शनिबार, वैशाख १५, २०८१

मोदीको नौ वर्षे कार्यकालमा चार करोड घर र ११ करोड शौचालय निर्माण

नेपालखोज २०८० जेठ १४ गते १८:४९

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार भारतको राजधानीको मुटुमा रहेको झण्डै १०० वर्ष पुरानो औपनिवेशिक कालको भवनको छेउमा निर्माण गरिएको नयाँ संसद् भवनको उद्घाटन गरेका छन् ।

‘यो भवन आधुनिक सुविधाले सुसज्जित र अत्याधुनिक उपकरणले सुसज्जित छ । यसले साठी हजारभन्दा बढी कामदारलाई रोजगारी दिएको छ । हामीले उनीहरूको कठोर परिश्रमको सम्मान गर्दै ‘डिजिटल ग्यालरी’ बनाएका छौँ,’ प्रधानमन्त्री मोदीले भने ।

करिब साढे दुई वर्ष लगाएर निर्माण भएको नयाँ भवन अघिल्लो भवनभन्दा धेरै फराकिलो छ भने सांसदहरुको सिट क्षमता पनि बढाइएको छ । नयाँ संसद् भवन औपनिवेशिक मानसिकताको अन्त्यको प्रतीक भएको प्रधानमन्त्री मोदीले बताए ।

यो विश्वव्यापी लोकतन्त्रको जग पनि हो । लोकतन्त्र हाम्रो संस्कार, आदर्श र परम्परा हो । प्रधानमन्त्रीले पञ्चायत भवनदेखि संसद् भवनसम्मको प्रेरणा एउटै भएको उल्लेख गर्दैै नयाँ संसद्मा बस्दा जनताका लागि चार करोड घर र ११ करोड शौचालय निर्माण, ४ लाख किलोमिटर ग्रामीण सडक निर्माण, ५० हजार अमृत सरोवर निर्माण र ३० हजार नयाँ पञ्चायत भवन निर्माण गरेकोमा मलाई निकै सन्तुष्टि मिलेको बताए ।

पञ्चायत भवनदेखि संसद् भवन भारतको प्रेरणा तथा देश र जनताको विकास भएको चर्चा गर्दै प्रधानमन्त्री मोदीले नयाँ संसद् भवन आत्मनिर्भर भारतको प्रमाण बन्ने बताए । उनले भारतको विकाससँगै विश्वको पनि विकास हुने बताउँदै नयाँ संसद् भवनले विश्वको प्रगतिमा योगदान गर्ने तर्क गरे । यसैबीच, सत्तारुढ भारतीय जनता पार्टीको विपक्षमा रहेका १९ राजनीतिक दलले प्रधानमन्त्री मोदीको सट्टा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले नयाँ संसद् भवनको उद्घाटन गर्नुपर्ने भन्दै समारोह बहिष्कार गरेका थिए । rss

प्रतिक्रिया