शनिबार, वैशाख २९, २०८१

‘म गाउँछु केवल जनताको लागि गाउँछु, जनताले मन पराउञ्जेल म गाइरहन्छु’

प्रकाश सायमि २०८० भदौ ३० गते १४:५८

सन् १९९० को हाराहारिमा गायक एवम् संगीतकार नारायणगोपालले १२०० जना दर्शक अट्ने प्रेक्षागृहमा भनेको यो कुरा आज बाइसवर्षपछि पनि त्यत्तिकै श्वेत र शाश्वत छ जति हिउँको चिसोपन वा घामको उज्यालो । गायक नारायणगोपालले आफ्ना जनता भनेर कुन पार्टी वा कुन वर्ग वा कुन जात भनेर उनले कहिले छुटाएनन् । उनले गाए, ती सबैका लागि जो नेपालीभाषामा गाइएको नेपाली बोलीको गीत वा गायन सुन्न चाहन्थे ।

नारायणगोपालको स्वरमा महाकवि देवकोटा देखि नोरदेन रुम्बा सम्म त्यतिकै सहज र सरल रुपले, त्यतिकै सुमधुर र सुललित शैलीले गुञ्जिए र उनी जनजनका हृदयमा एकनाश बजिरहे । त्यो सौभाग्य धेरै कम नेपालीलाई मिल्यो । उनका समकालीन प्रेमध्वज प्रधान, बच्चुकैलाश, माणिकरत्न, अम्बर गुरुङ, तारादेवी, दिलमाया खाति, अरुणा लामाका गीत पनि नगुञ्जिने होइनन् तर नारायणगोपालका गीत त उनकै गति र शैलीमा गाएर स्थापित भएका कलाकारले पनि अझै गाउन छोडेका छैनन् ।

नारायणगोपालीय शैलीय गीत गाएर अग्रता पाएका गायकमा किरण प्रधान, ओम गुरुङ, रामकृष्ण ढकाल, उदय सोताङ, शैलेश सिंह, देवकुमार प्रधान, मनोज सेवा, सुरज थापा कायमै छन् भने आफ्ना सयौँ गीत रेकर्ड भइसक्दा पनि गायक रामकृष्ण ढकालले त अझै जीवन धान्नका लागि नारायणगोपालकै गीत गाइरहेको इतिहास छ , उनले हालैका दिन(गत फागुन ५ गते) पनि सिभिल महलमा स्वरसम्राट नारायणगोपालमा ट्रिब्युट भनेर व्यापारिक प्रयोजनका निम्ति गाए । यो एउटा उदाहरण मात्र नभई जीवन्तताको सादर पक्ष हो ।

नारायणगोपालले गाएका गीत साहित्यिक हुन्छन्, शब्दमा उच्चाकर्षण हुन्छ, प्रेम र वियोगका भाव हुन्छन्, अनेकानेक लेबलका लेप लागे पनि वास्तवमा नारायणगोपालका गीत कालजयी हुनुमा उनको गायकीयमा समकालीकता स्वाद अपार हुन्छ, उनले सदैव समय, जीवन र त्यसको सामयिकतालाई महत्वका साथ गाएका छन् । उनको गायन र संगीतमा समकालीन समय स्थिर हुन्छ । चालीसौँ नाटक र दसओटा उपन्यास लेखिसकेका जर्मनेली चिन्तक हरमन बाहर्ले सयौँवर्षअगि भनेका रहेछन्, अब हाम्रो जिम्मेदारी भनेको समकालीन हुनु हो ।

हरमन बाहर्ले भनेको यो कुरा विश्वका धेरै गायक गायिकाले बीसौँ शताब्दीमा अवलम्बन गरेको पाइन्छ, ती चाहे बेलायतका जोन लेनन हुन वा अमेरिकाका बब् डायलन् , क्यानडाका लियोनार्डो कोहेन हुन् वा ब्रायन आदम्स् । तिनले गाएका गीतलाई तिनको समयका तन्नेरीलाई जति युवापन लाग्थ्यो त्यति नै तिनको गीतसितै जन्मेका बालकलाई पनि युवा लाग्नु स्वाभाविकै हो ।

