सोमबार, वैशाख १७, २०८१

विश्वकप क्रिकेट छनोट: टेस्ट राष्ट्र जिम्बाब्वेको सामना गर्दै नेपाल

नेपालखोज २०८० असार ३ गते १२:०७

काठमाडौं । आईसीसी पुरुष विश्वकप २०२३ को अन्तिम छनोट खेल्नका लागि तयार १० राष्ट्रका कप्तानहरू छनोट अगाडि जिम्बाब्वेको स्थानीय जङ्गल सफारीमा हात्ती, जिराफ, सिंह जस्ता जनावरहरूसँग रमाइरहेका थिए।

आईसीसीले वितरण गरेको तस्बिरमा उनीहरूले जिम्बाब्वेको राजधानी हरारेस्थित वाइल्ड लाइफ केन्द्रमा सामूहिक तस्बिर लिएको देखिन्छ।

रमाइलोबीच नेपाली कप्तान रोहित पौडेलको ध्यान भने पक्कै पनि प्रतियोगिताको उद्घाटन खेलमा नै केन्द्रित भएको हुनुपर्छ किनकी त्यहाँ नेपालले आयोजक राष्ट्र जिम्बाब्वेको सामना गर्दैछ।

जिम्बाब्वे टेष्ट राष्ट्र त हो नै, प्रतियोगिता उसकै घरेलु मैदानमा हुँदैछ।

उद्घाटन खेलमा स्थानीय दर्शकबाट हरारे स्पोर्ट्स क्लबको घरेलु मैदान भरिभराउ हुने आशा गरिएको छ।

आज नै समूह ‘बी’मा दुई पटक विश्व च्याम्पियन बनेको वेष्ट इन्डिजले अमेरिकासँग खेल्दैछ।

विश्व क्रिकेटको ध्यान अब कम्तीमा तीन साता लामो यो छनोट प्रतियोगितामा केन्द्रित हुनेछ।

असार ३ देखि साउन २४ गतेसम्म चल्ने २१ दिन लामो छनोटका हरेक खेलहरू निकै नै महत्वपूर्ण छन्। त्यसको कारण हो- सोही प्रतिस्पर्धाबाट दुईवटा राष्ट्रहरू यसै वर्षको अन्त्यमा भारतमा हुने विश्वकपका लागि छानिने छन्।

कडा प्रतिद्वन्द्वी

नेपालको लागि यो प्रतियोगिता धेरै अर्थपूर्ण छ। एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता पाएपछि नेपालले अन्तर्राष्ट्रिय क्रिकेट मञ्चमा खेल्न लागेको यो सबैभन्दा ठूलो प्रतियोगिता हो।

जहाँ नेपालले पहिलो पटक टेष्ट राष्ट्रहरूविरुद्ध खेल्दैछ। समूह चरणका अन्य प्रतिद्धन्दीहरूमा वेष्ट इन्डिज, नेदरल्यान्डस् र अमेरिका छन्।

नेपाली कप्तान रोहित पौडेलले नेपालले यो उपलब्धिलाई साहसिक यात्राका रूपमा वर्णन गरेका छन्।

उनले आईसीसीसँग भनेका छन्, ‘विगत केही वर्षमा हामीले यो प्रतियोगिताका लागि वास्तवमै कडा मेहनत गरेका छौँ र यो अवसर पाएका हौँ। यो अवसरको सम्मान गर्दै हामी यसलाई सक्दो सदुपयोग गर्नेछौँ।’

हुन पनि नेपालको विश्वकप ग्लोबल छनोट यात्रा क्रिकेट जगतमा अपत्यारिलो कथा जसरी चर्चित बनेको छ।

विश्वकप छनोटमा सीधै प्रवेश गर्ने भन्दै ढुक्कसँग विश्वकप लिग-२ को तेस्रो स्थानमा बसिरहेको नामिबियालाई चौथो स्थानमा धकेल्दै नेपाल विश्वकप छनोटमा पुगेको थियो।

आखिरमा नामिबियाले ‘प्ले अफ’ चरण पार गर्न सकेन र छनोटमा परेन।

नेपाल भने विश्वकप लिग-२ को आधा भागको यात्रा पूरा गर्दासम्म ओडिआई हैसियत नै जोगाउन नसक्ने अवस्थामा थियो।

तर अन्तिम १२ मा नेपालले ११ खेल जित्दै ओडिआई हैसियत मात्र जोगाएन, ग्लोबल क्वालिफायरमा सीधै प्रवेश गर्‍यो।

आईसीसीसँग नेपाली विकेट किपर आसिफ शेखले भनेका छन्, ‘साँच्चै भन्ने हो भने ११ खेल जितिन्छ भनेर हामीले सोचेको पनि थिएनौँ। त्यसैले पनि हामी यो छनोटका लागि उत्साहित छौँ।’

उनले थपे, ‘त्यसमा हामीले अधिकांश खेल साँघुरो तरिकाले जितेका थियौँ। त्यसले हामीलाई थप आत्मविश्वास जगाएको छ।’

जिम्बाब्बेमा खेलेको ‘वार्म अप’ म्याचमा पनि नेपाली खेलाडीले आत्मविश्वासी प्रदर्शन गरेका छन्। विशेषगरी ब्याटिङमा राम्रो सुधार भएको देखिएको छ।

ओमानविरुद्ध कुशल भुर्तेलको शतक र यूएईसँग ‘टप अर्डर’ ब्याटरहरूले राम्रो रन जोडेका थिए।

दक्षिण अफ्रिकामा नेदरल्यान्डस् र स्कटल्यान्डसँगको ब्याटिङमा भने नेपाल कमजोर देखिएको थियो।

