वन्यजन्तुलाई वनमै पानीपोखरी

काठमाडौं । मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरणका लागि डिभिजन वन कार्यालय तनहुँले जिल्लाका सामुदायिक वन क्षेत्रमा १७ वटा पोखरी निर्माण गरेको छ ।
वन्यजन्तुलाई वनमै पानीको व्यवस्थापन गर्ने उद्देश्यले भानु नगरपालिकामा ११, व्यास नगरपालिकामा ४ र म्याग्दे गाउँपालिकामा २ वटा पानी पोखरी बनाइएको डिभिजन वन अधिकृत कोमल राज काफ्ले बताए । यसका लागि कार्यालयले १३ लाख ७४ हजार २२० रुपैयाँ खर्च गरेको छ।
‘सामुदायिक वन क्षेत्रमा बनाइएका पानी पोखरीमध्ये २५ प्रतिशत पोखरीमा बाह्रै महिना पानी हुन्छ। अन्यमा बर्खा याममा आकाशबाट झर्ने पानी सङ्कलन हुने र त्यही पानी जमिनभित्र गएर अन्य पानीका मुहानलाई रिचार्ज गर्ने काम पनि भएको छ’, उनले भने, ‘पानी र आहाराको खोजीमा वन्यजन्तु विशेष गरी चितुवा मानव बस्तीमा आएर आक्रमण गरी ज्यानै लिन थालेपछि यसको न्यूनीकरणका लागि पानीका मुहान संरक्षण तथा पानी पोखरी निर्माण गरिएको हो।’
वनमै पानी पोखरी निर्माण गर्दा मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरणका लागि मात्रै नभई पर्यावरणीय हिसाबले पनि महत्त्वपूर्ण रहेको उन बताए । उनले भने, ‘पोखरीमा अन्य वन्यजन्तुजस्तै चराचुरुङ्गी पनि आउँछन्।
चराले बिस्ट्याउँदा त्यस ठाउँमा फलफूलका बिरुवा उम्रन्छन्। विभिन्न वन्यजन्तु पानीका लागि पोखरीमा आउँदा चितुवा पनि त्यतै भुल्ने र आहारा खोज्दै मानव बस्तीमा आउँदैन।’
चितुवालाई पासोमा पार्न परम्परागत काठको खोर
चितुवा आतङ्क बढ्दै गएपछि रोकथामका लागि प्रभावित क्षेत्रमा परम्परागत काठको खोर निर्माण गरिएको थियो । काठको खोरमा थापिएको पासोमा १६ वटा चितुवा परेका थिए।
ती चितुवालाई नियन्त्रणमा लिई सुरक्षित रूपमा अन्यत्र पठाइएको थियो । २०७४ फागुन यता १९ वटा चितुवा मृत अवस्थामा भेटिए। यो द्वन्द्वका कारण मानव मात्र होइन चितुवाको पनि ठुलो क्षति भएको देखिन्छ।
गत मङ्सिर १० गते राती ७ बजेको समयमा बन्दिपुर–२ भुमर्सेमा करिब ६ वर्षीया पोथी चितुवालाई प्रहरीले गोली हानी मारेको थियो। हाल चितुवा प्रभावित क्षेत्रमा ९ वटा परम्परागत काठको खोरहरू छन्। जिल्लाका ८ वटा सव डिभिजन र डिभिजन वन कार्यालयमा गरी ९ वटा फलामको खोरहरू छन् ।
अहिले यस क्षेत्रमा चितुवाको आक्रमण कम भए पनि समय र जनजीवन पहिलेको जस्तो निर्धक्क नभएको भानु–१ की ७२ वर्षीया मदनकुमारी बोहोरा बताउनुहुन्छ। ‘डेढ दुई वर्ष जति हामी चितुवाको त्रासमा बस्यौँ’, उनले भने, ‘पछिल्लो समय मानव जातिमा चितुवाको आक्रमण कम भए पनि यस क्षेत्रमा अझै पनि चितुवा देखा पर्छन्। चितुवाले बेलाबखत घरपालुवा जनवारलाई आक्रमण पनि गरेको छ।’
जङ्गल छेउमै घर भएकाले साँझविहीन चितुवा आएर आक्रमण गरी हाल्छ कि भन्ने डर अझै हट्न सकेको छैन् । ‘पहिले यहाँका महिलाहरू निर्धक्क भएर वनमा घाँस दाउरा गर्न गइन्थ्यो, तर अहिले त्यो छैन’, उनले भने, ‘अहिले त कुकुर भुक्दा पनि डर लाग्छ। नातिलाई अझै पनि एक्लै विद्यालय पठाउन सक्दिन। जङ्गल जानु पर्यो भने पनि ४/५ जना साथी मिलेर जाने गर्छौ।’
