नेपालसँग जोडिएका आठ जिल्ला विहारका लागि लागु औषधको हटस्पट

काठमाडाैं । सिमावर्ती भारतिय राज्य विहारको लागूऔषध विरोधी अभियान ईओयूका एडीजी नय्यर हसनैन खानको अध्यक्षतामा बसेको बैठकले नेपाल सहित अन्य प्रदेशबाट आउने लागुऔषध तथा साइकोट्रोपिक पदार्थको तस्करी रोक्न, हट स्पट तय गर्ने र सूचनाका आधारमा विभिन्न निकायको सहयोगमा संयुक्त छापा मार्ने निर्णय गरेको छ ।
बिहार प्रहरीको आर्थिक अपराध इकाई (EOU), राष्ट्रिय अपराध ब्यूरो (NCB), केन्द्रीय रिजर्व पुलिस बल (CRPF) तथा सशस्त्र सीमा बल (SSB) ले राज्यमा लागुऔषध तस्करी रोक्न संयुक्त प्रयास गर्ने तथा यसका लागि अन्य एजेन्सीहरूको सहयोग समेत लिने बताइएको छ ।
लागूऔषधको आपूर्ति रोक्न राज्यभर यसको हट स्पटहरू पनि पहिचान गरिएको छ जहाँ विशेष अभियान चलाइनेछ । यसमा नेपालसँग जोडिएका आठ जिल्ला पश्चिम चम्पारण, पूर्वी चम्पारण, सीतामढी, मधुबनी, सुपौल, अररिया तथा किशनगञ्ज छन् । यो क्षेत्र नेपालको पर्सा देखि झापा सम्मको सिमावर्ती क्षेत्र हो । यस बाहेक पटना जिल्लाको फतुहा नदी थाना अन्तर्गतको जेठुली, भोजपुरको उदावंतनगर थाना अन्तर्गतको मसध गाउँ र वरपरका क्षेत्र तथा वैशालीको राघोपुर क्षेत्रलाई पनि हटस्पटका रुपमा लिइएको छ ।
यी लागूऔषध र लागूऔषध ओसारपसारका लागि कुख्यात क्षेत्र हुन्। लागुऔषध ओसारपसार नियन्त्रण गर्न मंगलबार ईओयूका एडीजी नय्यर हसनैन खानको अध्यक्षतामा विशेष बैठक बसेको थियो । उक्त बैठकको मुख्य एजेन्डा नेपाल सहित भारत कै बिभिन्न प्रदेशबाट आउने लागुऔषध ओसारपसार रोक्ने, हट स्पट चिन्हित गर्ने र सूचनाका आधारमा विभिन्न निकायको सहयोगमा संयुक्त छापा मार्ने थियो । यसका साथै लागुऔषधको कुलत उन्मूलनका लागि सचेतना अभियान सञ्चालन गर्ने निर्णय पनि भएको छ ।
एडीजी नय्यर हसनैन खानले भनेका छन – नेपालको सीमा क्षेत्र तथा अन्य हटस्पट क्षेत्रमा विशेष पहल आवश्यक छ, यसमा सबै निकायबीच आपसी समन्वय र समन्वय हुनुपर्छ । पुराना मुद्दाको समीक्षा गरी दोषीलाई कारबाही गर्न पनि निर्देशन दिइएको छ । अफिम नष्ट भइसकेपछि सम्बन्धित क्षेत्रमा पुनः अफिम खेती नहोस् भनेर प्रभावकारी कारबाही गर्न पनि आग्रह गरिएको छ ।
छ वर्षमा ६०७३ अभियुक्त पक्राउ बैठकमा बिहार प्रहरीको आर्थिक अपराध इकाई (EOU ) द्वारा हालसम्म गरिएका कार्यहरूको पावर प्वाइन्ट प्रस्तुतीकरण गरिएको थियो जस अनुसार २०१७ देखि २०२२ सम्म राज्यमा ६०७३ जना आरोपी पक्राउ परेका छन् ।
त्यसमध्ये गत वर्ष २०२२ मा सबैभन्दा बढी २०३१ जना अभियुक्त पक्राउ परेका थिए । सन् २०२२ मा बिहार प्रहरीले १६ हजार ६९१ केजी गाँजा, १७९ केजी चरस, ६.३५ केजी हेरोइन, ७.६१ केजी स्म्याक, ८५ केजी ब्राउन सुगर तथा ६७२८ केजी डोडा र अन्य लागूऔषध बरामद गरेको बताइएको छ भने २०२१-२२ मा ६२० एकड र २०२२ – २३ मा १२८९ एकडमा लागाइएको अफिम खेती नष्ट गरिएको छ ।

प्रतिक्रिया