यसवर्ष अमेरिकाको बेभेर्ली हिलटप होटलमा प्राणान्त भएकी अमेरिकी अश्वेत गायिका व्हिट्नी ह्युस्टनको एन्ड आइ अलवेज लभ यू उनी भन्दा बीसपछि जन्मेकी गायिका जेनिफर हड्सनले गाउँदा गायिका ह्युस्टनसितै हलभरिका दर्शक एकसाथ उठेका थिए अनि ताली र आँसुले बर्सेका थिए …..श्रद्धेय गायिका माथि । यो एउटा गीत को समकालिकाता माथिको सफल संकेल हो ।

नारायणगोपाल, व्हिट्नी ह्युस्टन वा बीटल्सका जोन लेननले गाएका कुनै पनि गीतका शब्दमा अर्थ वा प्रसँग केलाएर हेर्ने हो भने त्यो आजकै कुरा हुन जान्छ … सावनको झरी बनी तिमी आऊ न होस् वा इम्याजिन देअर इज नो हेभेन । ब्लोइँग इन द विन्ड होस् वा केही मिठो बात गरौँ । तिनलाई मानवमनको कुरा गरेकै छन् तर झरनामा बसेर कल्पनाको गीत गाउने भावुकताले हाम्रा गीत मारिएका छन् ।

धर्मराज थापाले गाएको नेपालीले माया मार्यो बरि लै, वा अम्बर गुरुङले गाएको नौलाख तारा उदायो आज पनि नेपाल र नेपाली ती जो जहाँ भएपनि तिनकै लागि गाइएको भान हुन्छ तर आज वा अहिलेको समयमा गाइएका कैयन् गीत न हिजो का थिए न भोलिका भएका छन् । गिने चुनेर केही गायक गायिकाले नयाँ र नौलो स्वादका गीत गाएपनि प्रायःले पाँच कारणले गाइरहेको पाइन्छ,

पहिलो कारण: चर्चामा आउन वा सफलता हासिल गर्न केही चलनचल्तिका शब्दमा गाउने । कम समयमा छिटो ख्याति कमाएर पत्रत्रिकाको आवरणमा छाउने र काँचको पर्दामा सजिनु मात्र भएको छ ।

दोस्रो कारणः आफ्नै दुःखलाई कारण वा माध्यम बनाएर मन सन्तोकको लागि गाउनु जसलाई शौखिया गायनभन्दा फरक रुपमा लिन सकिँदैन त्यसलाई पनि संगीत बजारले गम्भिरतापूर्वक लिइदिएर अर्को सङ्कट देखापरेको छ ।

तेस्रो कारणः सामान्य भए पनि यो कारण अलि जटिल हुन पुगेको छ । केही सङ्गीत अध्ययन गरेका र बुझेकाले अग्रजकै सिको गरेर उनकै गम्भिर शैलीका गीत गाउने र भरसक्य त्यही बोझिलो गीतलाई समयको ठीक विपरीत रुपमा लाद्ने क्रम चलेको छ भने अर्कोतिर स सङ्गीतको ज्ञानसम्म नभएका गायक गायिकाले असही तरीकाले पहिलेका चलेका गीतलाई बाँगोटिँगो रुपान्तरण गरी कभर भर्सन वा रिमिक्स गाउने चलन प्रशस्त छ । जसमा अरुण थापा, दीपक खरेल, नारायणगोपाल, तारादेवीका गीत अचानोमा परेका छन् ।

चौथो कारणः नेपाली भाषा, संस्कृति र साहित्य केही होइन सबथोक पश्चिमा जगतकै सही हो भन्ने धारणाका साथ कानमा टप र आँखामा इयरिँग लगाएर नेपाङग्रेजी शैलीमा अधुनातन शैलीमा गीत गाउने अनुकरणीय परम्पराले नेपाली सुगम सङ्गीत अपार संकटमा परेको छ, यस्तो गीतले न हाम्रो भाव र भाषाको सम्बद्र्धन गर्छ न प्रतिस्पर्धामा हाम्रो गीत तिनको गणित र व्याकरणको अंक र अर्थको नजीक नै पुग्न सक्छ ।

