सोमबार, वैशाख २४, २०८१

एन्टिमाइक्रोबियल रेजिस्टेन्स विरुद्ध पत्रकारलाई सचेतना

नेपालखोज २०८० जेठ ३२ गते १४:२०

कर्णाली । कर्णाली प्रदेशका पत्रकारलाई ‘एन्टिमाइक्रोबियल रेजिस्टेन्स’ (प्रतिजैविक प्रतिरोध)विरुद्ध सचेतना प्रशिक्षण दिइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजना तथा अमेरिकी सहयोग नियोग, युएसएआईडीको सहयोगमा आज राजधानी वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न कार्यशाला गोष्ठीमा यहाँका पत्रकार तथा सञ्चारकर्मीलाई सचेतना प्रशिक्षण दिइएको हो ।

युएसएआईडीका मेडिसिन टेक्नोलोजिज एण्ड फार्मसेउटिकल सर्भिस कार्यक्रमका वरिष्ठ प्राविधिक सल्लाहकार डा. सन्तोष दुलालले एन्टिमाइक्रोबियल र यसको प्रतिरोधको पृष्ठभूमि, विश्वव्यापी फैलावट, राष्ट्रियस्तरमा देखापरेका चुनौती र भोग्नु परेका असरबारे प्रस्तुति राखे ।

‘एन्टिमाइक्रोबियल रेजिस्टेन्स विश्वमा मौन महाव्यायधिका रुपमा देखापरेको छ,’ उनले भने, ‘विश्वमा ५० प्रतिशत एन्टिबायोटिकमा अनावश्यक प्रयोग हुँदा त्यसले मानव जीवन, कृषि, प्राणी र वातावरणमा ठूलो असर परेको छ ।’

सबाट नेपाल जस्ता विकासोन्मुख देशले समस्या भोग्दै आएको बताउँदै डा. दुलालले यसको चुनौती र असरको सामनाका लागि विश्वव्यापीरुपमा रणनीति बनिसकेको र नेपालले पनि एन्टिमाइक्रोबियल रेजिस्टेन्ससँग जुँध्न राष्ट्रिय कार्ययोजना निर्माण गरेको जनाए ।

त्यस्तै, युएसए आइडीका डा. विवेका श्रेष्ठले एन्टिमाइक्रोबियल रेजिस्टेन्ससँगको लैङ्गिक असर र एक स्वास्थ्य नीतिको अवधारणाबारे आफ्नो प्रस्तुति राखे । संस्थाका अर्जुन अधिकारीले एन्टिमाइक्रोबियल रेजिस्टेन्सले पारेको प्रभावका विषयमा खोज पत्रकारितासम्बन्धीका विषयवस्तु प्रस्तुत गरेका थिए ।

एन्टिबायोटिकको प्रयोगले हुने असरबारे सातै प्रदेशका नागरिकलाई सुसूचित गराउन सञ्चारकर्मीको महत्वपूर्ण भूमिकालाई ध्यानमा राखेर सचेतना प्रशिक्षण सञ्चालन गरिएको उनको भनाइ थियो ।

कार्यक्रममा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव डा भोजराज शर्मा काफ्लेले सचेतना अभिवृद्धिमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए ।

स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा. रवीन खड्काले व्यक्ति, समाज र सिङ्गो मुलुकलाई प्रभाव पार्दै गएको एन्टिमाइक्रोबियल रेजिस्टेन्सबारे जनस्तरमा चेतना छर्न पत्रकारको अहम् भूमिका रहेको जनाए ।

युएसएआईडीका देशीय परियोजना निर्देशक डा. ब्रिना ट्रयापले एन्टिमाईक्रोबियल रेजिस्टेन्सले पारेको विश्वव्यापी असर र नेपाल जस्ता विकसित देशले भोग्नुपरेका समस्याका बारेमा जानकारी दिए ।

‘यसले मानवजीवन, कृषि, जनावर तथा वातावरणमा असर पारेको छ,’उनले भने, ‘यो विषयको उजागर गर्न र नागरिकलाई सचेत गराई नीति निर्मातालाई दबाब दिन पत्रकार सञ्चारकर्मीको महत्वपूर्ण भूमिका छ ।’

प्रतिक्रिया