वर्षासँगै मनाङको सडक सञ्जाल टुट्दै

नेपालखोज २०८० जेठ १२ गते ६:३१

काठमाडाैं । प्रि–मनसुन सुरुवात भएसँगै पश्चिमी वायुको प्रभावका कारण हिमाली जिल्ला मनाङको सडक सञ्जाल टुट्दै गएको छ । छिमेकी जिल्ला लमजुङमा दैनिक वर्षा भइरहेको छ भने मनाङमा सुक्खा पहिरो खस्न थालेको छ । डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत नासो गाउँपालिका–१ सिरानतालमा सुक्खा पहिरो खसेको छ ।

सुक्खा पहिराका कारण सडक अवरुद्ध भएको नासो–५ का वडाध्यक्ष थुदेन लामाले जानकारी दिए । ‘वर्षायाम सुरुआत हुनासाथ मनाङमा जोखिम बढेको छ, यात्रुमात्रै आवतजावत गर्नसमेत सकस भएको छ’, उनले भने । उनका अनुसार बुधबार साँझदेखि चट्टानसहितको सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

दुई वर्षअघि पहिराका कारण भत्किएको सडक मर्मत गर्दा रहेका चट्टान खसेर अवरुद्ध भएको सडक खुलाउन एस्काभेटर ल्याउँदै गरेको डुम्रे–बेंसीसहर–चामे सडक आयोजना कार्यालयका सब इञ्जिनियर सुमन अधिकारीले जानकारी दिए ।

वर्षायाम वा अन्य समयमा पनि मनाङको यात्रा सहज भने छैन । वर्षायाम सुरुवात भएसँगै अझ बढी जोखिम बढ्ने गर्छ । वर्षायाममा पर्ने झरीका कारण एक ठाउँमा मर्मत गर्न नभ्याउँदै अर्को स्थानमा सडक भत्किँने हुँदा मनाङवासी तथा पर्यटक आवतजावतमा समस्या हुने गरेको छ ।

प्रतिक्रिया