भारतीय बिरामीको सहारा केन्द्र बन्दै ठोरी गाउँपालिकाको आँखा अस्पताल

पर्सा । पर्साको पश्चिमी सिमानास्थित ठोरी गाउँपालिकाको आँखा उपचार केन्द्र भारतीयहरूको सहारा केन्द्र बन्दै गएको छ । भारतको बिहार तथा उत्तर प्रदेशको सिमावर्ती क्षेत्रमा कम अस्पताल र त्यसमा पनि आँखाको व्यवस्थित अस्पताल नभएका कारण यो अस्पताल भारतीयको सहारा बन्दै गएको हो ।
२०७२ सालको विनाशकारी भूकम्पकै स्थापना भएको यो अस्पतालले प्रदान गर्ने गुणस्तरीय सेवाप्रति भारतीय बिरामी विश्वस्त हुन थालेका हुन् । यही विश्वासका कारण भारतको बिहार, पश्चिमी चम्पारणका आँखाका बिरामी आउने गरेका छन् ।
चम्पारणका भिखनाठोरी, अमोलवा, नरकटियागन्ज, बेतिया, बगहालगायत उत्तर प्रदेश राज्यका समेत बिरामीहरू आँखाका विभिन्न रोगको उपचारका लागि आउने गरेका छन्।
हीरालाल–सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थान भरतपुर आँखा अस्पतालद्वारा सञ्चालित यो आँखा केन्द्र स्थापना कालदेखि नै भारतीय बिरामीको सहारा बनेको हो । अस्पतालमा मोतियाबिन्दुको शल्यक्रियादेखि मासु पलाएको, नलीको शल्यक्रियालगायत विभिन्न उपचार हुने गरेको छ। यही कारणले पनि सेवा लिने भारतीयको क्रम दिनप्रतिदिन बढ्दै गएको अस्पतालले जनाएको छ ।
अस्पतालमा १ जना चिकित्सक, १ नर्स, आर्मेसिर अप्टिकका २ जना असिसटेन्ट, अपर्थोमिक असिस्टेन्ट २ जना र कार्यालय सहयोगीलगायत १० जना स्टाफले सेवा प्रदान गर्दै आएका छन् ।
आइतबारदेखि शुक्रबारसम्म ओपिडीबाट आँखाको चेकजाँच गरिनुका साथै बिरामीको चांपअनुसार बुधबार, बिहिबार र शुक्रबार मोतियाबिन्दुलगायत विभिन्न रोगको शल्यक्रिया गरिने गरिएको डाक्टर चन्द्रबहादुर श्रेष्ठले बताए ।
हप्तामा ३० देखि ५० जनासम्म बिरामीको शल्यक्रिया हुने गरेको अस्पतालले जनाएको छ । यो अस्पातालबाट सेवा लिन आउने लगभग ८० प्रतिशत बिरामी भारतीय भएको डा. श्रेष्ठको भनाइ छ ।
प्रतिक्रिया