बिहीबार, वैशाख १३, २०८१

तातो हावाको लहरमाथि ‘विपद् सम्वाद’

नेपालखोज २०८० जेठ २७ गते ५:२५

काठमाडाैं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् व्यवस्थापनलाई चुस्त, दुरुस्त पार्न र सचेतनामूलक कार्यक्रमअघि बढाउन तथा समसामयिक विपद्जन्य विषयमा छलफल गर्न ‘विपद् सम्वाद’को थालनी गरेको छ ।

तातोहावाको लहर (लु) का विषयमाथि छलफल गरेर उक्त सम्वाद सुरु गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए । उक्त सम्वाद कार्यक्रमलाई नियमित रुपमा अघि बढाउने उनले प्रतिबद्धता जनाए ।

सम्वादमा नेपालमा बढ्दो तापक्रम र त्यसले पार्ने असरका विषयमा विज्ञहरुबीच छलफल भएको थियो । छलफलमा यसको असर न्यूनीकरण्का लागि आवश्यक कार्ययोजनासहित अघि बढ्नुपर्ने आवश्यकता औँल्याइएको छ । सहभागीबाट आएको सुझावअनुसार आवश्यक कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरणले प्रतिबद्धता पनि जनाएको छ । नेपालमा यो पटक प्रिमनुसुनका समयमा तापक्रम वृद्धि हुँदा विभिन्न स्थामा तापक्रमले रेकर्डहरु ब्रेक गरेको पाइएको छ ।

जसका कारण तातो हावा चल्दा जनजीवन प्रभावित भएको छ भने खाद्यान्न बालीमा असर पर्न थालेको छ । कतिपय बाली लगाउन पाइएको छैन भने कतिपय बाली सुकेका छन् । यस्तो अवस्थामा मानव स्वास्थ्यमा असर पर्ने भएकाले सावधानी अपनाउनुपर्ने चिकित्सक डा. पवनकुमार शाहले बताए । बालबालिका वृद्धवृद्धि, कमजोर शरीर भएका तथा घाममा बढी काम गर्ने जदुरहरुमा यसले छिटो असर गर्ने भएकाले विशेष ख्याल गर्न र शीतलमा बस्न सुझाव दिए ।

यसपटक औषतभन्दा कम पानी पर्ने आँकलन गरिएको छ । सोहीअनुसार अहिले पानी नपर्दा गर्मी बढिरहेको हो । यसपटक ३० मेदेखि तापक्रम वृद्धि हुन थालेकोमा पछिल्लो तीन दिनदेखि भने ह्वात्तै बढेको मौसमविद् शान्ति कँडेल बताउँछिन् । सम्वादमा सहभागी डा. मेघनाथ धिमाल तातो हावाको लहरबाट मानिसलाई कसरी बचाउने र यसको विकल्प के हुनसक्छ भनेर खोजी गर्न जरुरी रहेको बताए ।

उनले एक्सन प्यानसहित अघि नबढ्ने हो भने यसले ठूलो क्षति गर्नेतर्फ बेलैमा सचेत हुनुपर्नेमा जोड दिए । मौसमविद् अर्चना श्रेष्ठ यसले स्वास्थ्यका साथै खेतीबाली, यातायात क्षेत्रमा प्रभाव पार्ने भएकाले मौसम विज्ञान विभागले विशेष बुलेटिन नै निकालेर सर्वसाधारणलाई जानकारी दिन थालेको बताए ।

प्रतिक्रिया