शनिबार, असार २१, २०८२

नेपालमा बिफरको प्रकोप र यस विरुद्धको खोप

सुनील उलक २०८० जेठ १ गते ७:५७
सुनील उलक

मइ १४, १७९६ का दिन पहिलो पटक बिफर (small pox) विरुद्धको खोप पत्ता लागेको थियो । विश्वभर झैँ नेपाल पनि बिफरबाट आक्रान्त थियो । नेपालमा पनि बिफरको प्रकोप १२औँ शताब्दी देखि नै फैलिएको देखिन्छ ।

तःकै का रूपमा प्रख्यात बिफरको देवीका रूपमा शितला माजुलाई पूजा गर्ने गर्दथे । साथै तीन देवीहरू कछला माजु, शितला माजु तथा बछला माजु लाई पूजा गर्ने गरिन्थ्यो । बि.सं. १७२६ मा प्रताप मल्लको छोरा चक्रवर्तिन्द्र मल्लको निधन पनि तःकै बाट नै भएको भनिन्छ । तर कतै कतै हात्तीले कुल्चिएर पनि लेखिएको पाउँछौ ।

१७७२ मा पाटनका राजा महेन्द्र मल्लको देहावसान पनि बिफरबाट नै भएको थियो । शाहीकाल आए पछि राजा रणबहादुर शाहको पालामा यो रोग निकै फैलिएको थियो । केही सन्काहा राजा रणबहादुर शाहले त्यस बेला बालक युवराजलाई बिफर नलागोस् भनेर सहरमा भएका सबै बच्चालाई देश निकालाको घोषणा गरेका थिए ।

त्यस बेला राजाको आदेशका कारण धेरै बाबुआमा साना साना छोराछोरी लिएर रुँदै उपत्यका छोडेका थिए । त्यस बेला सैनिकहरूले पश्चिममा मर्स्याङ्दी र पूर्वमा तामाकोसी सम्म पछि लाग्दथे । यी दुई नाका कटाए पछि मात्र सैनिक फर्कन्थे । कथंकदाचित बाटोमा नै बालकको मृत्यु भएमा गाड्ने अनुमति पनि दिइँदैनथ्यो । नजिक रहेको नदीमा बहाउनु पर्दथ्यो ।

बि.सं. १८५६ मा रणबहादुरकी रानी कान्तावतीको निधन बिफरबाट नै भयो भने १८७३ को कार्तिकमा राजा गीर्वाणको निधन पनि बिफरबाट भएको देखिन्छ । १८७३ को सुरुवातमा पश्चिम नेपालमा महामारी रूपमा फैलन सुरु भएको बिफर रोग उपत्यका असार पछि फैलिएको थियो । त्यो समय नेपालमा हजारौँ मानिसहरूको मृत्यु भएको थियो । परिवारमा यस्तो सम्म त्रास फैलिएको थियो ।

एक सदस्यको सद्गति गरेर घर फर्कँदा अर्को घरमा सद्गतिका लागि लान तैयार भएको हुन्थ्यो । एकै दिन एकै परिवारको एक भन्दा बढी सदस्यको समेत मृत्यु हुने गरेको थियो । यता रानी कान्तावतीको निधन हुने समय युरोपमा बिफर विरुद्ध खोप दिन थालिसकेको थियो । नेपालमा पनि बेलायती रेसिडेन्टको आगमन भए पछि नेपालमा पनि बिफर विरुद्धको खोपको तैयारी भयो ।

१८७३ को असार १ गते र बेलायती रेसिडेन्ट एडवार्ड गार्डनरले भारतमा रहेका भाइसरायलाई पत्र लेखेका थिए । तर नेपालमा सरकारबाट सहजै अनुमति पाएन । तर पनि असोज १ गते काठमाडौँमा बिफरको खोप आइपुग्यो । यसै दिनबाट बनेपामा नेपालमा पहिलो पटक बिफर विरुद्ध खोपको सुरुवात भयो । धेरैले बिफर विरुद्धको खोप लिए ।

त्यस बेला राजा गीर्वाणले खोप लिन मानेनन् । जसले गर्दा उनको कार्तिकमा निधन भयो । पछि जङ्गबहादुर सत्तामा आए पछि बि.सं. १९०७ मा पुन उपत्यकामा बिफर विरुद्ध खोप लगाउन थालियो । आफ्ना छोराहरू तथा उच्च तहका राणाहरूका सन्तानमा बिफर विरुद्ध खोप लगाउन थालेको थियो ।

यस पटक बेलायती रेसिडेन्टका डाक्टर हेनरी ओलफिल्डले खोप लगाउन काम गरेका थिए । पछि श्री ३ वीरशम्शेरको समयमा बि.सं. १९४३ मा पनि उपत्यकाका केटाकेटीहरूलाई बिफर विरुद्धको खोप दिइएको थियो । यस पटक खोप दिनका लागि राजबैद्यहरुलाई नै विशेष तालिम दिइएको थियो । बि.सं. १९६० मा गण्डकी क्षेत्रमा बिफरको प्रकोप अत्यधिक भएको थियो ।

जसले गर्दा यस क्षेत्रमा ठुलो सङ्ख्यामा मृत्यु भएको थियो । बिफर लागेकाहरूलाई गाउँमा राख्दा अरूलाई बिफर सर्ने आशङ्कामा बिफर लागेकाहरूलाई जङ्गल नजिकै पाखाहरू तथा ‌ओडारमा राखिन्थ्यो । ती ठाउँलाई बिफरे खर्क तथा बिफरे ओडार भनिन्थ्यो ।

देशमा प्रजातन्त्रको आगमन भइसकेपछि फेरी पश्चिम नेपालमा बिफर फैलियो । यसले पनि ठुलो क्षति गरायो । २०२० सालमा अन्तिम पटक नेपालमा बिफरको महामारी फैलिएको थियो । यस पटकको महामारीमा पनि धेरैको मृत्यु भयो । यस पछि अमेरिकी सरकार तथा विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा नेपालमा पनि बिफर उन्मुलन अभियानको सुरुवात भयो । जसको कारणले नेपाल भर सात लाख खोप दिइयो ।

जसले बिफर रोग उन्मुलन भएको अनुमान गरियो । तर पछि २०३० मा गाउँ गाउँ डुलेर बिफर रोग लागेका बिरामीहरूको खोजी गर्दा करिब १३०० बिरामी फेला परे । यी सबैलाई खोप दिई निको बनाए पछि बि.सं. २०३४ को वैशाख १ गतेबाट नेपाल पूर्णरुपमा बिफर उन्मुलन भएको घोषणा गरियो ।

प्रतिक्रिया