शनिबार, जेठ ५, २०८१

मोटोपन गम्भीर स्वास्थ्य समस्या

नेपालखोज २०८० जेठ ४ गते ६:१५

मोटोपन एउटा जटिल रोग हो जुन जुनसुकै उमेरमा हुन सक्छ । यो रोगले वयस्क र बालबालिकालाई समान रूपमा असर गर्छ । डब्ल्यूएचओको परिभाषा अनुसार मोटोपन भनेको शरीरमा अत्यधिक वा असामान्य बोसो जम्मा हुनु हो । यसले स्वास्थ्यमा गम्भीर हानि पु¥याउन सक्छ । सरल भाषामा भन्नुपर्दा धेरै क्यालोरी खपत गर्दा एक व्यक्ति वा बच्चा मोटो हुन्छ । शरीरले क्यालोरीलाई बोसोमा परिणत गर्छ । व्यक्तिले खपत गर्ने क्यालोरी र विभिन्न शारीरिक क्रियाकलापका कारण नष्ट हुने क्यालोरीबीचको असन्तुलनका कारण मोटोपन बढ्छ । यसका धेरै कारण हुन सक्छन्, जस्तै व्यायाम नगर्ने वा अनियन्त्रित जीवनशैली । यसबाहेक मनोवैज्ञानिक, जैविक वा आनुवंशिक कारकहरू पनि मोटोपनका लागि जिम्मेवार छन् ।

मोटोपनको कारण :

आफूमाथि नियन्त्रण नहुँदा मानिस मोटोपनको शिकार हुने जनविश्वास छ जबकि यो पूर्णतया सही छैन । अक्सफोर्ड विश्वविद्यालयका एन्डोक्रिनोलोजीका प्रोफेसर जोन वासले द ल्यान्सेटलाई बताए अनुसार हामीलाई थाहा छ कि भोक र तृप्ति वंशानुगत रूपमा प्राप्त हुन्छ । मानिसको वजनको ७० प्रतिशत आनुवंशिक रूपमा निर्धारित छ । मोटोपन लामो समयसम्म चल्ने एउटा रोग (दीर्घकालीन रोग) हो र कुनै पनि व्यक्ति बारम्बार यसबाट पीडित हुन सक्छ । यसका धेरै कारणहरू हुन्छन् । मोटोपनका लागि जिम्मेवार कारकहरूलाई दुई भागमा विभाजन गर्न सकिन्छ ।

पहिलो आन्तरिक कारकहरू , जस्तै व्यक्तिको जैविक र आनुवंशिक अवस्था । दोस्रो बाह्य कारकहरू, जस्तै वातावरणीय र सामाजिक अवस्थाहरू, अर्थात् आय समूह, स्वास्थ्य सेवामा पहुँच, दिनचर्या वा व्यायाम । आनुवंशिकता, व्यायामको कमी, खानपिनको गलत बानी, मनोवैज्ञानिक समस्या, स्वास्थ्य समस्या, सामाजिक एवं आर्थिक अवस्था, औषधि, प्रदूषण र अन्य धेरै कुराहरूले मोटोपन बढाउन काम गर्छ ।

कुशिङ रोग, स्टेरोइड र केही एन्टीडिप्रेसेन्टहरू सहित अन्य औषधिहरूले पनि तौल बढाउन वा मोटोपन निम्त्याउन सक्छ । शरीरमा प्रभाव : शरीरमा अत्याधिक बोसो जम्मा हुनु र सामान्यभन्दा बढी तौल हुने कारणले शारीरिक काम गर्न समस्या हुन्छ । शरीरका धेरै जसो भागमा दुखाइ सुरु हुन्छ । ओस्टियोआर्थराइटिस (जोर्नीमा दुखाइ) पनि हुन सक्छ। मोटो व्यक्तिलाई राति श्वासप्रश्वासको समस्या पनि हुन सक्छ, जसलाई स्लीप एपनिया भनिन्छ । मोटोपनले टाइप टु मधुमेह, रक्तचाप, कोलेस्ट्रोल र रगतमा चिनीको मात्रा बढाउन सक्छ । यसबाट हृदयघात र स्ट्रोक हुन सक्छ । इन्डोमेट्रियल, एसोफेजियल, कलेजो, मृगौला र मलाशयसँग सम्बन्धित क्यान्सर पनि हुन सक्छ। मोटोपनले व्यक्तिको मानसिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । यसको प्रभाव भनेको व्यक्ति डिप्रेसन, चिन्ता वा कम आत्मसम्मान जस्ता लक्षणहरूबाट पीडित हुन सक्छ ।

प्रतिक्रिया