शनिबार, वैशाख २२, २०८१

राजनेता कि जननेता ?

सुनिल सापकोटा २०८० असार १ गते ७:२०

दुःखको कुरा यो छ कि नेपालमा २०४६ पछि देशको राजनीति मा दुई-तीन जना बाहेक अरू कुनै पार्टीका कोही नेता पनि जननेता हुन् सकेनन् । प्रायः सबै ठुला राजनीति दलका नेताहरू सत्तामुखी भए। सिद्धान्तहीन भए । भ्रष्ट भए । यो स्थिति चोरहरुलाई बारम्बार भोट दिएर चौकीदार बनाए जस्तो भयो ।

जनताले यहाँ राजनेता र जननेताको भिन्नता नै बुझ्न नसकेको हुँदा आज हाम्रो मुलुक अधोगतिमा पुगेको अवस्था छ । कस्तो हुन्छ, राजनेता ? कस्तो हुन्छ त जननेता ?

१) राजनेताले गुट वा दलको निर्माण गर्छ । त्यसै दलमा बाँधिन्छ अनि दलको र आफ्नो व्यक्तिगत लाभ मात्र हेर्छ भने जबकि प्रायजसो जननेता कुनै दल विशेषको हुँदैन। उसको दृष्टिकोण जनहितमा समर्पित र सार्वजनिक हुन्छ।

२) राजनेताहरू आफ्नो विचारहरू जनता समक्ष राख्न वा सन्देश पुर्‍याउन ठुला मिडियाहरू लाई प्रयोग गर्छन् । जुलुस, र्‍यालीहरू गर्छन् । भिड एकत्रित गरेर सडकमा शक्तिको प्रदर्शन गर्छन् । जबकि जननेताले त्यसो नगरी उनीहरू गाउँघरमा गएर जनता सँग प्रत्यक्ष संवाद गर्छन्। जनताको पिर मार्का बुझ्दछन्। जनताको हकहितमा काम गर्छन् ।

३) राजनेताहरूले मानिसलाई आफ्नो दलको स्वार्थमा उपयोग गर्छन् । जबकि जननेताहरू मानव र मानवता प्रति समर्पित रहन्छन् ।

४) राजनेताहरू सत्ताको आकाङ्क्षाबाट प्रेरित हुन्छ भने जननेताहरू जनताको दुःखहरू लाई कसरी निवारण गर्ने विषयमा चिन्तित हुन्छन्

५) राजनेताहरूका लागि सत्ताको मूल्य सर्वोपरि हुन्छ । सत्ता प्राप्तिका लागि उनीहरू छल-कपट, झुट, पाखण्ड, हत्या, हिंसा आदिको सहारा लिन सङ्कोच मान्दैनन् भने जबकि जननेताहरू सामाजिक-राजनैतिक जीवन मूल्यहरू प्रति समर्पित हुन्छन्।

६) हाम्रो देशमा विभिन्न राजनैतिक दलहरूबाट( जिल्ला, प्रदेश र केन्द्र) को विभिन्न पदहरूका उम्मेदवारहरू भई जो गुन्डा, पैसा र प्रशासनको बलमा भोट जितेर माथि गए तिनीहरू तथा जो जातीय , लैङ्गिक र समावेशी आधारमा जो विभिन्न पदहरूमा आसीन भए ती सबै राजनेताहरू थिए र अहिलेका पनि त्यस्ता राजनेताहरू नै हुन् । ती जननेता होइनन् । जबकि आफ्नै सुकर्म, जनसेवा र बौद्धिक बिचार बाट निस्वार्थ भावले राजनीतिमा लागेर निर्वाचनमा जनताको मन जितेर गएका व्यक्तिहरू चाहिँ भविष्यमा जननेता हुने सम्भावना बोकेका नेता हुन सक्छन् भन्दा फरक नपर्ला।

७) राजनेताहरू सधैँ बाहुबली, धनबली, बिचौलियाले घेरिएका हुन्छन् भने जननेताहरू प्रायः एक्लो नै देखिन्छन् ।

८) राजनेताहरूले चुनाव जित्नको लागि जे पनि कुकर्महरू गर्न तयार हुन्छन् भने जननेताहरू बरु हार्न तयार हुन्छन् तर उनीहरू चुनाव जित्नका लागि कुकर्म गर्न तयार हुँदैन ।

९) राजनेताहरूले जननेताहरू लाई फुटेको आँखाले पनि देख्न सक्तैनन्। जननेताको चरित्र हत्या गर्न र उसको व्यक्तित्वलाई खसाल्न राजनेताहरू जहिले पनि उद्धत रहन्छन् भने जननेताले कहिले पनि राजनेता सँग प्रतिशोधको राजनीति गर्दैन ।

प्रतिक्रिया