बिहीबार, वैशाख १३, २०८१

गोपाल योञ्जनको सम्झना

सुनिल उलक २०८० जेठ ८ गते ८:३९

काठमाडौं । स्व. गोपाल योञ्जनको जन्म दार्जिलिङ नजिकै मिरिकमा रहेको ओकाइटी टी एस्टेटमा डा.बुद्धिमान योञ्जन र छेकु डोल्माका सुपुत्रका रूपमा वि.सं. २००० साल भदौ १० गते भाद्र शुक्ल जनै पूर्णिमाको दिन भएको थियो ।

बरोडामा सङ्गीत पढ्दै गरेका नारायण गोपाल छुट्टीमा साथीहरू भेट्न दार्जिलिङमा पुग्दा चौरस्तामा कर्म योञ्जन, नगेन्द्र थापाको साथ पुगेका नारायण गोपालको भेट गोपाल योञ्जनसंग भएको थियो । यही भेट पछि नजिकिएका यी दुई गोपाललाई गुरु ईश्वर वल्लभको मनसाय बुझ्दै नगेन्द्र थापाले मितेरी साइनो लगाइदिएका थिए ।

महाकालको डाँडामा अँगेनीको आगोलाई साक्षी राखेर मित बनाइदिएका थिए नगेन्द्र थापाले । पछि यिनै नगेन्द्र थापाले गोपाल योञ्जनलाई २०२४ सालमा काठमाडौ ल्याए ।

नेपाल आइपुगेका गोपाल योञ्जनले २०२५ सालमा भएको रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा गल्ती हजार हुन्छ यहाँ होस हराएको बेला गीतमा उत्कृष्ट सङ्गीतकारको पुरस्कार पाए । सङ्गीतले दालभात नपाक्ने देखेपछि जीविकोपार्जनको लागी २०२५ सालमै सेन्ट मेरिज स्कुलमा शिक्षकको जागिर खाए ।

दार्जिलिङको सम्पन्न योञ्जन परिवारमा जन्मनु भएका गोपाल योञ्जनको प्रेम भने भुटिया समुदायको रिन्छेनसंग भएको थियो । रिन्छेन भने सिक्किमेली भिक्टोरिया क्रस विजेता गुन्ज लामाको छोरी थिइन् ।

गुन्ज लामाको वास्तविक नाम भने ग्याम्त्सो स्याङदेर्पा थियो । तर सातौँ गोर्खा राइफलमा भर्ती हुनका लागि उनले नेपाली नाम गुन्ज लामा राखेका थिएँ । दोस्रो विश्व युद्धमा बर्माको युद्धमा उनले देखाएको वीरताको कदर गर्दै उनलाई भिक्टोरिया क्रस पनि दिइएको थियो ।

रिन्छेन पनि परिवार सहित काठमाडौं क्षेत्र पाटीमा बस्दथे । गोपाल पनि नेपालीमा मास्टर्स गर्न काठमाडौं आएका यतै अल्झिएका थिए । रिन्छेन पनि सेन्ट मेरिजमै शिक्षिका थिइन् । उतैका दुई बिच कुराकानी र भाषा मिल्ने नै भयो ।

नजिकिँदै जाँदा एक अर्कोलाई मन पराउन थाले । अन्ततः रिन्छेन र गोपालको विवाह २०२६ सालमा नेपालमा नै भयो । विवाहमा गोपालका मित नारायण गोपाल पनि सहभागी भएका थिए ।

तामाङ परिवारमा जन्मनु भएका गोपाल योञ्जनलाई उनको आमाले लामा बनाउन चाहन्थे । एक दिन राती घरमा रक्सीले मात्तिएर गोपाल पुगे । गोपाललाई लामा बनाउने आमाको सपना त्यहीँ रात चकनाचुर भयो । त्यस रात आमा निकै बेर रोएका थिए ।

राष्ट्रभक्ति गीत र सङ्गीतमा सधैँ देशको माया गरिरहनु हुने गोपाल योञ्जनको केवल ५४ वर्षको उमेरमा उपचारका क्रममा दिल्ली स्थित अपोलो अस्पतालमा २०५४ जेठ ७ गते यो संसारबाट बिदा भए ।

हार्दिक श्रद्धाञ्जली गोपाल योञ्जन प्रति ।

प्रतिक्रिया