बिहीबार, चैत १५, २०८०

महिलामा आङ खस्ने र पाठेघरको समस्या

नेपालखोज २०८० जेठ २१ गते ५:००

महोत्तरी । महोत्तरीको चुरेकाछ बस्तीमा आङ खस्ने र पाठेघरको समस्या भएका धेरै महिला भेटिएका छन् । बर्दिबास–४ माईस्थानको कामीडाँडा बस्तीमा नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखाले महिलाका लागि आयोजना गरेको दुईदिने स्वास्थ्य शिविरमा चार सय महिलामा आङ खस्ने र पाठेघर समस्या पाइएको हो । बिहीबार र शुक्रबार गरी दुई दिन सञ्चालित शिविरमा सात सय ५८ महिलाले स्वास्थ्य जाँच गराएका छन् ।

जसमध्ये चार सयमा आङ खस्ने र पाठेघरको मुखको क्यान्सर देखिएको रेडक्रस उपशाखा बर्दिबासले जनाएको छ । शिविरमा आङ खस्ने र पाठेघरको मुखको क्यान्सर तथा यसको रोकथामबारे (भिसिटी) बारे जाँच गरिएको थियो । जाँच भएकामध्ये १९ जनाको पाठेघरको शल्यक्रिया गरिने र आङ खस्ने समस्या भएका १५ महिलालाई रिङ लगाइने जाँचमा संलग्न महिला रोग विशेषज्ञ डा दीपक शाहलाई उद्धृत गर्दै रेडक्रस उपशाखा बर्दिबासका सभापति रेवन्त कार्की ‘सुदीप’ले जानकारी दिए । रेडक्रस उपशाखाले शिविरका लागि बर्दिबास नगरपालिका क्षेत्रको भित्री बस्ती चुरेकाछ नजिक चयन गरेको थियो ।

नगरपालिका भनिए पनि चुरेकाछका बासिन्दा स्वास्थ्य जाँच र उपचारबाट बञ्चित हुने गरेकाले यस क्षेत्र शिविरका लागि छनोट गरिएको उनले बताए । ‘मधेस प्रदेशमा भए पनि चुरेकाछका बस्तीहरु पहाडी परम्परा र चलनका छन्, यहाँका महिलाको जीवन डोको/नाम्लो, घाँस/दाउरा र घरको बुहार्तनमा बित्छ’, कार्कीले भने, ‘त्यसैले स्वास्थ्य जाँच र उपचारको अवसरबाट बञ्चित हुने चुरेकाछ क्षेत्रमा शिविर राखिएको हो ।’

तामाङ, मगर, कामी, सार्की र दमाईंलगायत दलित समुदायको बाहुल्यताको रहेको यस क्षेत्रका महिलाले बढी गर्भधारण गर्ने र बच्चा जन्माउने पाइएकाले यहाँका महिलामा आङ खस्ने र पाठेघरसम्बन्धी समस्या बढी हुने सम्भावना देखेपछि यहाँ शिविर राखिएको कार्कीको भनाइ छ । शिविरमा जाँचपछि चिकित्सकको सिफारिसअनुसार बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको छ ।

त्यसैगरी, रिङ लगाउने तथा शल्यक्रिया सुविधायुक्त अस्पतालमा एक साताभित्रै निःशुल्क उपलब्ध गराइने रेडक्रस उपशाखाले जनाएको छ । मुख्यतः महिलाका लागि पाठेघरको मुखको क्यान्सर जाँच, पिसाब चुहिने रोगको पहिचान र उपचार, आङ खस्ने रोगको प्रतिरोधात्मक उपचार, पाठेघर जाँच, थर्मोकुलस सेवा, फिस्टुलाको शल्यक्रिया र भिडियो एक्स–रेसहितका जाँच सेवाका लागि महिला केन्द्रित शिविर आयोजना भएको सभापति कार्कीले जानकारी दिए ।

उनका अनुसार शिविरमा आँखा जाँच र उपचार सेवा पनि सञ्चालन गरिएको थियो । कामीडाँडा मावि परिसरमा सम्पन्न शिविरमा विद्यालयका तीन सय १० छात्रछात्राको आँखासहित विभिन्न जाँच र चार सय १० सर्वसाधारणको आँखा जाँच र उपचार गरिएको आँखा विशेषज्ञ डा दीना ठाकुरले बताए । जाँच गराएका छात्रछात्रामध्ये १२ जनालाई चस्मा उपलब्ध गराइएको छ ।

त्यसैगरी, आँखा जाँच गराएका सर्वसाधारणमध्ये २७ जनाको मोतिविन्दुको शल्यक्रिया गरिने डा ठाकुरले जानकारी दिए । शिविरमा बाल स्वास्थ्य जाँच, आँखा जाँच तथा उपचार बालरोग विशेषज्ञ डा अनिल शाह र आँखा विशेषज्ञ डा दीना ठाकुर नेतृत्वको चिकित्सक टोलीले गरेको हो ।

महिलातर्फको जाँच र उपचार वरिष्ठ महिला विशेषज्ञ डा दीपक साह र डा कैलाश मण्डल, वरिष्ठ रेडियोलोजिस्ट डा अजय यादव र दक्ष स्वास्थ्यकर्मी (नर्स, अहेब)सहित १८ सदस्यीय चिकित्सक टोलीले गरेको रेडक्रस उपशाखाका सभापति कार्कीले जानकारी दिए । शिविर सञ्चालनमा प्राविधिक सहयोग सामुदायिक सेवा प्रतिष्ठान भक्तपुर, आर्थिक सहयोग बर्दिबास नगरपालिका र अन्य व्यवस्थापकीय सहयोग बर्दिबास हेल्प फाउन्डेसन, रोटरी क्लब अफ बर्दिबास र कामीडाँडा मावि परिवारले गरेको रेडक्रस बर्दिबास उपशाखाले जनाएको छ ।

प्रतिक्रिया