पुलिस चौथो स्थानमा उक्लियो
नेपालखोज
२०८० जेठ १५ गते २२:२४

काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।
त्रिपुरेश्वरस्थितरथ रंगशालामा सोमबार राति सकिएको खेलमा विभागीय क्लब पुलिसले फ्रेन्ड्स क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
पुलिसलाई जिताउन अन्जन राईले २ गोल गरेका थिए भने फ्रेन्ड्सका विकास थापाले गरेको एकमात्र गोल सान्त्वनामा परिणत भयो ।
खेल सुरु भएको तेस्रो मिनेटमै अन्जनले गोल गरेपछि पुलिसले अग्रता लिएको थियो । २० औं मिनेटमा विकासले गोल गरेपछि खेल एक एकको बराबरीमा आएको थियो ।
३५ औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता २–१ बनाए । त्यसपछि दुवै टिमबाट थप गोल नभएपछि पुलिसले स्पष्ट ३ अंक लिन सफल भयो ।
जितसँगै पुलिस २२ खेलबाट ३१ अंक चोडेर तालिकाको चौथो स्थानमा उक्लिएको छ भने पराजित भएको फ्रेन्ड्स २४ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ ।
सम्बन्धित
प्रतिक्रिया