स्वास्थ्य संस्थालाई मेयर बालेनले दिए यस्तो चेतावनी

नेपालखोज २०८० जेठ ७ गते ९:००

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल बेड सङ्ख्याको दश प्रतिशत छुटाई निःशुल्क उपचार नगर्ने स्वास्थ्य संस्थालाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

मेयर शाहले १० प्रतिशत बेड छुट्याएर बिरामीलाई उपचार सेवा दिएको विवरण अनिवार्य रूपमा हरेक महिनाको १० गतेभित्र बुझाइसक्न पनि निर्देशन दिएका छन् ।

मेयर शाहले यसअघि महानगर अन्तर्गतको स्वास्थ्य विभागले जारी गरेको सूचना (विपन्न बिरामीका लागि सबै अस्पतालमा दश प्रतिशत बेड छुटाउन काठमाडौं महानगरको निर्देशन) पुनः सार्वजनिक गर्दै कारबाही गर्ने जानकारी दिएका हुन् ।

उनले महानगरपालिका क्षेत्रभित्रका केन्द्र, प्रादेशिक स्थानीय सबै प्रकृतिका स्वास्थ्य संस्थालाई उक्त निर्देशन दिएका छन् ।

लक्षित वर्गले निःशुल्क सेवा लिएका व्यक्तिहरूको विवरण टाँस गर्ने तथा महानगरमा प्रत्येक महिनाको १० गतेसम्म नबुझाउने लगायत कार्य नगरेको पाइएमा काठमाडौं महानगरपालिकाबाट नियमानुसार कारबाही हुने ब्यहोरा सम्बन्धित सबै स्वास्थ्य संस्थाहरूलाई जानकारी गराइन्छ, मेयर शाहले फेसबुकमा लेखेका छन् ।

साथै स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको प्रचलित कानुनले ताकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने, स्वास्थ्यजन्य फोहोर मैला व्यवस्थापन गर्ने, अस्पतालभित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्ने, अनावश्यक प्रयोगशाला परीक्षणको लागि सिफारिस नगर्न पनि सूचनामा भनिएको छ ।

प्रतिक्रिया