रास्वपाले गर्यो कृषि विज्ञ राईसँग जोडेर लागेको आरोपको खण्डन

काठमाडौं । किशोरकिशोरीमाथि यौन दुव्र्यवहारको आरोप लागेर पक्राउ परेका कृषि विज्ञ मदन राईसँग जोडेर सामाजिक सञ्जालमा आलोचना बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले ध्यानाकर्षण जनाएको छ ।
महामन्त्री डा. मुकुल ढकालले विज्ञप्ति जारी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीसँग कृषि विज्ञ मदन राईको सम्बन्धका बारेमा आएका प्रश्न र प्रतिक्रियाहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीले भाद्र ११, २०७९ मा खुला मञ्चमा गरेको उपत्यका भेलामा उहाँलाई अतिथि वक्ताका रुपमा स्थान दिइएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यसमेत नरहेका राईलाई अध्ययन र अनुभवले कृषि विज्ञका रुपमा निम्ता गरिनु तत्कालिन अवस्थामा अस्वभाविक थिएन । सो कार्यक्रम पश्चात् राष्ट्रिय स्वतन्त्र पार्टीसँग मदन राईको कुनै पनि किसिमको सम्बन्ध नरहेको जानकारी गराउँदछौँ ।’
सामाजिक सञ्जालमा राईलाई रास्वपाको केन्द्रीय सदस्य भएको र सामाजिक अपराधमा जोडिएको भन्दै आलोचना भइरहेको छ ।
रास्वपाले मदन राईले किशोर किशोरीसँग गरेको दुव्र्यवहार निन्दनीय भएको र उनलाई कानुन बमोजिम कारबाही हुनु पर्ने बताएको छ ।
कृषि सीपमूलक शिक्षालाई जोड दिदै खोटाङमा विद्यालय सञ्चालन गर्दै आएका कृषि विज्ञ राईले किशोरीहरुलाई यौनसँग जोडेर अस्वभाविक व्यवहार देखाएको भिडियो र समाचार प्रकाशन भएपछि उनलाई खोटाङ प्रशासनले पक्राउ गरि अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया