बिहीबार, जेठ २, २०८२

५ वर्षमा १.४० करोड रोजगारी समाप्त हुनेछ

नेपालखोज २०८० वैशाख २५ गते १०:५०

काठमाडौं । विश्वभर रोजगारीको बजार परिवर्तन भैरहेको छ भने नयाँ प्रकारका कामहरू बढिरहेका छन्। धेरै परम्परागत कामहरू असान्दर्भिक हुँदैछन् ।

वर्ल्ड इकोनोमिक फोरमको फ्युचर अफ जब्स रिपोर्ट – २०२३ अनुसार आगामी ५ वर्षमा विश्वभर ८ करोड ३० लाख रोजगारी गुम्ने र ६ करोड ९० लाख नयाँ रोजगारी सृजना हुनेछ । अर्थात् २०२७ सम्ममा आजको तुलनामा १.४० करोड रोजगारी घट्नेछ ।

आगामी ५ वर्षमा डिजिटल कमर्स, शिक्षा एवं कृषिको क्षेत्रमा रोजगारीका अवसरहरू तीव्र गतिमा बढ्नेछन् भने थप शारीरिक मेहनत आवश्यक पर्ने काम एआई वा रोबोटमार्फत स्वचालनका माध्यमबाट गरिनेछ । विश्वमा २३ प्रतिशत रोजगारी परिवर्तन हुनेछ । प्रतिवेदन अनुसार वातावरण जोगाउन अपारम्परिक उर्जामा आधारित रोजगारी बढ्नेछ भने आपूर्ति शृङ्खलाको स्थानीयकरण हुनेछ ।

वल्र्ड इकोनोमिक फोरमले विश्वका ८०३ कम्पनीमा सर्वेक्षण गरी यो प्रतिवेदन तयार गरेको हो । बढ्दो प्रविधिका कारण रोजगारी जाने बुझिए पनि यो पूरै सत्य होइन। रोजगारीको संख्या घट्नुमा अन्य धेरै कारणहरू छन् । यसको एउटा प्रमुख कारण सीपको अभाव हो । नयाँ प्रकारका काममा नयाँ सीप चाहिन्छ। यसका लागि अहिलेसम्म खासै कुनै तयारी छैन ।

कामको आवश्यकता अनुसार कर्मचारी तयार हुन समय लाग्छ । यही कारणले बेरोजगारी र श्रमिक अभाव सँगै देखिन थालेको छ । यो अवस्था आगामी ५ वर्ष पछि पनि कायम रहनेछ । प्रतिवेदनमा भनिएको छ – ४४ प्रतिशत कर्मचारीले रोजगारीमा रहन आफैंलाई उच्च क्षमताको बनाउनु पर्ने आवश्यकता छ।

आगामी ५ वर्षमा डिजिटल कमर्समा करिब २० लाख थप रोजगारी बढ्ने छ । यद्यपि, एआई र मेसिन लर्निङ विशेषज्ञहरूको आवश्यकता सबैभन्दा धेरै हुनेछ । सूचना सुरक्षा विशेषज्ञ तथा व्यापार विश्लेषकहरूको काममा निरन्तर वृद्धि हुनेछ भने २०२७ सम्ममा १० मध्ये ६ कर्मचारीलाई विशेष प्रशिक्षणको आवश्यकता पर्नेछ ।

प्रतिक्रिया