बन्द ‘भरपेट भोजनालय’मा भोकाहरूको निरन्तर आगमनले फेरि खोल्न बाध्य

नेपालखोज २०८० वैशाख २३ गते १२:०४

काठमाडौं । गरिब विपन्न तथा मजदुरहरूलाई ५० रुपैयाँमै खाना खुवाउँदै आएको भरपेट भोजनालय फेरि सञ्चालनमा आउने भएको छ। सानो पाइला नामक सामाजिक संस्थाले गरिब विपन्न मजदुर र विद्यार्थीका लक्षित गरि सञ्चालन गरेको भरपेट भोजनालय खर्च थेग्न नसकेको भन्दै चार महिना अघि बन्द भएको थियो ।

बढ्दो महङ्गीका कारण खर्च थेग्न नसकेर चार महिना पहिले बन्द गरिएको भरपेट भोजनालय जेठ महिनाको पहिलोसाता देखि फेरि सञ्चालनमा ल्याउने तयारी भइरहेको सानो पाइलाका संस्थापक दीपक बहादुर श्रेष्ठले बताए ।

भरपेट भोजनालयले शुक्रबार आयोजन गरेको पत्रकार भेटघाट कार्यक्रममा भरपेट भोजनालय फेरि सञ्चालनमा आउने श्रेष्ठले बताए । उनले भने,‘ चार महिनादेखि भोजनालय बन्द छ , तर अहिले पनि गरिब, विपन्न र मजदुरहरू खाना खोज्दै दिनहुँ यहाँ आँउछन् , बन्द भएको देखेर निराश भएर फर्किन्छन्, त्यसका कारण खर्चको व्यवस्थापन गरेर फेरि जेठ पहिलो सातादेखि सञ्चालनमा ल्याउने तयारीमा जुटेका छौं।’

भोजनालय पुनः सञ्चालनका लागि दीर्घकालीन उपाय खोज्नमा लागिरहेको भन्दै उनले भने, ‘दाताहरूबाट अहिलेसम्म ३० प्रतिशत रकम जम्मा भइसकेको छ, अब बाँकी रहेको ७० प्रतिशत रकम पनि दाताहरूबाटै जुटाउने अभियानमा लागिरहेका छौं।’

यसका लागि वीरगञ्ज महानगरपालिकासँग पनि समन्वय गरिरहेको श्रेष्ठले बताए । श्रेष्ठले भने,‘ डेढ वर्षपहिले भरपेट भोजनालय सञ्चालन गर्दाकै ताका यसको स्वामित्व स्थानीय सरकारले लिओस् भन्ने हाम्रो चाहना थियो तर त्यसो हुन सकेन, अहिले भने मेयरसाबसँग कुरा भएको छ , उहाँ सकारात्मक हुनुहुन्छ। श्रेष्ठका अनुसार , वीरगञ्ज महानगरपालिकाको मुर्लीमा २०७८ साउन ३१ गतेदेखि ५० रुपैयाँमा एक छाक खाना खुवाउने गरि भरपेट भोजनालय सञ्चालनमा ल्याइएको थियो।’

व्यापारभन्दा पनि सेवामुखी उद्देश्यले सञ्चालित भोजनालय बढ्दो महङ्गीका कारण खर्च थेग्न नसकी घाटामा गएको भन्दै सानो पाइलाले उक्त भोजनालय २०७९ पुष ११ गतेदेखि बन्द गरिदिएको थियो ।

मासिक १ लाख ६२ हजार ९ सय रुपैयाँ घाटामा जानथालेपछि गत पुष ११ गतेदेखि भोजनालय बन्द गर्नु परेको श्रेष्ठले बताए । भोजनालयको मासिक खर्च ५ लाख ६ हजार ६ सय ६७ रुपैयाँ हुँदै आएपनि आम्दानी भने ३ लाख ५८ हजार ७ सय ५० रुपैयाँ मात्रै हुने गरेको उनले बताए।

श्रेष्ठले भने,‘ हामीले प्रति व्यक्ति ५० रुपैयाँमा खाना खुवाउदै आएका थियौं, तर त्यो खानाको लागत भने ८५ रुपैयाँ पर्थ्यो , ३५ रुपैयाँ घाटा खेपेर भएपनि सेवा भावले हामीले भोजनालय सञ्चालन गरिहेकै थियौं, दाताहरू वा स्थानीय सरकारबाट सहयोग पाइन्छ भन्ने हाम्रो अपेक्षा थियो, तर कतैबाट सहयोग नपाएपछि निरन्तर भइरहेको घाटा संस्थाले थेग्न नसकेर बन्द गर्नु पर्‍यो।’

भोजनालय सञ्चालनमा रहेको १७ महिनाको अवधिमा संस्थाले २८ लाख ७४ हजार रुपैयाँ घाटा व्यहोर्नु परेको र त्यो रकम संस्थाको कोषबाट पूर्ति गर्नु परेको संस्थाका संस्थापक एंव सल्लाहकार कञ्चन झाले जानकारी दिए। उनले भने,‘ संस्थाको कोषपनि रित्तिएपछि अन्त्यमा केहि विल्कप नभएपछि गत पुष ११ देखि भोजनालय बन्द गर्नु पर्ने बाध्यता भयो।

आर्थिक नगरी वीरगञ्जमा विशुद्ध सेवाभावले गरिब विपन्नका लागि सन्चालित भोजनालय बन्द भएको ४ महिना भइसक्दा समेत यसलाई पुन सञ्चालनका लागि कसैले चासो नलिदा दुख समेत लागेको झाले बताए ।

झाले भने,‘ यो सञ्चालन गर्दाखेरि नै हामीले यसको स्वामित्व र अपन्तव स्थानीय सरकार वा प्रदेश सरकारले लिओस् भन्ने हाम्रो अपेक्षा र चाहना थियो, तर ती दुवैमध्ये कोहि पनि अगाडि सरेरनन्, जसका कारण चार महिनादेखि भोजनालय बन्द छ। -INS

प्रतिक्रिया