शुक्रबार, वैशाख १४, २०८१

आजको चलचित्र नीरफूल

नेपालखोज २०८० जेठ २६ गते ८:०४

काठमाडाैं । आज मुलुकभर एकसाथ प्रदर्शन हुन लागेको चलचित्र ‘नीरफूल’ मौलिक स्वादमा बनेको अभिनेता दयाहाङ राईले दावी गरेका छन् ।

‘यो चलचित्र खिच्न हामी बहुत मुश्किलले गणेश हिमाल मुनिको रुवी भ्यालीमा पुगेका थियौँ’, उहाँले भन्नुभयो, ‘मेहनतले राम्रै काम पनि गरेको छ ।

मैले अभिनय गरेको राम्रा चलचित्रहरुमध्ये यो पनि एक हुनेछ । मौलिक विषयबस्तुलाई मौलिक रुपमा नै प्रस्तुत गर्न खोजिएको छ ।’ ‘नीरफूल’ मा पनि त्यस्तै फरक समुदायको सांस्कृतिक स्वाद पाइने दावी गराइको छ ।

‘चलचित्रमा म छोरी खोज्दै हिँडिरहेको हुन्छु’, उनले भने, ‘तर खोज्दै जाँदा त मेरो गाउँ नै पो हराइसकेको रहेछ ।’ ‘नीरफूलबारे यति भन्छु कि यसले हाम्रै समाजको कथालाई हाम्रै सुन्दर दृश्यमार्फत व्यक्त गरेको छ’ उनले भने, ‘यो चलचित्रमा हामीले भोगेको समयको कथा भेटिनेछ ।’

तीनवर्ष अघि कोरोना महामारीका कारण रिलिज रोकिएको यो चलचित्र फूलमान वलले निर्देशन गरेका हुन् । चलचित्रमार्फत आफूले परिवार र समाजको कथा भन्न खोजेको निर्देशक वलले दावी गरे ।

भूकम्पका कारण विछोडिएको एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको प्रयत्नमा आधारित निरफुलमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी आदिले अभिनय गरेका छन् ।

‘चलचित्रमा भूकम्प आउँछ, तर यो चलचित्र भूकम्पको कथा माथि होइन’, उनले भने, ‘हाम्रो समाज र जीवनमा आउने भूकम्प, करप्टेड सिस्टमले ल्याउने भूकम्प चाहिँ चलचित्रमा छ ।’

भत्किएका मन र सम्बन्धको पुनःनिर्माणको कथा समेटिएको चलचित्र कोरोनाको कारणले प्रदर्शन हुन समय लागेको र त्यही कारणले निर्माण लागत पनि बढेको बताए ।

सचिन घिमिरे एसोसिएट निर्देशक रहनुभएको यो चलचित्रमा प्रमोद कार्कीले छायाङ्कन, निमेष श्रेष्ठलले सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङले सङ्गीत दिएका छन् ।

प्रतिक्रिया