पाँचौ कारणः नेपाली सुगम सङ्गीतको बजारलाई पक्षाघात गर्ने अहिलेको प्रमुख पक्ष हो, समकालीन सङ्गीतको स्वाद नबुझेका निजी टेलिभिजनका च्यानलहरू । जसले पच्चीस हजार लिएर आओ म्युजिक भिडियो बनाओ भनेर शुरु गरेको प्रोजेक्टबाट आज पाँच लाख लिएर आउनोस् भन्न थालिसके । आज एउटा म्युजिक भिडिओ बनाउने रकमले दुईओटा अल्बम रेकर्ड हुन सक्ने यथातथ्य स्पष्ट भइसकेको छ र तिनकै बल बुतामा टीभी च्यानलमा छाउने लोभले कैयन कलकारहरू गीत गाइरहेको पाइन्छन् ।

उपर्युक्त कारण एक प्रसव वेदना भइकन पनि यस संकटबाट पार लागेर टिकेका केही कलाकार अझै पनि संगीत पेशामै छन् तर तीमध्ये अधिकाँश विदेशमा गएर गानाबजाना र त्यसैबाट खाना खजाना जुटाउनमा व्यस्त छन् भने कतिले सिँगापुर, मलेशिया, जापान, अमेरिका, अष्टेलिया र क्यानडामा बसेर गाइरहे पनि आफ्नो बजार बनाउन सकेका छैनन् । ती केहीले आफ्नो स्वरलाई हिन्दी, पञ्जाबी र उर्दू भाषाका गीत गाएर बेचिरहेका छन् , विदेशकै बजारमा ।

नेपाली कलाकारले जहाँ गएर गाए पनि उनका दर्शक वा स्रोता नेपाली नै रहेको पाइन्छ । र, नेपालीले नै उनको गीत सुन्ने र बुझ्ने आम भनाई छ । उनले नेपालीमा गाएको गीत कुनै विदेशीले सुन्ने र फर्मायश गर्ने गरेको इतिहास अद्यापी शुरु भएको पाइँदैन । किनकि दीप श्रेष्ठ, नारायणगोपाल, बच्चुकैलाश, दीपक खरेलका गीत सुनेर हुर्केका नेपाली संगीतका अनुभावकले नेपाली भाव र भव्यतालाई प्रेमपूर्वक मनन गरेको त पाइन्छ तर पाकिस्तानी गायक नुसरत फतेह अली खान, मेहन्दी हसन, गुलाम अली वा भारतीय कलाकारले जस्तो विदेशी दर्शकलाई आफ्नो पहिचान दिन नेपाली कलाकारले सकेका छैनन् ।

बिदेशी दर्शक वा स्रोता परै जाओस्, नेपाली गायक कलाकारले नेपाली दर्शकका सामू आफ्नै गीत गाएर उभिने अवसर कमै पाउँछन् , त्यसको प्रमुख कारण हो समकालिकताको संकट । अहिलेका पुस्ताका गायक नेपालीहरु बसोबास गर्दै आएको विदेशी भूमिमा पुगेर कुनै कार्यक्रम वा कन्सर्ट गरे भने आफ्नो भन्दा पनि पुराना कालजयी गीत गाउन वाध्य हुन्छन् जुन अहिलेका गायक गायिकाको आफ्नो पहिचान गीत नुहुनु प्रमुख कारण मात्र नभइ उनले गाउने गरेका गीतसित ती गीत सुन्ने दर्शक वा स्रोताको अतीत वा अस्तित्व गाँस्सिएको नपाइनु हो ।

