चालु खाता ५४ अर्ब रुपैयाँले घाटामा

नेपालखोज २०८० जेठ २६ गते १९:०२

काठमाडौं । चालु खाता घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी चालु आर्थिक बर्षको १० महिनाको प्रतिवेदन अनुसार चालु खाता ५४ अर्ब ६७ करोडले घाटामा देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता पाँच खर्ब ४५ अर्ब छ करोडले घाटामा रहेको राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा चार अर्ब ५५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४२ करोड ४५ लाखले घाटामा देखिएको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २० दशमलव पाँच प्रतिशतले कमी आई छ अर्ब ३६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी चार अर्ब ३६ करोड मात्र आएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर सात अर्ब ९९ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ६५ करोड रहेको थियो ।

राष्ट्र बैंकका अनुसार २०८० वैशाख महिनामा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट एक्स्टेन्डेड क्रेडिट फसिलिटी अन्तर्गत दोस्रो किस्ता वापतको छ अर्ब ८८ करोड (अमेरिकी डलर पाँच करोड २७ लाख) प्राप्त भएको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति दुई खर्ब १४ अर्ब ६७ करोडले बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ८८ अर्ब ५० करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ४१ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ६३ करोडले बचतमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया