बुधबार, जेठ २, २०८१

कोजाग्रत पूर्णिमाको हार्दिक मंगलमय शुभकामना !

लोकेश ढकाल २०७९ असोज २३ गते २२:०३

नेपाली प्रजातान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व, प्रथम जननिर्वाचित प्रधानमन्त्री, (नेपाली राजनीतिमा राजनेताले सम्मान गर्न योग्य एकमात्र व्यक्ति) राजनेता बीपी कोइरालाले २०३३ साल पौष १६ गते ८ वर्ष लामो भारतको निर्वासित जीवनलाई परित्याग गरेर राष्ट्रिय एकता र मेलमिलापको लागि आह्वान गर्दै नेपाल फर्किएपछि ०३४ सालको कोजाग्रत पूर्णिमाको दिन विशेष चियापान समारोहको आयोजना गर्ने परम्पराको थालनी गर्नु भएको थियो ।

राष्ट्रियतालाई वलियो बनाउन र प्रजातान्त्रिक आन्दोलनको पक्षमा राजनीतिक माहोल निर्माण गर्न प्रजातान्त्रिक एवम् राष्ट्रवादी शक्तिका बीच मेलमिलापको वातावरण निर्माण होस् भन्ने उद्देश्यले बीपीले चियापान सनारोह आयोजन गर्ने परिपाटी बसाल्नु भएको हो। उहाँको निधनपछि सर्वमान्यनेता गणेशमान सिंह, किसुनजी लगायतले यो परम्परालाई धान्दै आएका थिए ।

काँग्रेसले गोजाग्रत पूर्णिमाको दिन हरेक वर्ष चियापान समारोह आयोजना गर्दै आएको र यसको विशेष राजनीतिक प्रभाव परेको कारण ०४६ पछि एमाले लगायतका अन्य दल र सामाजिक संस्थाहरूले पनि यो सिको गर्दै विभिन्न सन्दर्भमा चियापान समारोह राख्ने परिपाटी बसेको छ ।

चुनावी चटारो र अनिच्छाले यस पटक काँग्रेसले चियापान कार्यक्रम आयोजना गरेन । हिजो जुन उद्देश्यले चियापान कार्यक्रम राखिन्थ्यो अब त्यसको सन्दर्भ पनि सकियो । एकातर्फ काँग्रेसले आफ्ना फाउण्डिंग सिद्धान्त बीपीका विचारलाई छोडेर सत्ता स्वार्थबाट अभिप्रेरित हुँदै बामपन्थी भाषमा फस्दै प्रचण्डसँग सत्तासौदावाजी गरिसके पछि आज चियापान कार्यक्रन गर्नु फगत विरोलो बाँदेर शराद्ध गरे जस्तै हो भने अर्कातर्फ विगतमा बीपी, गणेशमानजी, किसुनजी जस्ता उच्च नैतिक छवि भएका जनप्रिय नेता थिए, पार्टीले लिएको विचार चिन्तनको मार्ग पनि सफा थियो, त्यस कारण त्यस वेला आयोजना हुने चियापानको आम जनता र कार्यकर्तीमा विशेष आकर्षण थियो । तर आज त्यो आकर्षण रहेन ।

नेपाल बहुजातीय, बहुधार्मिक, बहुसाँस्कृतिक, बहुभाषिक राष्ट्र हो भन्नेमा कुनै सन्देह छैन । नेपालीका आफ्नै मौलिक भेषभूषा सहितका विविधता राष्ट्रिय पहिचान हुन् । आम नेपाली जनतामा निहित बन्धुत्वभावले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको थियो । विविधता बीचको एकता नै नेपालीको विशेषता हो ।

नेपालीहरूको सबैभन्दा ठूलो चाड दशैँले हामी बीचको एकतालाई अझ मजबुत बनाउँदै आएको हो । तर तथाकथित परिवर्तन अग्रगमनका नाममा देशलाई जनताको इच्छा विपरीत वलजफ्ति रूपमा धर्मनिरपेक्ष राष्ट्र घोषणा गरे पछि मुलुकको मौलिक धर्म, संस्कृति र यस्ले निर्माण गरेको राष्ट्रिय एकताको धरोहरलाई भत्काउँदै लगेको छ ।

