सोमबार, वैशाख ३१, २०८१

निधार

सुदिप दाहाल २०८० वैशाख ३० गते १४:३०

उडेका चराहरुको कैद सपना लेख्न सक्छ
लेख्न सक्छ एउटा मान्द्रोको बिम्बमा निधार
ऊ आफ्नै प्रियसीको केशलाई
तरुनी पहाडको झरनासँग तुलना गर्नसक्छ ।

उधारेर जिन्दगीको छाती
मुटुलाई पत्थर लेख्न सक्छ ऊ
या लेखिदिन सक्छ पत्थरको पनि मुटु
मायालाई घाउ लेखि दिनसक्छ,
घाउलाई माया लेखि दिनसक्छ ।

कहिल्यै नबसेको चौतारोलाई
कहिल्यै नतरेको नदीलाई
कहिल्यै नदेखेको भगवानलाई
कहिल्यै नभोगेको दुःखलाई लेखिदिन सक्छ ऊ ।

तिमीलाई नछोएर पनि
लेखिदिन सक्छ तिम्रो ओठको स्पर्श
तिमीलाई नहेरेर पनि
बयान गर्न सक्छ तिम्रो सौन्दर्य ।

ऊ लेखिदिन सक्छ
तिमीले नै नदेखेको तिम्रो कुरा
आफैले नदेखेको आफ्नो बुढ्यौली
लासको पनि जिन्दगी लेखिदिन सक्छ
अफसोच,
तिम्रो कवि
यी सब कुरा लेखेर पनि
आफ्नो निधार लेख्न कहिल्यै सक्दैन ।

प्रतिक्रिया