शनिबार, वैशाख २२, २०८१

सय वर्ष अगाडीको दुर्लभ फोटो तथा ७० वर्ष पुरानो क्यामेरा

सुनील उलक २०८० वैशाख २३ गते ९:१३

बेलायती लेखक पर्सिभल ल्याण्डनलाई वि. सं १९८१ तिर चन्द्र शम्शेरले नेपालको इतिहास लेख्न बोलाएका थिए । निकै समय नेपालमा बसेर चन्द्रशम्शेरको इच्छा अनुसारको इतिहास लेखे । उनको इतिहास नेपाल नाम गरेको दुई भागको पुस्तक १९८५ तिर छापियो ।

यहि पर्सिभल ल्याण्डनलाई सहयोग गर्न चन्द्र शम्शेरले सुब्बा राममणी आचार्य दीक्षित, बंगाली शिक्षक टीएन राय तथा फोटो खिच्नको लागी दीर्घमान चित्रकारलाई पनि खटाएका थिए । यहि दीर्घमान चित्रकारले खिचेको धेरै फोटोहरु सो पुस्तकमा राखिएको छ ।

कति फोटोहरु पुस्तकमा राखिएको छैन तर त्यस फोटोहरुको नेगेटिभ तथा एलबल दीर्घमानका नाती किरणमान चित्रकारसँग सुरक्षित छ । यहि एलबममा भएको यो फोटो पोखरामा खिचिएको भनिए पनि कुन ठाँउमा खिचिएको भन्ने यकिन हुन सकेको छैन । अन्य फोटोहरु भने कुन ठाँउमा खिचेको भन्ने पत्ता लागिसकेको छ । साथमा रहेको क्यामेरा जर्मनमा बनेको एडोक्स गोल्फ ६३ एस क्यामेरा हो ।

त्यो बेलाको प्रचलित १२० को रील लाग्ने यो क्यामेरा फोल्डिङ मोडलको तथा f=75 mm को लेन्स भएको Pronto Shutter सहित सेल्फ टाइमर पनि भएको क्यामेरा हो । घरमा सुरक्षित संग्रहित भए पनि बुबाले यो क्यामेरा चलाउनु भएको भने मैले देखिन । शायद पछि सजिलो क्यामेराहरु आए पछि चलाउनु भएन होला । चालु हालतमा भए पनि न त यसको नेगेटिभ पाइन्छ न त अन्य सुविधा नै पाइन्छ । एक वर्ष अगाडी एक बिदेशी पर्यटकसंग मेरो भेट भएको थियो । उनले यस्तै पुरानो नेगेटिभ राख्नुपर्ने क्यामेरा बोकेर आएको थियो ।

डिजिटल क्यामेरा मन नपर्ने हुँदा एनालग क्यामेरा बोकेर नै विश्व भ्रमणमा निस्केको जानकारी दिएका थिए । साथै उनले आफ्नो देशमा नेगेटिभ प्रिन्ट गर्ने सुविधा अझै भएको तथा रील पनि किन्न पाइने जानकारी दिएका थिए । साथै उनले ब्यागबाट रीलको प्याकेट नै देखाएका थिए । तर हामी कहाँ यो सम्भव नै छैन ।

प्रतिक्रिया