सोमबार, वैशाख २४, २०८१

‘ए’ डिभिजन लिग : चर्च ब्वाइज शीर्ष स्थानमा

नेपालखोज २०८० वैशाख २७ गते १९:४८

काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च ब्वाइज क्लब शीर्ष स्थानमा फर्किएको छ ।

एन्फा मैदान सातदोबाटोमा आज भएको खेलमा चर्च ब्वाइजले मच्छिन्द्र क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा फर्कन सफल भएको हो ।

चर्च ब्वाइजको जितमा अन्जन विष्टले एक गोल गर्दा अर्को गोल उपहार पाएको थियो । मच्छिन्द्रका लागि ओमोलाजा करीमले पेनाल्टीमार्फत एक गोल गरेका थिए ।

चर्च ब्वाइज ३० अंक सहित शीर्ष स्थानमा छ भने मच्छिन्द्र २४ अंक सहित तालिकाको चौथो स्थानमा छ ।

त्यस्तै, आज भएको अर्को खेलमा एपीएफ क्लवले आर्मी फुटबल क्लबमाथि सहज जीत हासिल गरेको छ । दशरथ रंगशालामा भएको खेलमा एपीएफले आर्मीलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

अर्मान्ड विडोङ्गले खेलको ४० औं मिनेटमा आर्मीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५५ औं मिनेटमा आभाष लामिछानेले एपीएफको अग्रतालाई दोब्बर बनाउने काम गरे ।

त्यसको ६ मिनेटपछि नविन लामाले गोल गर्दै एपीएफलाई फराकिलो जित दिलाए । जीतसंगै एपीएफ २२ अंक जोडेर तालिकाको छैटौं स्थानमा उक्लिएको छ । आर्मीको २१ अंक छ ।

प्रतिक्रिया