विदेशी धर्म र सँस्कृतिको अतिक्रमण डरलाग्दोसँग बढिरहेको छ । यसबाट हिन्दू एवम् बौद्ध धर्म र सँस्कृति खतरामा पर्दै गएको छ । हामीले हिन्दूहरूको महान पर्व बडादशैं मनाइरहँदा यस तर्फ पनि गम्भीर भएर सोच्ने र मनन गर्न ढिला भैसकेको छ । नेपाली राजनीति अहिलेको जस्तै भ्रष्ट बाटोमा अगाडि बढिरह्यो, जनता सचेत भएनन् भने नेपाली धर्म संस्कृति र हाम्रा मौलिक नेपाली पहिचान नस्ट भएर जानेछ र देशको अस्तित्व माथि नै आँच आउन सक्छ।

राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता एवम् राष्ट्रियताका दृष्टीले हाम्रो देश नेपाल यतिखेर इतिहासको सबैभन्दा चुनौतीपूर्ण एवम् गम्भिर मोडमा उभिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भए पछि गएको बैशाख ३० गते दोस्रो स्थानीय तहको निर्वाचन सम्पन्न भई हामी दोस्रो संघीय एवम् प्रदेश संसदको निर्वाचनको सम्मुख आइपुहेका छौं ।आउँदो मंसीर ४ गते निर्वाचनको हुँदैछ । उमेद्वारहरूले निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि उमेद्वारी मनोनय दर्ता गरेका छन् ।

आवधिक निर्वाचन प्रजातान्त्रिक शासन पद्धतिमा अनिवार्य सर्त हो । निर्वाचनप्रति आम जनतामा कुनै विशेष चासो वा उत्साह छैन । जीवनभर प्रजातान्त्रिक आन्दोलनमा लागियो । संघर्ष गरियो । पार्टीको एक वफादार कार्यकर्ता भएर काम गरियो । पार्टीले न्याय गरेन । टिकट दिएन । टिकट नपाउदा अलिकचि पनि विस्मित वा विचलित हुने कुरा छैन । यो भोरजुवावाला चुनावमा टिकट नपाएकोमा उल्टो मन हलुका भएको छ । यस्तो अनुभव हुने वातावरणमा यो निर्वाचन हुँदैछ ? यो कस्तो प्रजातन्त्रको हामी अभ्यास गरिरहेका छौं ? गम्भिर प्रश्न खडा भएको छ ।

नेपाली प्रजातन्त्रमा यो निर्वाचन भोरजुवा भएको छ । प्रायस् सबै राष्ट्रिय पार्टीमा विगतमा संघर्ष गरेका निष्ठावान कार्यकर्ता पार्टीबाट पाखा पारिएको छ । समानुपातिकमा आफन्त, पहुँचवाला, बलशाली र धनशालीहरूकै वर्चस्व छ भने प्रत्यक्ष तर्फ पनि त्यस्तै छ ।

पार्टीको निर्णयमा वितौलिया, ठेकेगार वर्चश्व छ । नेतत्वको असहिष्णुता, विवेकहीनता र विचारलाई पर्वाह नराखी सत्ताका लागि जोसँग पनि जस्तोसुकै सम्झौता गर्दा पार्टीको मौलिक सिद्धान्त र चरित्र भताभुङ्ग भएको छ।

आवधिक निर्वाचन सम्पन्न हुँदैमा वा कुनै एक दलले बहुमत ल्याउँदैमा पनि राजनीतिक स्थिरता हुने रहेन छ, प्रजातन्त्र फुल्ने र फल्ने रहेन छ । ०७४ को निर्वाचनमा नेकपाले बहुमत ल्याएको थियो तर देशको राजनीतिले के व्यहोर्नु पऱ्यो, प्रजातन्त्रको के कस्तो अवस्थामा अभ्यास भैरहेको छ, आमनेपाली जनताले राम्रोसँग बुझेका छन् ।

२०७४ को भन्दा अहिले राजनीतिक अवस्था अझ खराब छ । ४ मंसीरको चुनावपछि बिग्रिएको राजनीति सबै ठिक हुन्छ भन्ने कुनै सुनिश्चितता छैन । राजनीति अझ खराब बाटोमा जानसक्ने संकेतहरू पनि देखिंदैछ । त्यसैले चुनाव नै सबै थोक होइन । दल र तीनका नेताको व्यवहार र कार्यशैली सबै भन्दा महत्वपूर्ण कुरा हो । हाम्रा दल र तीनका नेताको मति सच्चिने सुध्रिने त कुनै सम्भावना नै छैन ।