नेपालविरुद्ध जिम्बाब्वे

जिम्बाब्वे नेपालको लागि कडा प्रतिद्धन्दी हो। ऊ घरेलु मैदानमा खेलिरहेको छ र पक्कै पनि नेपाललाई हराएर सुपर सिक्सको यात्रालाई सहज बनाउन खोज्नेछ।

सन् १९७९ देखि लगातार विश्वकप खेल्दै आएको जिम्बाब्वे गत विश्वकपमा भने छनोट हुन असफल भएको थियो। त्यसको चोट बोकिरहेको टोलीले यसपालि कुनै गल्ति गर्न चाहदैँन।

नेपाली टोलीको वास्तविक हैसियतको छनक यसै खेलबाट पाइनेछ।

नेपाली टोली पनि अहिले इतिहासकै उच्च ‘फर्म’मा रहेको मान्न सकिन्छ।

विश्वकप छनोटसम्म पुग्नका लागि टोलीका प्रत्येक सदस्यले ‘साहसिक प्रदर्शन’ गरेका थिए।

यद्यपि पछिल्लो १७ खेलमध्ये अधिकांश खेल नेपालले घरेलु मैदानमा जितेको हो। सो क्रममा नेपालले चार खेल मात्र बाहिर खेल्यो। र, नतिजाले भन्छ- बाहिरको भूमिमा नेपालले घरेलु मैदानमा देखाएको जस्तो प्रदर्शन गर्न सकेको छैन।

कतिपयको भनाइ छ- ‘नेपाली दर्शकको साथमा नेपालले बेग्लै जोशका साथ खेल्छ र जित्छ।’ तर जिम्बाब्वे मा दर्शकको त्यस्तो साथ हुनेछैन।

यद्यपि आशिफ शेखको जवाफ फरक छ। उनले आईसीसीलाई भनेका छन्, ‘हो, हामी यहाँ नेपाली दर्शकलाई ‘मिस’ गर्नेछौँ। तर हामीलाई के थाहा छ भने नेपालबाटै उनीहरूले हामीलाई साथ दिइरहेका हुनेछन्। जहाँ खेले पनि हाम्रा दर्शक हामीसँगै हुनेछन्।’

कडा प्रतिस्पर्धा

ओडिआई मान्यता प्राप्त भएपछिको नेपाल र जिम्बाब्वे को यो पहिलो भेट हो।

यसअघि सन् २०१८ मा खेलिएको आईसीसी विश्वकप छनोटमा नेपाल ११६ रनले पराजित भएको थियो।

उक्त खेलमा जिम्बाब्वेले नेपाली बलरलाई कमजोर साबित गर्दै ३८० रन जोडेको थियो।

लिस्ट ‘ए’ को मान्यता पाएको खेलमा नेपालविरुद्ध सिकन्दर राजा र ब्रेन्डन टेलरले शतक प्रहार गरेका थिए।

त्यो खेलमा नेपालका लागि शरद भेषावकरले अर्धशतक बनाएका थिए।

उक्त खेल खेलेका ज्ञानेन्द्र मल्ल, कप्तान पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी र ललितनारायण राजवंशी नेपाली टोलीमा अहिले पनि छन्।

जिम्बाब्वेको टोलीमा अहिले टेलर त छैनन् तर हालै नेदरल्यान्डस्‌विरुद्ध ह्याट्रिक विकेट लिएका वेस्ली माडभेरे उच्च ‘फर्म’मा छन्।

नेपाली टोलीमा विश्वकप लिग-२ खेल्ने खेलाडीले निरन्तरता पाएका छन्।

यस्तै टी ट्वान्टी क्रिकेटमा दुई पटक आमनेसामने हुँदा दुवै पटक नेपाल पराजित भएको छ।

यद्यपि पछिल्लो समय जिम्बाब्वेको प्रदर्शन राम्रो भइरहेको छैन भने त्यसको विपरीत नेपालको खेल राम्रो बनिरहेको छ।

यस्तोमा नेपाल र जिम्बाब्वे बीचको आजको खेल उदाउँदा राष्ट्रविरुद्ध सङ्घर्षरत अनुभवी टोलीविरुद्ध हुनेछ।

नेपालको प्रतिस्पर्धा

असार ३ ( जुन १८) – जिम्बावेविरुद्ध हरारे स्पोर्ट्स क्लबमा

असार ५ (जुन २०)- अमेरिकाविरुद्ध ताकाशिङ्गा स्पोर्ट्स क्लबमा

असार ७ (जुन २२)- वेस्टइन्डिजविरुद्ध हरारे स्पोर्ट्स क्लबमा

असार ९ (जुन २४)- नेदरल्यान्ड्सविरुद्ध, ताकाशिङ्गा स्पोर्ट्स क्लबमा

खेल सुरु हुने नेपाली समय: दिउँसो १२:४५ बजे

कसरी हुन्छ छनोट ?

दश राष्ट्रलाई दुई भागमा बाँडिएको छ। प्रत्येक समुहबाट ३/३ टोली सुपर सिक्समा प्रवेश गर्नेछन्।

त्यसका लागि नेपालले तीन खेल जितेमात्र समूहमा उत्कृष्ट तीनमा पर्नसक्ने सम्भावना हुन्छ।

त्यसका लागि टोलीले उच्चस्तरको क्रिकेट खेल्नु आवश्यक रहेको कप्तान पौडेलले दोहोर्‍याउँदै आएका छन्।

यदि सुपर सिक्समा पुग्न सकेन भने नेपाल सहितको सुपर सिक्समा पुग्न नसकेका चार राष्ट्रबीच ‘प्ले अफ’ हुनेछ। ‘प्ले अफ’ सातौँ देखि दशौँ राष्ट्रको वरीयता छुट्याउनलाई हो। –BBC

प्रतिक्रिया