भारत नेपालको विकास र समृद्धिको प्रमुख साझेदार हो : प्रधानमन्त्री दाहाल

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत नेपालको नजिकको विकास र समृद्धिको प्रमुख साझेदार भएको बताउनुभएको छ । भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका उहाँले आज आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
प्रधानमन्त्रीका रूपमा आफ्नो यो चौथो भारत भ्रमण रहेको स्मरण गर्दै उनले नेपाल र भारतबीचको सम्बन्ध सदियौँदेखि सामाजिक, सांस्कृतिकको बलियो जगमा बहुआयामिक रहँदै आएको उल्लेख गरे । प्रधानमन्त्री दाहालले भेटवार्तामा दुई देशबीच व्यापार, पारवाहन, सम्पर्क सञ्जाल, लगानी, जलविद्युत्, विद्युत् व्यापार, सिँचाइ, कृषि, रेल्वे, पुल, प्रसारण लाइन, पेट्रोलियम पाइपलाइन विस्तार, एकीकृत भन्सार जाँचचौकीका साथै अतिरिक्त हवाई प्रवेश विन्दुलगायत बहुआयामिक क्षेत्रलाई अझ बलियो बनाउने विषयमा छलफल भएको बताए ।
उनले भेटवार्तामा नेपालमा निर्माण भइरहेका जलविद्युत् परियोजना तथा अन्तरदेशीय प्रसारण लाइन निर्माणका विषयमा पनि छलफल भएको जानकारी दिए । भारतले हाल नेपालबाट चार सय ५० मेगावाट विद्युत् आयात गरिरहेकामा प्रशंसा गर्दै उहाँले आगामी दिनमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित चार सय ५६ मेगावाट विद्युत्सहित थप एक हजार दुई सय मेगावाट विद्युत् आयात गर्ने प्रधानमन्त्री मोदीको सकारात्मक प्रतिक्रियाप्रति धन्यवाद ज्ञापन गरे ।
प्रधानमन्त्री दाहालले दीर्घकालीन विद्युत् व्यापार सम्झौताअन्तर्गत आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् नेपालबाट आयात गर्ने सहमति भएको बताए । यो सन् २०२२ अप्रिलमा दुई देशका प्रधानमन्त्रीबीच भएको सहमतिका आधारमा सम्भव भएको उनको भनाइ छ । उनले नेपालबाट भारत हुँदै बङ्गलादेशसम्म दैनिक ५० मेगावाट विद्यत् पु¥याउनका लागि गरेको सहयोगको प्रशंसासमेत गरे । उनले विद्युत् व्यापारका सन्दर्भमा नेपाल–भारत–बङ्गलादेशबीच छिट्टै त्रिपक्षीय सम्झौता हुनेमा विश्वास व्यक्त गरे । प्रधानमन्त्री दाहालले छ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना र चार सय ८० मेगावाट क्षमताको फुकोट कर्णाली जलविद्युत् आयोजना निर्माणको सम्झौताले विद्युत् विकास र अन्तरदेशीय प्रसारण लाइनको विकासमा नयाँ सुरुवात भएको बताए ।
प्रतिक्रिया