हाम्राे राजनीतिक दलका नेतामा देशभक्तिको राजनीति भएन । सिद्धान्त, मूल्य, आदर्श र सदाचारको राजनीति पूरै पऱ्यो । सत्ताका लागि सबै चीज जायज भए । देश चरम भ्रष्टाचारमा डुब्यो । जसको कारण राजनीतिप्रति नै आम जनतामा चरम निराशा छाएको छ । आवधिक निर्वाचनले जनताको निराशालाई चिर्न सकेन, जन चाहनालाई सम्बोधन गर्न सकेन भने निर्वाचनको उपादेयता रहँदैन।

निर्वाचन केवल प्रविधिक कर्मकाण्डमात्र होइन, त्यसमाथि सिद्धान्त र विचार शुन्य बाटोमा अगाडि बढेर केवल सत्ता स्वार्थका लागि तालमेल र सेटिंग गरेर लडिने निर्वाचनले के नतिजा देला ? राजनीतिक दल लगायत प्रजातन्त्रका सबै अंगले ढंगसँग काम गरेमात्र निर्वाचनले देशलाई सही निकास दिन सक्दछ ।

प्रजातन्त्रलाई सुदृढ बनाउँदै देशको उन्नती गर्न राजनीतिक दल र तीनको नेतृत्व ठिक बाटोमा हिड्न जरूरी हुन्छ । दलहरू र तीनका कार्यकर्तामा प्रजातान्त्रिक संस्कार र संस्कृति हुन जरूरी छ, त्यसै गरी कार्यकर्ता र नेतृत्वमा सिद्धाननिष्ठ, इमान्दारिता, सदाचार र देशप्रेमको भावना हुनुपर्छ, जसको अहिले अभाव खड्किएको छ ।

त्यसैले त नेपाली राजनीतिले बाटो बिराएको छ । बाटो विराएको राजनीतिलाई कसरी ठिक मार्गमा ल्याउने रु भन्ने सवाल नै नेपाली राजनीतिको अहम प्रश्न हो । राजनीतिक दलहरू जनआन्दोलन, संविधान निर्माण र निर्वाचनका क्रममा जनतामाप्रति गरेको प्रतिवद्धता र बाँडेको सपना वमोजिम देशको नेतृत्व गर्न चुकेका छन् । असफल सिद्ध भएका छन् । देशमा न्यायालय प्रतिको भरोसा टुटेको अवस्था छ ।

जनताले निर्वाचनबाट गठन गरेको देशको सर्वोच्च जनप्रतिविधि संस्था संसदलाई दलहरूले नै निकम्मा वनाए। बढ्दो महँगी, भ्रष्टाचार र असुरक्षाले सिंगो देश आक्रान्त बनेको छ, यसबाट नेपाली जनता दिन दिनै निरास बन्दै गएका छन् । यी सबै समस्याको सम्बाेधन आउँदो निर्वाचनले गर्नेछ भन्ने मलाई विश्वास छैन ।

राजनीतिक दलहरूले नागरिकता जस्तो देशको अत्यन्त संवेदनशील विषयलाई राजनीतिक खेलवाडको विषय बनाउन हुँदैन थियो । नागरिकता विधेयकलाई लिएर राष्ट्रपति कार्यालय र संसदका बीचको द्वन्दले निकास पाएको छैन ।

यो विषयले निर्वाचनलाई प्रभावित गर्दैन भन्ने सुनिश्चितता छैन । अदालतमा विचाराधीन यो गम्भीर मुद्धालाई अदालतले केवल संविधानको अक्षरमा टेकेरमात्र निर्णय गर्न हुँदैन । संविधानभन्दा माथि देश छ भन्ने कुरालाई ध्यानमा राखेर नै यसको निरूपण गरिनुपर्छ भन्ने मेरो विचार छ।

‘महाकाली, महासरस्वती र महालक्ष्मी’ सबैको शक्तिको रुपमा रहेकी दुर्गा भवानीले हामी सबैको कल्याण गरुन् । हाम्रा सबै चाड पर्व संस्कृतिहरूलाई जोगाउन सकियोस् ! हाम्रो मैलिक धर्म र संस्कृतिलाई जोगाउन सकियोस् । देशलाई सम्वृद्धिको मार्गमा अगाडि बढाउन सकियोस् । देशको राष्ट्रियता बलियो बनाउन सकियोस् । प्रजातन्त्र बलियो बनाउँदै राजनीतिलाई स्थायित्व दिन सकियोस्, देश जोगाउन सकियोस ।

प्रतिक्रिया