बिहीबार, वैशाख १३, २०८१

गुर्खाज एण्ड घोष्टका पात्र मसिनासँगको भेट

सुनील उलक २०८० जेठ १२ गते ८:१६

करिव ४ वर्ष अगाडी अमेरिकी लेखिका लुरी मिलरको पुस्तक ‘Gurkhas and Ghosts’ का प्रमुख पात्र मसिनासंग भेट भएको थियो । निकै लामो समय देखी खोजिरहेको मसिनालाई प्रत्यक्ष भेट्न पाँउदा मलाई निकै खुशी लागेको थियो । ‘Gurkhas and Ghosts’ पुस्तक पढे पछि नै भेट्न सकिने आशा गरेको थिए । त्यसपछि सो पुस्तकमा रहेका वहाँका तस्विरहरु खोज्दै गर्दा फोटोहरु मारिलिन सिल्भरस्टोनले खिच्नुभएको थाहा भयो ।

नेपालमा आए पछि बुद्ध धर्मका अनुयायी भइ आनी बनेर काठमाडौ बौद्धमा बस्दै आएका मारिलिन सिल्भरस्टोनको त्यहिं गुम्बामा २०५६ सालमा निधन भएको थियो । वहाँका फोटोहरुको सर्वाधिकार माग्नम फोटो(Magnum photos)ले लिएको भएपनि मारिलिन सिल्भरस्टोनको नाममा रहेको ट्रस्ट सिल्भरस्टोन एस्टेटका प्रमुख विवियन कुर्ट्जसंग सम्पर्क र सहयोगले मैले निशुल्क फोटोहरु प्राप्त गरेको थिए । फोटो प्राप्त भएपछि मसिनालाई खोज्न थाले भेट हुन सकेन । म वहाँ घाचोकका बासिन्दा भएको हुदा दुइ पटक खोज्न त्यहा पुगे ।

तर भेट्न सकिन । पुरानो फोटो शेयर गर्ने क्रममा वहाँको माइली छोरी ममताले मसंग सम्पर्क गर्नुभयो । बाबा अर्थात मसिना पनि मसंग भेट्न चाहनु भएको थाहा भएपछी म भेट्न पुगेको थिए । घाचोक गाँउमा जन्मनु भएका मसिना सानो र दुब्लो पातलो भएको हुदा आमाले मसिना नाम राखिदिनु भएको रहेछ । गाँउको स्कुलमा पढ्दै गर्दा एकदिन अचानक हेडमाष्टरले भन्नुभएछ, “एक जना गोरीनीले स्कुलमा पढ्न जान्ने र ज्ञानी को छ भनेको थियो । त्यहि भएर मैले तिम्रो नाम भनिदिएको छु । गोरीनी तिमीलाई भेट्न आँउछ होला ।’

नभन्दै केही दिनमा गोरीनी अर्थात लुरी मिलर आइपुगी । भेट पछि वहाँलाई छोरा बनाउने भन्दै लिएर गए । पोखरामा आइपुगे पछि साँघुमुखको एक घरमा राती बास बसेर भोलिपल्ट जहाजमा काठमाडौ पुगे । पोखरामा त्यो समय गणेश जात्रा थियो । तसर्थ हामी सहजै अनुमान गर्न सक्छौ बैशाखको पहिलो हप्ता रहेछ । २०१९ साल बेशाख २ वा ३ गते पोखरा पुगेका थिए । काठमाडौको केही दिन बसाइमा नै अचानक घटनाले अर्कै मोड लियो । भर्खर भर्खर पार्दीको बाँध तैयार हुदै गर्दा गाँउमा बाँधलाई बच्चाको बली दिइदै छ । त्यसको लागी गाँउमा बच्चा खोज्न मानिसहरु हिडेको हल्ला पुगेछ । संयोग त्यहि बेला लुरी मिलरले मसिना र उनकै सोल्टी पूर्णलाई गाँउबाट काठमाडौ लगेका थिए ।

गाँउका चल्तापूर्जा लक्षबहादुर गुरुङ (पूर्व अञ्चलाधिस) सोधखोज गर्दै मिलर बसिरहेको बौद्धको होटल पुगे । तुरुन्तै मसिना र पूर्णलाई फिर्ता लिएर गाँउ पुर्याइदिए । बिदेशीको धर्मपुत्र बनेर बिदेश पुग्ने सपना एकैछिनमा तुहियो । छुट्टिने बेलामा मिलरले भनेका थिए । १६ वर्ष पुगे पछि मलाई भेट्न आउनु म तिमीलाई भारतीय सेनामा भर्ति गराइदिन्छु । हुन त पछि भारतीय सेनामा नै भर्ति भए । लुरी मिलर अर्थात आमासंग समय समयमा भेट भइरह्यो । तर आमाको छोरा भएर बिदेश जान पाएनन् । लुरी मिलरको २०५३ असार २२ गते क्यान्सरको कारण वासिङ्टनमा मृत्यु भयो ।

वहाँ एकपटक फेरी दुखी बने । सेनाको जागीरे जीवनले गर्दा चाहेरै पनि आमासँग धेरै पटक भेट गर्न पाएनन् । दुखी हुदै एकपटक सम्झदै भन्नुभएको थियो, ‘बच्चाको बलि दिने हल्ला नभएको भए शायद म बिदेशको कुनै ठाँउमा हुन्थे होला ।’ यो तस्विरमा मसिना आफ्ना बुबा चन्द्र सिंह, भाइ र बहिनीको साथ देख्न सकिन्छ । स्कुल जाने तैयारीमा झोला बोकेको मसिनाको उमेर अहिले ७३ वर्ष पुगिसकेको छ ।

प्रतिक्रिया