बिहीबार, वैशाख १३, २०८१

१५ प्रतिशत प्रजाति लोप हुँदै

नेपालखोज २०८० जेठ ९ गते ६:१७

काठमाडाैं । संयुक्त राष्ट्रसंघले आगामी पाँच वर्षभित्र पृथ्वीको औसत तापक्रम १ दशमलव ५ डिग्रीको सीमा नाघ्ने आशंका व्यक्त गरेको छ । यदि पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियसले बढ्यो भने यो पृथ्वीमा भएका १५ प्रतिशत प्रजाति बिलुप्त हुनेछन् । पृथ्वीको तापक्रम २.५ डिग्री सेल्सियसभन्दा बढी हुने बित्तिकै ३० प्रतिशत प्रजाति समाप्त हुनेछन् । युनिभर्सिटी अफ केप टाउन, युनिभर्सिटी अफ बफेलो तथा युनिभर्सिटी अफ कनेक्टिकटले एक अनुसन्धान पछि यस्तो दाबी गरेका हुन् । यो अनुसन्धानमा वैज्ञानिकहरूले ३५ प्रजाति समावेश गरेका थिए ।

संयुक्त राष्ट्र संघको विश्व मौसम विज्ञान संगठनले गरेको अनुमान अनुसार २०२७ सम्म पृथ्वीको तापक्रम १९ औं शताब्दीको मध्यको तुलनामा वार्षिक १.५ डिग्री भन्दा बढी हुनेछ । २०१५ को पेरिस सम्झौतामा १.५ डिग्री सेल्सियसको औसत तापक्रमलाई विश्वको सुरक्षाका लागि खतरनाक सीमा मानिएको थियो र विभिन्न देशहरूले यो सीमा नाघ्नबाट रोक्न प्रयास गर्ने वाचा गरेका थिए। तीनवटै विश्वविद्यालयको अनुसन्धानमा जलवायु परिवर्तनका कारण विश्वमा ठूलो परिवर्तन हुने बताइएको छ । अनुसन्धानमा ती प्रजाति सबै महाद्वीप र महासागरबाट लोप हुने बताइएको छ ।

अनुसन्धानले भनेको छ – गर्मीको स्तर सहनशीलता भन्दा बढी हुँदा प्रजातिहरू मर्छन् भन्ने आवश्यक छैन, तर तिनीहरू उच्च तापक्रममा बाँच्न सक्छन् भन्ने कुनै प्रमाण पनि छैन। अनुसन्धानमा धेरै प्रजातिले बस्नका लागि उपयुक्त ठाउँ पाउन नसक्ने बताइएको छ । कुनै एक वर्षमा १.५ डिग्रीको सीमा नाघ्ने सम्भावना लगातार बढिरहेको छ । एक दशकअघि यस्तो हुने सम्भावना १० प्रतिशत मात्र थियो । २०२० मा यो २० प्रतिशत भयो। २०२१ मा ४० प्रतिशत र गत वर्ष ४८ प्रतिशत पुग्यो। यो वर्ष यो सम्भावना ६६ प्रतिशत रहेको बताइएको छ । रोयटर

प्रतिक्रिया