शुक्रबार, वैशाख १४, २०८१

मुलुकको वैदेशिक व्यापार कमजोर : एक खर्ब ३० अर्बको सामान निर्यात हुँदा १३ खर्ब ३५ अर्बको आयात

नेपालखोज २०८० जेठ २६ गते १८:१२

काठमाडौं । मुलुकको बैदेशिक व्यापार निकै नैं कमजोर देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी चालु आर्थिक बर्षको १० महिनाको प्रतिवेदन अनुसार आयातको तुलनामा निर्यात व्यापार निकै नैं कमजोर रहेको छ । जसले गर्दा पछिल्लो १० महिनामा १२ खर्ब रुपैयाँ भन्दा बढीको व्यापार घाटा भएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको १० महिनामा एक खर्ब ३० अर्ब ९० करोड रुपैंयाँ बराबरको सामान निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५९ दशमलव आठ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३३ दशमलव छ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः १०० दशमलव छ प्रतिशत र आठ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलैंचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।

चालु आवको १० महिनामा कुल वस्तु आयात १६ दशमलव आठ प्रतिशतले कमी आई १३ खर्ब ३५ अर्ब ३२ करोड कायम भएकाे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २८ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १५ दशमलव एक प्रतिशत, २१ प्रतिशत र १८ दशमलव छ प्रतिशतले कमी आएको राष्ट्र बैंकको भनाई छ ।

वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, सुन, पेट्रोलियम पदार्थ, कागज लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, एम.एस.विलेट, औषधी, अन्य मेशिनरी तथा पार्टस्, दूरसञ्चारका उपकरण तथा पार्ट्स लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्पm भैरहवा, सुक्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको राष्ट्र बैंकको भनाई छ ।

आयात र निर्यात बिचको यही असन्तुलनका कारण कारण चालु आवको पछिल्लो १० महिनामा कुल वस्तु व्यापार घाटा १५ दशमलव नौं प्रतिशतले कमी आई १२ खर्ब चार अर्ब ४२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २४ दशमलव नौं प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात नौं दशमलव आठ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १० दशमलव आठ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब १९ अर्ब ६० करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब ८३ अर्ब ९४ करोड बराबरको राष्ट्र बैंकको भनाई छ ।

प्रतिक्रिया