवन बिताइरहेका छन् । सन् २०१९ को सुरुवातसम्म ४७ देशमा मानव बेचबिखनलाई अपराध घोषणा गरिएको थिएन । ९६ देशमा बन्धक श्रम अपराध थिएन जबकि १३३ देशमा जबरजस्ती विवाह रोक्ने कुनै कानुन थिएन।

मानव बेचबिखनबाट बर्सेनि कम्तीमा १५० अर्ब डलर नाफा हुने अनुमान छ । आधुनिक दासहरू विकासोन्मुख देशहरूमा मात्र नभएर विकसित देशहरूमा पनि छन्। बेलायतमा १.३६ लाख तथा अमेरिकामा ४ लाख मानिस दासका रूपमा प्रयोग भैरेका छन् । स्रोत : अन्तर्राष्ट्रिय श्रम सङ्गठन /वाक फ्री फाउन्डेसन

प्रतिक्रिया