शुक्रबार, वैशाख २१, २०८१

के गर्छ न्यूरालिंकको ब्रेन चिपले ?

नेपालखोज २०८० जेठ १८ गते १०:५१

काठमाडौं । एलोन मस्कको मस्तिष्क चिप बनाउने कम्पनीले अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)बाट मानव शरीरमा परीक्षण गर्ने अनुमति प्राप्त गरिसकेको छ ।

अर्बपति मस्कको कम्पनी न्युरालिङ्कले मानिसको मस्तिष्कलाई चिपमार्फत कम्प्युटरसँग जोड्न चाहन्छ । यो चिपको सहयोगले न्यूरालिङ्कले मानिसको आँखाको ज्योति र हिँड्ने समस्या हटाउने देखि लिएर मोटोपन तथा पक्षाघातसम्म निको पार्न सक्ने दाबी गरिएको छ

यसबाहेक चिप्सको सहयोगमा धेरै रोग र समस्याबाट छुटकारा पाइने कम्पनीले दाबी गर्दै आएको छ । कम्पनीका सह-संस्थापक एलोन मस्कले यो चिपको सहयोगमा मोटोपनको पनि उपचार गर्न सकिने बताएका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार न्यूरालिंकले यसअघि पनि एफडीएबाट स्वीकृति लिने प्रयास गरेको थियो तर चिपको सुरक्षामा शंकाका कारण अस्वीकार गरिएको थियो ।

न्युरालिङ्कले आफ्नो चिप्स मार्फत अन्धोपनदेखि पक्षाघातसम्मका रोगहरूको उपचार गर्ने प्रयास गर्नेछ। यसले शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरूलाई कम्प्युटर र मोबाइल प्रयोग गर्न सहज बनाउन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले यो चिप बाँदरमा परिक्षण गरेको छ । यो चिप मस्तिष्कबाट निस्कने संकेतहरूलाई व्याख्या गर्न र ब्लुटुथ मार्फत उपकरणमा जानकारी पठाउन डिजाइन गरिएको हो। एलोन मस्कले भनेका छन – यो प्रविधि पछि कृत्रिम बुद्धिमत्ताले (एआइ ) मानिसलाई पछाडि छोड्छ भन्ने महसुस गर्ने मानिसहरूको चिन्ता पनि कम हुनेछ।

न्यूरालिंकले यसको इन्जिनियरिङको समयमा चिपको सुरक्षा र विश्वसनीयतालाई प्राथमिकता दिने बताएको छ । यता विज्ञहरूले मस्तिष्क चिपका लागि व्यापक परीक्षणको आवश्यकता ओैंल्याउँदै र यससँग सम्बन्धित नैतिक चुनौतीहरूको सामना गर्नुपर्ने कुरा समेत बताएका छन ।

न्यूरालिङ्कको गठन सन् २०१६ मा भएको थियो। एलोन मस्क यसको संस्थापक मध्ये एक हुन । यो कम्पनीको लक्ष्य सन् २०२० मा मानव मस्तिष्कमा चिप प्रत्यारोपण गर्ने थियो, पछि यो लक्ष्य सन् २०२२ मा सारिएको थियो । गत डिसेम्बरमा पशु कल्याणको विरुद्धमा काम गरेको आरोप लागेपछि यो काममा धक्का लागेको थियो भने न्यूरालिङ्कले त्यो आरोप अस्वीकार गरेको थियो ।

मस्तिष्क चिप के हो ?

मानव मस्तिष्कलाई कम्प्युटरसँग जोड्न वैज्ञानिकहरूले मानिसको दिमागमा चिप जडान गर्ने तयारी गरिरहेको कुरा अब साइन्स फिक्सन चलचित्रको कथा मात्र रहेन । यो यथार्थ मै हुँदैछ र न्यूरालिङ्कले यसको तयारी समेत पूरा गरेको छ ।

न्युरालिङ्कले पहिले सन् २०१९ मा यस्तो ब्रेन चिप लन्च गर्ने बताएको थियो, त्यसपछि सन् २०२० मा त्यसको मानव मस्तिष्कमा प्रत्यारोपण सुरु हुने बताएको थियो ।

चिपले कसरी काम गर्छ र यसले के गर्छ ?

डा . रोज व्याट-मिलिङटन लीड्स बेकेट विश्वविद्यालयमा इलेक्ट्रोनिक्स इन्जिनियरिङ पढाउँछन्। उनले बीबीसीलाई बताए अनुसार न्यूरालिंकले यो नयाँ प्रविधिको प्रयोग गरी दिमागलाई कम्प्युटर वा अन्य उपकरणसँग जोड्ने छ।

‘चिपले मस्तिष्कको विद्युतीय संकेतहरू रेकर्ड गर्ने र तुरुन्तै प्रशोधन गर्ने तथा ब्लुटुथ मार्फत कम्प्युटर वा अन्य उपकरणको एपमा पठाउने छ ।’ डा . रोज भन्छन्, ‘यसले हातले मोबाइल चलाउन नसक्ने मानिसहरूलाई मद्दत गर्नेछ जसका कारण मानिसहरूले ब्लुटुथ माउस मार्फत चिपको सहायताले कम्प्युटर नियन्त्रण गर्न वा प्रयोग गर्न सक्नेछन्।’

के यो सुरक्षित छ ?

मस्तिष्क मानव शरीरको सबैभन्दा संवेदनशील अंग हो। यसको संरचनामा कुनै किसिमको छेडछाड हुन नदिन अत्यन्तै सावधानी अपनाउनु आवश्यक छ । किनभने यो चिप मस्तिष्क भित्र स्थापित हुन गैरहेको छ र यसको आफ्नै जोखिम छ। यही कारणले कम्पनीले यसको परीक्षणमा लामो समय लगाएको हो ।

डा . रोज भन्छन्, ‘यो टेक्नोलोजी मस्तिष्क-मेसिन इन्टरफेसमा वर्षौंको अनुसन्धानको परिणाम हो। व्यबहारमा लागू गर्नुअघि यसले पूर्ण क्लिनिकल परीक्षणहरू पार गर्नुपर्नेछ। तब मात्र यसलाई सुरक्षित बनाउन सकिन्छ।’

प्रतिक्रिया