गजल
नेपालखोज
२०८० वैशाख ३१ गते ७:१५

परजीवी आसैआसमा बाँचेको हुन्छ।
दास, मालिकको सासमा बाँचेको हुन्छ।।
देखिँदा सफा देखिन्छ कालो बजारिया,
तर, फोहोरको रासमा बाँचेको हुन्छ।।
राक्षसनै हो भनेर बुझ्नु त्यसलाई,
जो अरुको सत्यनासमा बाँचेको हुन्छ।।
डढ्दै गरेको शरीर हेरी रहन्छ ऊ,
अघोरी मरेको लासमा बाँचेको हुन्छ।।
सुखी छ भनी नठान्नु धनपतिलाई,
ऊ दिन-रात संत्रासमा बाँचेको हुन्छ।।
बिवेक बन्धकी नराखी जो बोल्न सक्छ,
त्यही मात्र”मान्छे” खासमा बाँचेको हुन्छ।।
- केशव आचार्य
सम्बन्धित
प्रतिक्रिया