नेपालबाट विदेशमा गएर कार्यक्रम गर्दा आफ्नै गीत र आफ्नै स्वरमा उभिने मौका पाउने कमै गायक मध्ये दीप श्रेष्ठ पर्दछन् ,उनले हालैका दिनमा अष्ट्रेलियाको मेलबर्न, ब्रिस्बर्न र सिड्नीमा आफ्नै गीत गाएर साप्ताहिक कार्यक्रम गरे । उनले तीस दशकको आफ्नो गीत वितेका कुराले केही चोट लाग्दा देखि भन्थि मेरी उनी मेरो पाइला नछेकिदिनु जस्ता गीत गाएर आफ्नो शो धानेका छन् भने उनी पछि आएका गायक गायिका आनी छोइँग डोल्मा, न्ह्यू बज्राचार्य, उदय, मनीला, कर्णदास, नेपथ्यका अमृत गुरुङ, एम बराल, सपनाश्री, राजेशपायल राई, प्रशान्त तामाङ, अञ्जु पन्तले कतिपय आफ्ना र कतिपय अग्रजका गीत गाएर धर्म निर्वाह गर्नुपरेको कुपित कथा छ ।

तर गीत नबुझिने, भाषाले पर हुने वा समयको माग अनुसार फरक हुने कदापि होइन । नभए नेपालमा गजल परम्परा भित्र्याउने पाकिस्तानका ख्यातिप्राप्त गजल गायक मेहन्दी हसनको एकल साँझ काठमाण्डूको प्रज्ञा प्रतिष्ठानमा कसरी तीन हप्ता सम्म सफलतापूर्वक सम्पन्न हुन स

क्थ्यो त ? कसरी गुलाम अली, अनुप जलोटा यहाँ घरि घरि हिन्दी ऊर्दूका गजल गीत नज्म प्रस्तुत गर्न आउन सक्थे त ? एउटा शुभजन्मोत्वस गोल्ड कप गर्दा हल भर्न हम्मे हम्मे पर्ने नसकिने दशरथ रंगशालाको हल कसरी क्यानेडेली गायक ब्रायन आदम्स्ले अँग्रेजी गीत गाएर भर्न सक्थे त ? कसरी जापानी साँगीतिक समूहले दशरथ रंगशालाको स्टेडियमलाई तीसको दशकमै उचाल्ने गरी नै भर्न सक्थे त ?

त्यो सम्भव छ तर हाम्रा गायक–गायिकामा वा हाम्रो संगीत संरचनामा समकालिकताको भाव र स्वभाव हुन जरुरी छ । पुरस्कार र वाहवाहीको लागि, पार्टी र झन्डाको लागि मात्र नभइ उसको स्वर स्वरसम्राट नारायणगोपालले भने झैँ जनजनको हृदयको लागि नै हुन जरुरी छ । तर आजभोलि एउटा गीत गाउनु भनेको एउटा अल्बम निकाल्नु अनि एउटा चलेको टेलिभिजनका भिजेलाई लिएर म्युजिक भिडिओ बनाउनु र एकवर्षको कन्ट्र्याक्टमा मञ्चस्थ हुनु मात्र भएको छ त्यसपछि त्यो गायक वा गायिकाको नामोनिशान हुँदैन ।

त्यो चाहे भीम तुलाधर होस् वा नवीन के भट्टराई, निलञ्जना भट्टाचार्य होस् वा सुनील उप्रेति , राजु लामा होस् वा इन्दिरा जोशी । पाँचवर्षपछि उनको नाम लियो भने स्रोता झुकिने छन् , यो खेलाडीको नाउँ हो कि गायकको, भन्नै सक्दैनन् । यस दुविधाबाट उठ्न अब एकपटक नेपाली संगीतकर्मीले सच्चा हृदयले संगीत सृजना गर्नुपर्छ ।

त्यो संगीत मन, वचन र कर्मले अनि हृदयले धुनबद्ध हुनुपर्छ जसले नेपालीपनको पहिचान दिन र समकालिकताको आभाष दिन सक्नेछ । कवि डायलन थोमसले भनेझैँ, एउटा सुन्दर विहानको कल्पना गर्ने बेला अब भइसकेको छ ।

गीत अब भिडिओ प्रोजेक्ट नभएर साँचो अर्थमा म्युजिक प्रोजेक्ट हुन जरुरी छ ।

प्रतिक्रिया