संसारमा सबैभन्दा बढी नासिएको वन

दक्षिण अमेरिकाको ग्रान चाको जङ्गलले जति खतराको सामना गर्नु परेको छ, विश्वको अन्य कुनै वनले त्यति खतरा सामना गरेका छैनन् । गाईबस्तु पाल्न र भटमास उब्जाउन यहाँ दैनिक रुख काटिन्छ । ग्रान्चाकोलाई चाक पनि भनिन्छ। यो अर्जेन्टिना, पाराग्वे, बोलिभिया र ब्राजिलका केही भागहरूमा फैलिएको दक्षिण अमेरिकाको दोस्रो ठुलो वन क्षेत्र हो।
यहाँको ग्रीष्म ऋतु धेरै तातो र आर्द्र हुन्छ भने जाडो हल्का र कहिलेकाँही धेरै सुख्खा हुन्छ। यहाँ विश्वव्यापी माग पूरा गर्न ठुलो खालको भटमास उब्जाउन तथा गाईबस्तुहरूका लागि फार्महरू बनाउन झाडी र रूखहरू काट्ने काम निरन्तर जारी छ । नूले पिलागा मूल निवासी समुदायको एक सदस्य हुन । उनी र उनका भाइ जोसे रोनाल्डो फर्नान्डेजले उत्तरी अर्जेन्टिनामा तरबूजा र आलुको खेती गर्छन्। दुवै प्रायः ग्रान चाकोको जङ्गलमा जान्छन्। त्यहाँका रूखहरू उनीहरूका लागि निकै महत्त्वपूर्ण छन्।
यो वनले स्थानीय जीवनको प्राकृतिक लय सेट गर्न मद्दत गर्दछ । त्यहाँका मानिसहरूलाई खाना, पानी र शीतलता प्रदान गर्दछ।यो दक्षिण अमेरिकाको कम जनसङ्ख्या भएको क्षेत्र मध्ये एक हो। जोस रोनाल्डो फर्नान्डेज आफैँ आलु उब्जाउँछन्। यहाँका रुखहरूसँग आफ्नो परिवारको सम्बन्ध लगभग आध्यात्मिक रहेको उनी बताउँछन् । उनकी बहिनी नुले भन्छिन्, “हामीले यी जङ्गलको भूमिकाको कदर गर्नुपर्छ। आदिवासीहरू यो जमिन हाम्रो घर हो भन्ने विश्वास गर्छन्। धर्ती हाम्री आमा हो किनभने हामी यसको सहयोगमा हुर्कन्छौँ र खाम्छौँ।”
मानिसहरूको विस्थापन
यद्यपि यो ठाउँ बढ्दो दबाबमा छ र केही अवस्थामा मूल बासिन्दा र साना-ठुला व्यापारीहरूलाई विस्थापित गर्दै छ । अर्जेन्टिना, ब्राजिल, पाराग्वे र उरुग्वे तथा युरोपेली सङ्घ बिचको नयाँ व्यापार सम्झौताले ग्रान चाकोबाट निर्यात बढाउन सक्छ। यसका लागि नयाँ नियमहरू लागू हुने सम्भावना छ। अर्जेन्टिनाको तथाकथित “२००७ को वन कानुन” सहित वन फडानी रोक्न धेरै देशहरूले आयात नियमहरू लागू गरेका छन्।
यस क्षेत्रका सबै मानिस रूख काट्ने कुराको विरुद्धमा छैनन्: केही स्थानीयहरू यस क्षेत्रमा रोजगारी सिर्जना गर्न कृषि निर्यात आवश्यक भएको बताउँछन्। यहाँको आधाभन्दा बढी जनता गरिबीमा बाँचिरहेका छन् । ग्रान चाकोमा बाख्रा चराउने किसान तेओफिला पाल्माले रोयटर्सलाई बताए अनुसार हालैका रूख कटानले स्थानीय जलवायुमा महत्त्वपूर्ण प्रभाव पारेको छ।
‘रुखहरू काटिएकाले तापक्रम बढेको छ। उत्तरबाट कडा हावा चलिरहेको छ, हामी यसमा केही गर्न सक्दैनौँ,’ उनी भन्छिन्। रुख काट्दा माटोको क्षय हुने र चरन विकासमा बाधा पुगेकाले धेरै स्थानीय उत्पादकहरूले आफ्ना गाईबस्तु गुमाएको किसानको गुनासो छ । नुले भन्छिन्, ‘सम्झौता आर्थिक र व्यापारिक संसारमा भएकाहरूका लागि हो, मूल निवासीहरूका लागि होइन।’ ‘उनीहरूले हाम्रा बारेमा कहिल्यै सोचेनन्,’ उनी भन्छिन्। -रोयटर्स
प्रतिक्रिया