वि.सं. २०७४ साल अगाडि बालबालिकाहरू आफै विद्यालय जाने आउने गर्थे । तर चितुवा नरभक्षी बन्दै गएपछि अभिभावकहरूले आफ्ना छोराछोरीलाई विद्यालय ल्याउने पुर्याउने गर्न थाले ।
कहीँ कतै जानुपरे स्थानीय महिलाहरू समूहमा आउजाउ गर्न थालेका छन् । चितुवाबाट आतङ्कित भएका यहाँका स्थानीयले भानु बहिरा रहेका आफ्ना चेलीबेटी तथा आफन्तलाई बोलाउन समेत डराए ।
अहिले भने अवस्था केही सामान्य बन्दै गएको छ। मानिसहरू बिस्तारै पुरानै दैनिकीमा फर्कने कोसिसमा छन्। यस क्षेत्रमा चितुवाको आक्रमण रोक्किएपनि समय समयमा छिमेकी पालिकामा बालबालिकालाई चितुवाले आक्रमण गरी ज्यानै लिएको तथा घाइते बनाएको खबर सुन्दा आङ्ग सिरिङ्ग हुने भानु–२ की माया मानन्धर बताए ।
‘अझै पनि अक्कल झुक्कल सडक छेउछाउको झाँडीमा चितुवाका माउ बच्चा देखा पर्छन्। घरपालुवा जनवारलाई आक्रमण पनि गर्छन्’, उनले भने, ‘त्यसैले अझै पनि साँझ र बिहानको समयमा एक्लै घरबाट बाहिर निर्धक्क भएर हिँड्न र बालबालिकालाई एक्लै छाड्न सक्दैनौ।’
बाघ समात्ने बुढाहरू
भानुमा चितुवा आतङ्क बढ्न थालेपछि चितुवा समात्न ८० वर्षका हरिभक्त ढकाल र ७२ वर्षीय मनबहादुर राना कस्सिए। सामुदायिक वन क्षेत्रमा परम्परागत काठको खोर निर्माण गरी पासोमा पार्न जुरमुराएका वृद्धहरू सफल पनि भए ।
उनीहरूले बनाएको काठको खोरमा बाख्रा राखेर चितुवालाई पासो थापियो । ढकालले बनाएको खोरमा ५ र रानाले बनाएको खोरमा ३ वटा चितुवा परे ।
६ वटा खोर बनाएको बताउँदै ढकालले भने, ‘मैले सम्झिए अनुसार २०२३ सालमा भानु–४ मा पहिलो पटक चितुवाले मान्छे खाएको थियो। त्यस चितुवालाई समात्न भनी स्थानीय बुढापाकाको सहयोगमा मैले त्यही साल फागुनमा काठको खोर बनाएको थिए।’ खोर बनाएको एक दिनमै चितुवा पासोमा परेको र त्यही सीपको मद्दतले अहिले ६ वटा खोर बनाएको ढकाल बताए ।
यस्तै, रानाले पनि आफ्नै बाबुबाजेबाट खोर बनाउने सीप आर्जन गरेको बताए । उनले भने, ‘त्यति बेला चितुवाले घरपालुवा जनावर खाएर सताएको हुँदा बाघ चितुवा समात्न बाबुबाजेले काठको खोर बनाएका थिए। तीनै वन्यजन्तु नियन्त्रणका लागि बनाइएको खोर हेर्दाहेर्दै मैले पनि खोर बनाउन सिके।’
ढकाल र राना अहिले गाउँमा बाघ समात्ने बुढाका नामले परिचित हुन्। चितुवा प्रभावित वडाका सामुदायिक वन क्षेत्रमा परम्परागत काठको खोर बनाएर पासो थापिएको थियो।
उक्त खोरमा चितुवा पार्न सफल भएको भन्दै ढकाल र रानालाई भानु नगरपालिका र डिभिजन वन कार्यालयले संयुक्त रूपमा दोसल्ला, प्रमाणपत्र र ५र५ हजार रुपैयाँद्वारा सम्मान पनि गर्यो ।
ढकाल र रानाले बनाएको काठको खोर हेर्नेको पनि भिड लाग्यो । उनीहरूको यो सीप अन्यलाई पनि सिकाएर काठको खोर बनाएर चितुवा नियन्त्रण गर्न थालिएको छ ।
प्रतिक्रिया