बिहीबार, वैशाख १३, २०८१

यस्ता छन् हिँड्नुको फाइदा

नेपालखोज २०८० वैशाख २९ गते ५:४३

मुटुसँगै सम्पूर्ण शरीरलाई स्वस्थ राख्न चाहने हो भने नियमित मर्निङ वाक उत्तम उपाय हो । हिप्पोक्रेट्सले भनेका छन्– हिँड्नु नै उत्तम औषधि हो । किनभने हिँड्नु यस्तो सजिलो, पहुँचयोग्य र सरल व्यायाम हो जुन हामीले चाहेको बेला गर्न सक्छौँ।

हिँड्नु सामान्य गतिविधि जस्तो लाग्न सक्छ तर यसले दिने परिणाम सामान्य छैनन्। यसले मुटुलाई बलियो बनाउँछ, उच्च रक्तचाप कम गर्छ, हड्डी बलियो बनाउँछ भने यसका अन्य धेरै फाइदा पनि छन्। हिँडेर सबै शारीरिक रोगहरूबाट मात्र मुक्त हुन सकिँदैन आफ्नो मानसिक स्वास्थ्यमा पनि सुधार ल्याउन सकिन्छ ।

त्यसैले हिँड्नु सधैँ लाभदायक सम्झौता हो। एउटै गतिमा – ​​सहरी क्षेत्रमा हिँड्नुको सट्टा हरियो क्षेत्रमा ९० मिनेट पैदल हिँड्दा मानसिक स्वास्थ्यमा सुधार आउँछ । एउटा अध्ययनमा स्ट्यानफोर्ड युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले सहरी क्षेत्रको तुलनामा हरियाली भएको क्षेत्रमा पैदल यात्रा गर्दा मस्तिष्कमा डिप्रेसनसँग सम्बन्धित गतिविधि घटेको निष्कर्ष निकालेका छन् ।

दिनमा ३० मिनेट हिँड्दा वा व्यायाम गर्दा महिलामा स्तन क्यान्सरको जोखिम ३० देखि ४० प्रतिशतले कम हुन्छ । नियमित व्यायामले पुरुष र महिला दुवैमा कोलोन क्यान्सरको जोखिम पनि कम गर्छ। हप्तामा ९ किलोमिटर हिँड्दा स्ट्रोक र हृदयघातको जोखिम ३१ प्रतिशतसम्म कम हुन्छ । यसका लागि दैनिक १.३ किलोमिटर हिँड्नुपर्छ ।

खाना खाएपछि १० मिनेट हिँड्दा पाचन क्रिया पनि स्वस्थ रहन्छ र यो तौल घटाउन पनि सहयोगी हुन्छ । ३० मिनेट छिटो हिँड्दा अर्थात् एक सेकेन्डमा दुई पाइला हिँड्दा फोक्सोको क्षमता बढ्छ । ७० देखि ८९ वर्ष उमेरका मानिसहरूमा गरिएको एक अनुसन्धानले सानै उमेरदेखि दैनिक हिँड्नेहरूमा अरूको तुलनामा शारीरिक अपाङ्गताको जोखिम २८ प्रतिशत कम हुने निष्कर्ष निकालेको छ।

हप्ताको ५ दिन दैनिक २० मिनेट हिँड्दा रुघाखोकी वा ज्वरोजस्ता सामान्य रोगको जोखिम ४३ प्रतिशतले घट्छ । १५ मिनेट हिँड्दा चकलेट वा मिठाई खाने इच्छालाई कम गर्न सकिन्छ । यदि लक्ष्य तौल घटाउने हो भने त्यसको सबैभन्दा राम्रो उपाय हिँड्नु हो ।

खाना खाएपछि १० मिनेट हिँड्दा यसले टाइप-२ मधुमेहमा स्नायु र मिर्गौलालाई क्षति हुनबाट जोगाउँछ। दिनमा ३० मिनेट हिँड्दा उत्पादकत्व ६० प्रतिशतले बढ्छ । ३० मिनेट हिँड्दा महिलामा मस्तिष्क घातको जोखिम २० देखि ४० प्रतिशतले कम हुन्छ ।

स्रोत / साभार : अमेरिकन काउन्सिल अन एक्सरसाइज वाकिंग टूलकिट, वेबएमडी, ब्रिटिस जर्नल अफ स्पोर्टस मेडिसिन, जर्नल अफ अमेरिकन मेडिकल एसोसिएसन ।

प्रतिक्रिया