शुक्रबार, वैशाख १४, २०८१

काठमाडौंको मान्छे

राजेन्द्र थापा २०८० जेठ ९ गते १०:४८

राजेन्द्र थापा

काठमाडौंको मान्छेलाई
भोटे कुकुर मन पर्छ-भोटे मन पर्दैन
काठमाडौंको मान्छेलाई
आँप मन पर्छ-मदिसे मन पर्दैन
काठमाडौंको मान्छेलाई
हिमाल मन पर्छ-शेर्पा मन पर्दैन
काठमाडौंको मान्छेलाई
मैचाङ् मन पर्छ-तामाङ मन पर्दैन
काठमाडौंको मान्छेलाई
कम्लरी मन पर्छ-थारु मन पर्दैन
काठमाडौंको मान्छेलाई
बिजुली मन पर्छ-कर्णालीको मान्ठा मन पर्दैन
काठमाडौंको मान्छेलाई
राजेशपायल राई मन पर्छ-खोटाङ मन पर्दैन
काठमाडौंको मान्छेलाई
रामवरण यादव मन पर्छ-धनुषा मन पर्दैन
काठमाडौंको मान्छेलाई
शिव परियार मन पर्छ-दलित मन पर्दैन

००

काठमाडौं हिजो पनि यस्तै थियो
काठमाडौं आज पनि यस्तै छ
काठमाडौं भोली पनि यस्तै रहनेछ
भोटे आउँछ-काठमाडौं भइदिन्छ
मदिसे आउँछ-काठमाडौं भइदिन्छ
सेर्पा आउँछ-काठमाडौं भइदिन्छ
तामाङ आउँछ-काठमाडौं भइदिन्छ
थारु आउँछ-काठमाडौं भइदिन्छ
विजुली आउँछ-काठमाडौं भइदिन्छ
राजेशपायल राई आउँछ-काठमाडौं भइदिन्छ
रामवरण यादव आउँछ-काठमाडौं भइदिन्छ
शिव परियार आउँछ-काठमाडौं भइदिन्छ
जो जैले जहाँबाट आउँछ-काठमाडौं भइदिन्छ
००
काठमाडौंको मान्छेलाई
भोटे मन पर्दैन-मदिसे मन पर्दैन
शेर्पा मन पर्दैन-तामाङ∙ मन पर्दैन
थारु मन पर्दैन-कर्णाली मन पर्दैन
खोटाङ् मन पर्दैन-धनुषा मन पर्दैन
काठमाडौंको मान्छेलाई भोटे कुकुर मन पर्छ ।
काठमाडौंको मान्छेलाई भोटे कुकुर मन पर्छ ।।

प्रतिक्रिया